Logo
Logo

अब रूने कराउने काम बन्द !



जेलैमा हो, जेलैमा, चरी जेलैमा
मै छोरी रूँदैरूँदै बेंसी मेलैमा
(विष्णु माझी)

तीज आयो, महिलाकै चर्चा, तिहार (भाइटीका) आयो, उनकै हतारो । राखी (रक्षावन्धन) दिदीबहिनीकै । धान रोप्न रोपाहार तिनलाई नै खोज्नुपर्छ । फागुपूर्णिमा तिनलाई नै लोला हान्न युवा लालायित । दशैँ आायो महाकाली, महालक्ष्मी महासरस्वती अर्थात् दुर्गाको आराधना गरेर बित्छ । श्रीपञ्चमीका दिन सरस्वतीकै पूजा हुन्छ । रामायण आदिमहाकाव्यका वास्तविक पात्र को ? सीता । उनको हरण नभएको भए रामले रावणसँग युद्ध गर्नुपथ्र्याे ? महाभारत युद्ध कसरी शुरु भो ? द्रौपदीले दुर्याेधनलाई अन्धाका छोरा अन्धा भनेपछि बीजापरोण भएको हैन र ? हेलेनको अपहरणले ट्रोजन वार भयो ।

छोरीहरु कस्तो बन्ने ? मङ्गलादेवी, साधना, सहाना, शैलजा, विद्यादेवी, रामकुमारी जस्ता राजनीतिकर्मी कि बेन्डेट क्विन फुलनदेवी, ममता बनर्जी, मायादेवी वा जयललिता ? इन्दिरा गान्धी बन्ने कि सोनिया गान्धी ? बन्दरानायके बन्ने कि कुमारातुङ्गा ? खलिदा जिया कि शेख हसिना वाजेद ? बेनजीर कि किम यो–जोङ ? थ्याचर बन्ने कि मर्केल ? बुबाकै बलमा उपप्रधानमन्त्री बन्ने तर राष्ट्रिय राजनीतिमा छाउन नसक्ने अनि मतपत्र च्यातेर बुबाको बलमा मेयर बन्ने अनि चर्चा भने हारेको हुने काम चाहिँ कसैले नगरून् । बरु टिकटकमा नाचेर नाम कमाउने मेलो आएको नबिर्सनू ।

भिक्टोरिया बन्ने कि एलिजाबेथ ? मदर टेरेसा कि कल्पना चावला ? योगमाया कि लीलादेवी ? राजेन्द्रलक्ष्मी कि कीर्तिलक्ष्मी ? सीता कि भृकृटी ? पारिजात कि वानीरा गिरी ? पासाङल्हामु कि गौरिका सिंह ? राधिका कि आरजु ? फम्पा कि हिसिला ? अब त उन्नाइसवर्षे स्वस्तिका महत(दैलेख) पनि नमूना बनेर आएकी छन् । प्रौढा राजनीतिकर्मीले अब विस्तारै छेउ लाग्दै जाने हो कि, कति ठाउँ ओगटिरहनू ? हुन त ९१ वर्षीया उपमेयर(वीरगञ्ज) शान्ति कार्की अझै न्यायिक समितिमा सक्रिय छिन् । अनि नेपालमण्डलको फोहर सफा नगरी राष्ट्रपतिको ख्वाब चाहिँ नदेख्नु नै बेस ।

शक्तिविना शिव अपूर्ण नै हुन्छन् । गौरीशङ्कर, लक्ष्मीनारायण, राधाकृष्ण, सीताराम सबै अर्धनारीश्वर । हेर्नाेस् है, रानीपोखरी बन्यो रानी अनन्तप्रियाको आँशुले । धरहरा बन्यो ललितत्रिपुरासुन्दरीको आँटले । सती भुवनलक्ष्मीले सरापेको यो मुलुक । यहाँको शासनमा कसैको पनि विवेक छैन । देख्नुभएन, पार्टी फुटाउने अध्यादेश ल्याउन कति जानेका ? अघिल्लो सरकारले ल्याएको अध्यादेशको विरोध गर्नेले फेरि अध्यादेश ल्याएर पार्टीहरुको बिजोग गराएको ।

‘राधा’ र ‘योगमाया’ले त मदन पुरस्कार नै जिते, ‘अनुराधा’ पनि प्रख्यात भयो । ‘लोलिता’का उपन्यासकारले नोबेल पुरस्कार जिते । नयाँ नेपालमा नारी राष्ट्रपति भए, प्रधानन्यायाधीश भए, सभामुख भए । अब बाँकी त्यही प्रधानमन्त्री न हो । त्यो त चिठ्ठा हाल्दा पनि आउँछ, च्याँखे थाप्दा पनि पर्छ । भर्खरै मुख्यमन्त्री हात पारेको हैन अष्टलक्ष्मी शाक्यले । राजनीतिमा धैर्य चाहिन्छ भनेको त्यही हो । अब मन्त्राणी, हाकिम साहेबनी, डाक्टर्नी, माष्टर्नी भनिने दिन गए । आफैँ मन्त्री बन्ने, हाकिम बन्ने जमाना आयो । पालिकाहरुमा उपप्रमुखमा थन्किने दिन पनि गए । अबका चुनावमा तेत्तीस हैन आधा आकाशलाई अब ५० प्रतिशत खोसेर लिइन्छ ।

मुखैमा आएको हिलारी क्लिन्टनको राष्ट्रपति हुने अवसर खोसिए पनि भारतीय मूलकी कमलादेवी ह्यारिस अमेरिकाको उपराष्ट्रपति हुनु, अनि नेपालका महिला पुरुषका खेलौना मात्र बनेर बस्नू ? असम्भव । नारी अब प्रधानमन्त्री, प्रधानसेनापति, प्रहरी प्रमुख पनि बन्न बाँकी नै छ । सारा घरधन्दा मिलाउन सक्ने महिलाको व्यवस्थापन क्षमता पुरुषभन्दा बढी नै हुन्छ ।

त्यो भनेको नेतृत्व क्षमता पनि उनमा निहित हुन्छ भनेर बुझ्नुपर्ने कुरा हो । र हेलेन केलरले ठीकै भनेकी छन्– महिलाले थाहा पाइसकेका छन्, आफूलाई न्याय दिलाउन पुरुषको शिष्टतामा भर पर्नुहुन्न ।

तलिबानले बुर्का भिडाउने दिन पनि गए । अब उसले गर्लस एडुकेशन नाकाचालले मान्नुपर्छ । विश्वको विश्वास लिने भए महिलालाई मन्त्री नबनाई सुखै छैन । ती महिला अधिकारका लागि टाउकामा चोट खान र अनुहारभरि रगत बगाउन तयार भएर सडकमा ओर्लिसके । नेपाली महिला अधिकारकर्मीको ध्यान अफगानी महिलाको आन्दोलनमा गएको छ त ?

छोरी जन्मेको भनेर अस्पतालमा बाबुले सुत्केरी श्रीमती छाडेर हिँड्ने यही समाजमा छन् । दिनभरि जुवा खेल्ने र राती अर्धाङ्गिनीलाई भकुर्ने पनि यहीँ समाजमा छन् । सन्तान थरिथरिका । बलात्कार तिनैले भोग्नुपर्ने, केही क्षतिपूर्ति लिएर बलात्कारीलाई तिनले माफी दिनुपर्ने, दाइजो नल्याएको निहुँमा तिनैले जल्नुपर्ने । अझ मर्दकी सयवटी रे ? छोरीको जन्म हारेको कर्म रे ? छोरा पाए खसी र छोरी पाए फर्सी वा नुनपानी गर्ने हाम्रो संस्कार ! जतिसुकै राजनीति परिवर्तन भए पनि त्यसले चेतना परिवर्तन गर्न नसकेको देशको पीडा ।

अब रणचण्डी बनेर सब बलात्कारी र हिंस्रकलाई तह लगाउन उठ्नुपर्ने हैन र ? कि खाडी वा मुग्लानबाट पतिले पठाएको रेमिट्यान्स जुवातास, खेलेर, मदिरा पिएर सकाउने, अर्काे प्रेमी खोजेर बस्ने विचार छ ? नेपालीका दिन नाचेर, गाएर, जात्रापर्व, चाडबाड, मेलामहोत्सव धाएर, दोहोरी गाएर, हँसीमजाक गरेर सकिन लागेका बेला नारीशक्ति पनि त्यसैमा थपिँदा घरव्यवहारको हालत के होला ? नाङ्गिनुको खुलेआम स्वीकारोक्ति गर्नु वा अर्धनग्न बन्नु नै नारी स्वतन्त्रता हो ? यसले नारीशक्तिको मूल्य बढ्यो कि घट्यो ?

नारी अधिकार भनेको आरक्षण मात्र हो ? वा जताततै ३३ प्रतिशत माग हो ? जनकको दरबारमा गार्गी र मैत्रेयीले पुरुषसँग शास्त्रार्थ गरे जस्तो बहस गर्न सक्नुपर्यो । अब रूने कराउने काम बन्द । कस्तुरीले आफ्नो सुगन्ध खै चिनेको ?

२०७८ भदौ २१
[email protected]

प्रतिक्रिया दिनुहोस्