Logo
Logo

पुनर्निर्मित काष्ठमण्डपकाे छानो छाउन सुरु



काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुरस्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरिएको काष्ठमण्डपको अन्य काम सकेर छानो छाउने काम सुरु गरिएको हो ।

सातौँ शताब्दीमा बनेको सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

काष्ठमण्डप मुलुकको राजधानी काठमाडौँको ठूलो मौलिक सम्पदा भएकाले सातौँ शताब्दीमा बनेको काष्ठमण्डपको मौलिकतालाई बचाएर पुनर्निर्माण गरिनु ठूलो उपलब्धि भएको अध्यक्ष शाक्यले बताए ।

काष्ठमण्डप सम्पदा पुनःनिर्माणका लागि हालसम्म रु ११ करोड ५० लाख खर्च गरिएको छ । काठमाडौँ महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शाक्यले बताए ।

काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ ।

करिब रु १९ करोड लागत अनुमान गरिएको ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको काम चाँडो सक्ने गरी काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्