Logo
Logo

प्रचण्डले लचकता नअपनाएको भए यो एकता सम्भव थिएन


केपी शर्मा ओली


केपी शर्मा ओली
आज एउटा विशेष खुसीको दिन हो । नेपालको कम्युनिष्ट अन्दोलनले आज आफ्ना संगठित अभियानका गौरवपूर्ण ७० वर्ष सफलतापूर्वक पार गरेको छ । वामपन्थीहरूका लागि मात्र होइन, सिंगै देशका लागि यो खुसीको क्षण हो । यही पार्टी हो, जसले राष्ट्रियताको रक्षा गरेको र राष्ट्रियताको आन्दोलनलाई उचाइमा पु¥याएको छ । यही पार्टी हो, जसले लोकतन्त्रका निम्ति बलिदानपूर्ण संघर्ष गरेको छ । लोकतन्त्रलाई वास्तविक लोकतन्त्रका रूपमा अगाडि बढाएको छ । निरकुंश, सामन्ती व्यवस्था फालेको छ ।

यो पार्टीले सामाजिक न्याय र समानताको प्रश्न सुरुदेखि उठायो, त्यसका निम्ति संघर्ष ग¥यो । यो त्यही पार्टी हो, जसले राजनीतिक अधिकारका निम्ति संघर्ष ग¥यो । सामाजिक सांस्कृतिक कुरा पनि उठायो । हामी आज यस ठाउँमा आइपुगेका छौँ । देशको आकांक्षा, सुदृढ राष्ट्र, वास्तविक लोकतन्त्र, सामाजिक न्यायसहितको विकास र समृद्धि र राष्ट्रिय गौरवको उत्थान, हाम्रा संस्कृतिहरूको संरक्षण र उत्थानको लागि यो पार्टीले महत्वपूर्ण योगदान गरेको छ ।
लामो समयदेखिको नेपाली जनताको आकांक्षा, स्थिरता र बहुमतको सरकार स्पष्ट दृष्टिकोणसहित देश कता जाने भन्ने खाका यस पार्टीले दिएको छ । त्यसकारण यस पार्टीको ७० औँ वार्षिकोत्सव ती गौरवहरूको एउटा प्रतिबिम्ब हो । यो सिंगै देशको खुसीको क्षण हो ।


यतिकै यो आन्दोलन यहाँ पुगेको भने होइन । यस पार्टीले आफ्नो स्थापनाकालसँगै थुप्रै कुरा अगाडि बढायो । यसले तत्कालै राणाशाहीविरोधी आन्दोलनमा सक्रिय सहभागिता जनायो । त्यसको अन्त्य ठीक ढंगले हुन सकेन, राष्ट्रको आकांक्षाअनुसार नभएपछि भीमदत्त पन्त काटिए । थुप्रै नेतालाई तल आगो बालेर माथि झुन्ड्याएर सेकाइयो । राष्ट्रियताको सवालमा यस आन्दोलनले थुप्रै बलिदान ग¥यो । पञ्चायत, बहुदलकाल हुँदै लोकतन्त्रको सवालमा त्यसैगरी संघर्ष ग¥यो । अनेक जालझेल, षड्यन्त्र सबैसँग जुध्दै, तिनलाई पराजित गर्दै आयो । र, आज यो सफलतामा पुगेको छ ।


हामी नै गीत गाउने गथ्र्यौ, ‘हामी जित्नेछौँ एक दिन’ भनेर । एउटा समय थियो । जित हाम्रो सपना थियो । भूमिगत हुनुपथ्र्यो, मारिनुपथ्र्यो वा जेल बस्नुपथ्यो । त्यस्तोबेला हाम्रा आकांक्षा हुन्थ्यो जित । त्यो आजकै दिन हो । हामीले जुन सपना देखेका थियौँ जितको, आज हामीले त्यो हासिल गरेका छौँ । म यो जितसम्म आइपुग्न आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरू प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।
धेरैको आर्थिक अवस्था, परिवार, शारीरिक अंग छिन्नभिन्न भएको छ । अझै कसैको शरीरमा गोली होलान्, छर्रा होलान् । ठूलो अस्तव्यस्तता र बर्बादी सहनुपरेको छ, यो दिन ल्याउनका लागि । यो दिन प्राप्त गर्न हामीले धेरै चर्को मूल्य चुकाएका छौँ । यस्तो चर्को मूल्य चुकाएर जनता विजयी हुनेसम्म ल्याउनुपर्ने तमाम योद्धाहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।


जबजले जोगायो कम्युनिष्ट आन्दोलन
अघिल्लो समयमा पुष्पलालबाहेकका विचार देखिएनन्, स्वार्थका टकराव देखिए । थुप्रै नेता पुष्पलालको विचारमा सहमत थिए । तर, तिनलाई अल्पमतमा पारियो । विचारको होइन, स्वार्थको राजनीति भयो । स्वार्थको राजनीतिले आन्दोलनलाई धेरै विभाजन र टुटफुटको स्थितिमा पु¥यायो । त्यस्ता कुराबाट जोगाउँदै जोगाउँदै हामी फेरि अगाडि बढ्यौँ । पार्टी अगाढि बढ्यो ।
यसैबीचमा जननेता मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनको, समग्र आन्दोलनको, समग्र विश्व शक्तिसंघर्षको समीक्षा गरेर, कुन बाटोबाट हिँड्दा दुनियाँ रक्षात्मक भए पनि कम्युनिष्ट आन्दोलनलाई सुरक्षित रूपमा अगाडि लैजान सकिन्छ भनेर बाटो तय गर्नुभयो । त्यो बाटो सही थियो । त्यसले हामीलाई रक्षात्मक बनाएन, बरु अगाडि बढ्न सही बाटो दियो । र, आज हामी यो अवस्थामा आइपुग्यौँ । टुटफुटका अनेक शृंखला थिए । तिनलाई एकजुट गर्दै गयौँ । नेपालको कम्युनिष्ट आन्दोलनमा दोस्रो दशकको अन्त्यबाट मूलरूपमा दुई धार देखिए । एउटा पछिल्लो समयमा हामीले भन्ने गरेको नेकपा एमाले र अर्को नेकपा माओवादी । हामी कम्युनिष्ट आन्दोलनको जितलाई केन्द्रमा राखेर एकीकृत हुँदै गयो र अन्ततः दुईवटा पार्टी एकठाउँमा आइपुग्यो ।


नेपालको कम्युनिष्ट आन्दोलनलाई सही विचारको विन्दुमा पु¥याउन संगठनात्मक एकताका साथ अगाडि जान जनताको जनवादले ठूलो मद्दत गरेको छ । यसभित्र खास अर्थ छ, जनवाद भनेको राजनीतिक स्वाधीनता र स्वतन्त्रतासँग मात्र सीमित छैन । यो प्रजातन्त्र भनेको जनताको लोकतन्त्र हो । यो राजनीतिक अधिकारसँग मात्रै सीमित छैन । यसबाहेक यसको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र पनि यसको क्षेत्रभित्र पर्दछ । यसले सम्पूर्ण जनवादलाई बुझाउँछ । यसले जननेता मदन भण्डारीले अगाडि सार्नुभएको राजनीतिक रूपमा पूर्ण लोकतन्त्र र त्यससँगै आर्थिक, सांस्कृतिक अधिकार पनि भएको सामाजिक न्यायसहितको लोकतन्त्रको बाटोमा अगाडि बढाएको छ ।


पार्टीमा स्पष्ट विचार र नेतृत्व छ
अत्यन्तै गहन सुझबुझ र गहन प्रतिबद्धताका साथ आन्दोलनलाई अगाडि मिलाएर यहाँसम्म ल्याउन तालमा ताल र साथमा सात मिलाएकोमा म यस अवसरमा पार्टीका तमाम नेता साथीहरु र कार्यकर्ता साथीहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । आज हामीले देखेका छौँ, लामो समय हामीले संघर्षको मैदानमा, बलिदानपूर्ण संघर्षको मैदानमा बिताउनुप¥यो । पहिलो दशक प्रारम्भिक दशक रह्यो । तर, स्थापनाकालदेखि नै आधारभूत रूपमा राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, महिला र पछाडि परेका अन्य समुदायको सवालमा र आर्थिक उन्नतिका सवालमा आधारभूत रूपमा सही दृष्टिकोण सा¥यो । तिनलाई परिमार्जन गर्दै अगाडि बढाउनुपथ्र्यो । तर, पार्टीभित्र त्यस प्रकारको स्थिति भएन । स्वार्थका किचलोले पार्टी अगाडि जान सकेन । विभाजन, टुटफुट पार्टीका मुख्य प्रवृत्ति जस्तो बन्यो ।

सुरुदेखि कांग्रेसले गलत बाटो रोज्यो
एकातिर पार्टीले राष्ट्रियताको स्पष्ट दृष्टिकोण राखेकाले २००८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बित्तिकै सहयात्री कम्युनिष्ट पार्टीमाथि खनियो । प्रतिबन्ध लगाउने गलत बाटो लियो । कांग्रेसले त्यो बाटो अहिले पनि सच्याउन सकेको छैन । लगातार कांग्रेस देशभक्त, प्रगतिशील, वामपन्थी, सामाजिक न्यायको शक्तिसँग मिलेर जानुपथ्र्यो । तर, कांग्रेस एकाधपटक हामीले दबाब दिए सम्झाएर, बाध्य पार्दा मात्र सहकार्यमा आउने नत्र प्रगतिशील शक्तिविरुद्ध प्रतिक्रियावादी शक्तिसँग सहकार्य गर्ने अवस्थामा कांग्रेस अझै रहेको छ ।
कांग्रेसले इतिहासको अनुभवबाट सिक्नुपर्छ । प्रगतिशील, देशभक्त र जनवादी शक्तिसँग एकता गर्नुपर्छ । कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्छ । आज अचम्म लाग्छ, कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा बिचित्र लाग्छ । सैद्धान्तिक रूपमा कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्दैन, निवेदन हाल्दैन । जन्मसिद्ध श्रेष्ठता जीवहरूको बीचमा हुनुसक्छ । मानवजानी सबैभन्दा श्रेष्ठ छँदैछ । मान्छे मान्छेका बीचमा जन्मिँदै कोही शासक कोही रैती जन्मिने हुँदैन ।

कठिन बलिदानपछि यो उपलब्धि
अहिले हामी एउटा ऐतिहासिक परिवर्तनभन्दा पछि, ऐतिहासिक सफलताभन्दा पछि अत्यन्तै कठिन र बलिदानपूर्ण संघर्षहरूको लामो संघर्षपछि आजको उपलब्धिहरूका चाङमा उभिएका छौँ । हाम्रा अगाडि आज पनि चुनौति छन् । हाम्रो भविष्य अत्यन्त उज्वल छ । त्यसतर्फ हामी अग्रसर छौँ । हामीले विगतमा लामो संघर्ष ग¥यौँ । राष्ट्रियता, लोकतन्त्र, तानाशाही सबैसँग लड्यौँ । अनेक प्रकारका वैचारिक अन्यौलका विरुद्ध लड्यौँ । कम्युनिष्ट आन्दोलनभित्र पनि अनेक विचार प्रविृत्तिविरुद्ध लड्यौँ र र सही विचार हामीले स्थापना गरेका छौँ । आज खाली संगठनात्मक सफलताको प्रश्न मात्र होइन, विचारको महान् सफलता हासिल गरेका छोँ । राष्ट्रियताको सवालमा हाम्रा दृष्टिकोण, विचार, नीति विल्कुल सही छन् । देशको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता जस्ता कुरामा कुनै पनि सम्झौता हुन सक्दैन । हामी हाम्रो सार्वभौमसत्ताको रक्षा गर्छौँ । स्वाधीनताको रक्षा गर्छौँ । हाम्रा आन्तरिक मामला र अन्तर्राष्ट्रिय मामला स्पष्ट राख्न सक्छौँ । हामी हाम्रो निर्णय गर्न स्वाधीन छौँ, स्वतन्त्र छौँ ।


आज विभिन्न प्रवित्ति या सिद्धिएका छन्, या कमजोर भएका छन् । यो देशका निम्ती खुसीको कुरा हो । लोकतन्त्रभन्दा, विचार, वर्गीय राजनीतिभन्दा फरक ढंगले अनेक प्रकारका विध्वंश, द्वन्द्व मच्चाउने, राष्ट्रिय एकतालाई कमजोर पार्ने शक्तिलाई हामीले पराजित गरेका छौँ । पछिल्लोपटक पृथकतावादी सोच राख्ने समूहलाई पनि संविधानभित्र रहेर मूलधारको राजनीति गर्छु भन्ने कबुलमा ल्याएका छौँ । पृथकतावादी विचार नै समाप्त भएको छ । यो राष्ट्रका लागि खुसीको कुरा हो । केही छटपटाएका छन्, त्यसबाट । अब कुन खेल खेल्ने भन्ने, खेल खेल्दा खेल्दै तासको पत्ति नै हराएजस्तो छट्पटाएका छन् । म भन्न चाहन्छु । राष्ट्रमा एउटा राजनीतिक प्रवत्ति, वर्गीय समस्याको समाधानमा ध्यान दिने प्रवित्ति विकास भएका छन् । यी सबै चिजको नेतृत्व हाम्रो पार्टीले गरिरहेको छ ।


म सबैमा आग्रह गर्न चाहन्छु । साना मसिना कुरामा नअल्झिऔँ । अहिले हाम्रो पार्टीको सरकार छ । बहुमतको सरकार छ । अरु पार्टी पनि मिलाएर दुईतिहाइ बनाएका छौँ । हाम्रो आफ्नै एकल सुदृढ बहुमतको सरकार छ । यस्तो बेलामा, जतिबेला प्रगतिशील आन्दोलन जनवादी आन्दोलन रक्षात्मक अवस्थामा छ हामी एक्लै दुईतिहाइको आसपासमा छ । यो एक वर्षमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको कानुन निर्माण गर्ने, संरचना निर्माण गर्ने र विकासका काम अगाडि बढाउने काम गरेका छौँ । मैले भन्ने गरेको छु, नेपाल हरेक दिन एक दिन अगाडि बढेको छ ।


सरकार हरेक दिन नौलो काम गर्दैछ
भेरी बबइको ब्रेक थ्रु भएको छ, हरेक नेपालीको बैंक खाता अभियान सुरु भएको छ । जेष्ठ नागरिकको स्वास्थ्य बीमा थालिएको छ । विद्यार्थीको भर्ना अभियान सञ्चालन भइरहेको छ । यस वर्ष सम्भवतः भर्ना अभियान टुंग्याउँछौँ । कृषि क्षेत्रलाई आधुनिकिकरण गर्ने, लगानी सम्मेलन पूरा गर्ने काम भएको छ । हामीले अपेक्षा गरेभन्दा बढी लगानी देशभित्र आइरहेको छ । देश उत्साहजनक ढंगले अगाडि बढिरहेको छ । तर, एकथरि अझै पनि सरकारले केही गरेन भनिरहेका छन् । गान्धारीले आँखा हुँदा हुँदै आँखामा पट्टी बाँधेकी थिइन् । आँखा हुँदा हुँदै चेतना वा आग्रहको पट्टी बाँधेपछि केही भएको देखिँदैन । तर, तथ्यले भन्छ, यस वर्ष मात्रै ४०० झोलुंगे पुल बनेको छ । ८ सय किलोमिटर बाटो कालोपत्रे बनेको छ । ४ वटा तुइन विस्थापित भएको छ । अरु धेरै कुरा केही दिनपछि नीति कार्यक्रममा आउनेछ ।
विगतमा अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो । त्यसलाई अहिले ठीक ठाउँमा ल्याइएको छ । यस वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर पु¥याउने लक्ष्य राखेका छौँ । नेपाल विश्वका तीव्रतर आर्थिक विकास भएको देशमा दरिएको छ । यी काम सम्भव भएको कम्युष्निट पार्टीकै सरकारको कारण भएको हो । ठेकेदार भाग्यो, मेलम्ची आउन ढिला भयो । तर, हामी मेलम्ची ल्याउँछौँ । हामीले नयाँ–नयाँ योजना ल्याइरहेका छौँ । जो अगाडि सुनिएका थिएनन् । केही दिनपछि अझै देख्नुहुनेछ, हामी के के चमत्कार गर्दैछौँ ।
यसबीच, पार्टी एकताबद्ध हुँदैन कि भन्ने शंका पनि व्यक्त भए । कुनै ज्योतिषिले फुटछ भनेको पनि सुनियो । तर, ती ज्योतिषीले एमाले र माओवादी केन्द्र मिल्छन् भन्ने किन थाहा पाएन ? हामी भवितव्यले एकता भएको होइन, यस ठाउँमा आइपुगेका होइनौँ । आज जुन शक्ति बनेको छ यत्तिकै बनेको होइन । कम्युनिष्ट पार्टीको ७० वर्ष वर्षको अन्त्यमा पल्टिने पात्रो होइन, अभिभारा हो । यसका काँधमा सुशासन कायम गर्ने जिम्मेवारी छ । यसले राम्ररी बुझेको छ ।

वृद्धभत्ता बढेपछि कुन बाँसरी बजाउने होला ?
एक वर्ष खुब बाँसुरी बज्यो, वृद्धभत्ता बढेन भनेर । अबको बजेट आएपछि त्यो बाँसुरी पनि बज्न छोड्छ । त्यसपछि तिनले के भन्ने होलान् ? यो सरकारले भ्रष्टाचार अन्त्य गरेर छाड्छ । कानमा दुई लालको फुली लगाउन, चार आनाको औँठी लगाउन पाएको हुँदैन मान्छेले । ३८ क्वीन्टल सुन आइसकेको रहेछ । यो सरकारले तस्करीको त्यो प्वाल झ्याप्पै बन्द गरिदियो । अनि भन्न थाले खै सुन ? पहिलेकाले थाहा पाउनुपर्ने हो नि खै सुन भनेर ? खोज अनुसन्धान भइरहेको छ, आत्तिएका छन् कारोबारी । कारोबारीका पृष्ठभूमिमा बसेकाहरू पनि आत्तिएका छन् । जमिनमुनी जिल्ला जिल्लामा लगेर मझेरीमा गाडेको सुन पनि निकालिएको छ ।

सरकारको उद्देश्य शान्ति र सुशासन
यो सरकारको उद्धेश्य अरु केही छैन । शान्ति सुव्यवस्था कायम गर्ने हो । जनतालाई सुविधा सहुलियत सकेसम्म पु¥याउने हो । यसले लोकतन्त्रको सही अभ्यास गर्ने हो । विकास निर्माणका कामलाई अगाडि बढाउने हो । त्यसका लागि संघीय सरकारले मात्रै बल गरेर हुँदैन । प्रदेश सरकारहरूलाई पनि सवल बनाउन, सक्रिय बनाउन प्रेरणा, सहयोग र निर्देशन गरिरहेको छ । हामीले ६ वटा प्रदेशमा हामीले राम्रो बहुमत ल्याएका छौँ । स्थानीय तह विकासका आधारभूत तह हुन्, तिनलाई पनि सक्षम, सबल र सक्रिय बनाउने काममा संघीय सरकारले ध्यान दिइरहेको छ । हामी हाम्रा सम्पूर्ण जनप्रतिनिधिमूकल संस्था, प्रशासनिक निकाय, साधनस्रोत विकासका लागि प्रयोग गरिरहेका छौँ ।


हामी सबै प्रयास गरिरहेका छौँ । तर, पनि ढिलो हुन सक्छ । त्यसकारण हामी वैदेशिक पुँजी र प्रविधि राष्ट्रिय हित अनुकुल हुने गरी आमन्त्रण गरिरहेका छौँ । ल्याइरहेका छौँ । देशभित्र सार्वजनिक क्षेत्र, निजी र सहकारीलाई मिलाएर चलाउने हाम्रो नीति रहेको छ । निजीकरणका नाममा हामीले उद्योगी–व्यवसायीलाई भ्रष्टिकरण गर्नै होइन, निजी क्षेत्रलाई पनि उठाउने काम गरिरहेका छौँ । हामी देशलाई आधुनिक देश र समृद्ध देश बनाउन चाहन्छौँ । एउटा सभ्य, सामाजिक न्यायसहितको सम्पन्न समृद्ध देश बनाउन चाहन्छौँ । त्यसका निम्ती हामी हाम्रा शिक्षाका क्षेत्रहरू, हाम्रो स्वास्थ्यको क्षेत्र, प्रविधिको क्षेत्रमा पनि ध्यान दिइरहेका छौँ । यी सबै क्षेत्रबाट देशलाई उठाउन जरुरी छ । निरक्षर देश आधुनिकरणमा जान सक्दैन । त्यसैले भर्नादेखि विद्वतासम्म सबै काम गर्नुपर्दछ ।

एकताको आकांक्षा राख्ने सबैलाई धन्यवाद
नागरिकहरूको स्वास्थ्य, सामाजिक सुरक्षा, आत्मविकास, पूर्वाधार, बाटा, विजुलीमा ध्यान दिइएको छ । डिजिटल नेपालको यात्रा सुरु गरिसकेका छौँ । विद्यालयबाट भर्ना अभियान सुरु गरिसकेका छौँ । कार्यालयहरूबाट सुरु गरिसकेको छु । म यस अवसरमा आग्रह गर्न चाहन्छु, हामी कोही पनि बिना अलमल अगाडि बढ्नुपर्दछ । एकीकरणको प्रक्रिया अगाडि बढेको छ । जिल्ला तह टुंगिएको छ । यो वास्तवमै महान् पार्टी हो । विचार, संगठन, आचरणका हिसावले यो महान् पार्टी हो । लाखौँ कार्यकर्ताले यो महान्पार्टीको हैसियतमा भूमिका खेल्न सक्नुपर्दछ । पार्टीको नेतृत्व एकजुट भएर सबै कामको नेतृत्व गर्न सक्षम छ । म पार्टी एकताका निम्ती सबैलाई धन्यवाद भन्न चाहन्छु । विशेषगरी कमरेड प्रचण्डलाई धन्यवाद । उहाँले विशेष लचकता, फराकिलोपनका साथ नलिनुभएको भए यो एकता सम्भव थिएन । म सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । एकताको आकांक्षा राख्ने र दबाब दिने सबैलाई धन्यवाद ।


यस पार्टीले समयनुकुल ढंगले माक्र्सवादको प्रयोग कसरी गर्नुपर्छ भनेर संसारलाई देखाएको छ । आज महान् लेनिनको १४९ औँ जन्म दिन पनि हो । यस दिनमा म यो दुनियाँलाई महान अभियानमा प्रवेश गराउने अभियान्ता लेनिनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु । हामीले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेको छ । यो सुदृढ एकतालाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढ्ने छौँ ।
(नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीबाट व्यक्त मन्तव्यको सम्पादित अंश )

प्रतिक्रिया दिनुहोस्