Logo

अर्थतन्त्रमा अझै अशुभ संकेत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सरकारले चालु आर्थिक वर्षदेखि आगामी केही वर्षसम्म उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । आगामी केही वर्षसम्म उच्च आर्थिक वृद्धिका लागि आवश्यक रणनीतिको तर्जुमा गर्नेतर्फ पनि सरकार जुटेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको अघिल्लो आठ महिनाको अवधिमा चालु खाता घाटा पनि बढेको छ । उक्त घाटामा क्रमिक बिस्तार भई एक खर्ब ९१ अर्ब १३ करोड रूपैयाँ पुगेको बताइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त घाटा एक खर्ब ५४ अर्ब ९९ करोड रूपैयाँ थियो । त्यसैगरी आन्तरिक उत्पादन बढाउने, आयात कम गर्ने र निर्यात बढाउने योजना पनि खासै प्रभावकारी देखिएको छैन । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा उक्त अवधिमा विभिन्न वस्तुको कुल निर्यातमा केवल १४.६ प्रतिशतले मात्र वृद्धि भई ६१ अर्ब २२ करोड रूपैयाँ पुगेको छ ।

उता, विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत आगामी वर्ष कम्तीमा ६ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेका छन् भने, चालु वर्ष पनि ५ प्रतिशत भन्दाबढीको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । तर, चालु आर्थिक वर्षको प्रारम्भदेखि नै मुलुकको शोधनान्तरलगायतका आर्थिक परिसूचकहरू तेस्रो त्रयमाससम्म आइपुग्दा पनि नकारात्मक नै रहेको देखिनुले आगामी दिनमा आशा गरिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई भेट्टाउन निकै गाह्रो हुनसक्ने आँकलन गरिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको अघिल्लो आठ महिनाको देशको वर्तमान आर्थिक अवस्थामा पनि मुलुकको शोधनान्तर घाटा कुल ५८ अर्ब ९९ करोड रूपैयाँ पुगेको उल्लेख छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको शोधनान्तर घाटा झण्डै २५ अर्ब रूपैयाँको हाराहारीमा मात्र थियो ।

नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको अघिल्लो आठ महिनाको अवधिमा चालु खाता घाटा पनि बढेको छ । उक्त घाटामा क्रमिक बिस्तार भई एक खर्ब ९१ अर्ब १३ करोड रूपैयाँ पुगेको बताइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त घाटा एक खर्ब ५४ अर्ब ९९ करोड रूपैयाँ थियो । त्यसैगरी आन्तरिक उत्पादन बढाउने, आयात कम गर्ने र निर्यात बढाउने योजना पनि खासै प्रभावकारी देखिएको छैन । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा उक्त अवधिमा विभिन्न वस्तुको कुल निर्यातमा केवल १४.६ प्रतिशतले मात्र वृद्धि भई ६१ अर्ब २२ करोड रूपैयाँ पुगेको छ । विगत लामो समयदेखि निर्यातमा उल्लेख्य अंश ओगट्दै आएको अलैंची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिनलगायतका वस्तुको निर्यात भने अस्वाभाविक ढंगले घटेको छ । तर, विदेशबाट कच्चा पदार्थ आयात गरी आंशिक तयारी वस्तुको रूपमा उत्पादित केही सामानको निर्यातमा भने सामान्य वृद्धि भएको छ ।

उता आयातलाई प्रतिस्थापन गर्ने भने पनि आयातको मात्रा ह्वात्तै बढेको छ । समीक्षा अवधिमा नौ खर्ब ५० अर्ब रूपैयाँको हाराहारीमा आयात भएको देखिन्छ । कुल आयातमा सँधैझैं भारतबाट नै सबैभन्दा धेरै आयात भएको देखिन्छ । तर, उक्त अवधिमा भारतबाट भएको आयातमा अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत, चीनबाट भएको आयातमा ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयातमा २०.८ प्रतिशतले बढोत्तरी भएको देखिएको छ । आयात र निर्यातलाई विश्लेषण गर्दा चालु आर्थिक वर्षको अघिल्लो आठ महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा २५ प्रतिशतको हाराहारीले बढेर नौ खर्ब रूपैयाँ नजिक पुगेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा मूल्य वृद्धि पनि ४ प्रतिशत भन्दामाथि नै रहेको देखिन्छ । क्षेत्रगत आधारमा सबैभन्दा बढी हिमाली भेगमा ५.५ प्रतिशतले मूल्यवृद्धि भएको छ भने सबैभन्दा कम मूल्यवृद्धि तराईमा देखिन्छ । जसअनुसार तराईमा ३.६ र काठमाडौं तथा अन्य पहाडी भेगमा ४.६ प्रतिशत रहेको छ ।

लामो समयदेखि मुलुकको वैदेशिक मुद्रा आयको स्रोतको रूपमा रहेको वैदेशिक रोजगारीमा पनि उतार चढाव आएको छ । यो अवधिमा रोजगारीको निम्ति विदेश जाने युवाको संख्यामा कमी आएको छ । तर, मुलुक भित्रिएको रेमिट्यान्स रकममा भने बढोत्तरी देखिएको छ । चालु आवको आठ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा २३.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ८२ अर्ब १९ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह केवल ४.९ प्रतिशतले मात्र बढेको थियो । विदेशी मुद्राको आम्दानी र खर्चलाई हेर्दा उक्त अवधिमा कुल विदेशी विनिमय सञ्चितीमा पनि कमी आएको छ । आर्थिक वर्षको प्रारम्भमा भन्दा आठ महिनाको अवधिमा विदेशी मुद्राको सञ्चितीमा झण्डै ४१ अर्ब रूपैयाँले कमी आएको देखिन्छ । सरकारले मलेशिया रोजगारी जानेमाथि अघोषित प्रतिबन्ध लगाएको कारण रेमिट्यान्समा असर परेको हो ।

सरसर्ती हेर्दा मुलुकको अर्थतन्त्रका मुख्य परिसूचकहरूमध्ये चालु खाता १ खर्ब ९१ अर्ब रूपैयाँले घाटामा रहेको छ । निर्यातको तुलनामा आयात झण्डै दोब्बरले वृद्धि भएको छ । मूल्य वृद्धि पनि ४ प्रतिशतभन्दा माथि नै रहेको छ भने व्यापार घाटामा २५ प्रतिशतको हाराहारीले वृद्धि भएको छ । तर, रेमिट्यान्स आप्रवाहमा मात्र सकारात्मक प्रवृत्ति देखिएकोले मुलुकले उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिएको अवस्था र आगामी आर्थिक वर्षको बजेटको तर्जुमा गर्न लागिएको परिप्रेक्ष्यमा मुलुकको चालु आर्थिक वर्षको प्रथम आठ महिनाको परिसूचकले सकारात्मक संकेत भने गरेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्