Logo
Logo

बुटवलको हिलपार्कमा बिहान-बिहानै नाचगान


दामोदर खनाल


बुटवल । बुटवलको महत्वपूर्ण पार्कको रुपमा चिनिने पार्क हो बुटवल हिलपार्क । चुरेपहाडमा रहेको यो पार्कमा रहेका फुलबारी, ढुंगामा कालिगढले कुँदेका विभिन्न आकृति, भ्यू टावरबाट देखिने बुटवलको मनमोहक दृश्य हेर्नका लागिसमेत आन्तरिक र बाह्य पर्यटक यहाँ पुग्ने गर्दछन् ।

यो पार्कमा बिहान मर्निङवाक गर्न जानेहरुको भिडभाड लाग्ने गर्दछ । मर्निङवाक गर्ने आर्कषक ठाँउकै रुपमा परिचित यो पार्कमा बिहान यहाँ पुग्नेहरु नाचगान गर्ने, योगा गर्ने गरेको रमाइलो दृश्य देख्न सकिन्छ । सुर्यदय हेर्नेहरुको लागि पनि यो ठाँउ महत्वपूर्ण मानिन्छ ।
जंगल र नागबेली उकालो सिँढीको पनि आफ्नै विषेशता छ । यहाँ पुग्ने कतिपय नौलो व्यक्तिलाई लाग्छ, यहाँ कसैको पास्नी, उत्सव, विवाह, खुसियालीमा नाचगान भइरहेको छ । तर, त्यसो नभएर बुटवलबासीले स्वस्थ्य हुन बिहानमा अपनाउँदै आएको बर्षौदेखिको मर्निङवाक गर्ने तरिका हो ।

बिहान ४ बजेदेखि बुटवल हिलपार्कमा मर्निङवाक गर्न जानेको चहलपहल शुरु हुन्छ । युवा युवती महिला पुरुष, बालक, सबै यहाँ पुग्छन् । यसरी नाचेरै ब्यायाम गर्छन् । बिदाका दिन त्यहा पुग्ने संख्या अरु दिनभन्दा बढी हुन्छ । बिहानमा नाचगान गरेर पसिना निकाल्दा मुटुरोगी र अन्य ब्यक्तिको स्वास्थ्यको लागि पनि निकै लाभ हुने नियमित हिलपार्क आउने गरेका स्थानिय छत्रबहादुर क्षेत्री बताउँछन् ।

पछिल्लो पटक यही भदौको दोस्रो हप्ता केही दिनसम्म लगातार परेको बर्षाले यस क्षेत्रको केही ठाउँ भासिन पुग्दा केही संरचना पनि बिग्रिन पुगेको छ । यो चुरे क्षेत्रको कमजोर चट्टानका कारण यहाँ जमिन भासिएकाले यस क्षेत्रमा निर्माण गर्न लागेको बुद्ध पार्कको योजनासमेत प्रभावित हुन सक्ने देखिन्छ ।

चुरे क्षेत्रमा गरुङ्गा संंरचना निर्माण गर्दा चुरेको क्षेत्र खलबलिन सक्ने बिज्ञहरुको भनाइ छ । चुरे संरक्षण समिति बुटवलका प्रमुख अजय कार्की यी क्षेत्रमा ठूला आयोजना बनाउँदा बुटवल क्षेत्र जोखिममा पर्ने बताउँछन् । यहाँ केबुलकार, ठूलो बुद्धमुर्ति राख्ने जस्ता संरचनाले अन्य संरचनापनि निर्माण हुनेभएकाले ती संरचना नबनाउँदा उचित हुने बताउँदै प्रमुख कार्की भन्छन्, ‘चुरे कान्छो पहाड हो, भुकम्प र बर्षाले यो पहाड खलबलिएको छ ।’

यहाँको बाल उद्यान र मुर्तिकारले बनाएका संरचनाहरु भने त्यति व्यवस्थित हुन सकेको छैन । हिलपार्क व्यवस्थापन समितिले यहाँ विभिन्न संघ सस्थाको सहयोगमा थप केही संरचनाहरु निमार्ण भइरहेपनि बजेट अभावका कारण आवश्यकता अनुसार यहाँका संरचनाहरु व्यवस्थित गर्न नसकिएको जनाएको छ ।

बुटवल वडा नम्बर ७ का वडा अध्यक्ष एवं हिलपार्क ब्यवस्थापन समितिका उपाध्यक्ष कमलप्रताप थापा यो पार्कको आम्दानी कर्मचारीको तलबमै ठीक भएको वताउँछन् ।

हिलपार्क कार्यालयका कार्यालय प्रमुख मनोज खड्का कोरोना र लकडाउनका कारण यस क्षेत्रमा घुम्न आउने आन्तरिक स्थानीय पर्यटकको संख्यासमेत घटेको छ । लकडाउन खुकुलो भएसँगै चहलपहल बढ्न थालेको बताउँछन् उनी । यस क्षेत्रमा बिगबुद्ध नयाँ योजना भएपनि कोरोनाका कारण बालउद्यानको काम हुन नसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्