सन्देशको ‘सम्झनाको आँधी’ नियाल्दा « Drishti News – Nepalese News Portal
Logo
साहित्य

सन्देशको ‘सम्झनाको आँधी’ नियाल्दा


फिपराज बेघा


दुई दशक अघि साहित्यिक पत्रपत्रिकाहरु निस्कन्थ्यो । त्यस बखत, अल्लारेबल्लारे उमेरका सन्देश सुब्बा रचना छापिदा खुब खुसी हुन्थे । विश्व नेपाली साहित्य महासंघले सन् २०१५ मा आयोजना गरेको विश्वव्यापी अनलाइन कविता प्रतियोगितामा प्रथम भएपछि सन्देशजीलाई साहित्यकासमा मैले ‘क्लिक’ गर्न थालेको हुँ । फाट्टफुट्ट भेट हुने अवसर जुराइन्छ ।

चैत २० गते मुकाममा भेट भाथ्यो । याक्थुङ युबा मञ्चको दोस्रो महाधिवेशन (२०७७ चैत २९ र २९ गते) फेदेनमा सम्पन्न भयो । त्यहिँ मेसोमा मिलाप भएपछि ‘सम्झनाको आँधी’ ग्रहण गरेको थिएँ । घना वस्ती मानिने सहरलाई स्वार्थीहरुको हुल बस्ने ठाउँको रुपमा गजलमा चित्रण गरिएको छ । त्यति मात्र होइन्, सहरलाई मानवता मास्ने, लबस्तरोहरु नाङ्गो नाच्ने, भ्रमको खेती गर्ने केन्द्रको रुपमा उल्लेख गरेका छन् ।

‘सम्झनाको आँधी’मा सहरलाई तीनवटा गजलमा समेटिएको छ । गजलकारले आफ्नो नाममा २ वटा रदिफमा सुन्दर गजल जन्माएको भेटिन्छ । जस्ले पनि विगतलाई सम्झिने गर्ने गरिन्छ । जसमा गजलकार अछुतो रहने कुरै भएन ।

वितेका ती बैसका, बेला सम्झिन्छु,
राँके, साप्सु, त्रिशाली, मेला सम्झिन्छु
पाःलाम, ख्याली गाएका, धान नाचेका
ख्याल ठट्टामा गरेका, रेला सम्झन्छु

सुब्बाजी, पान्थरका रैथाने हुन् । ती रैथाने भुगोलमा पर्ने राँके, साप्सु, त्रिशालीमा पाःलाम्, ख्याली गुजिन्छ । जुन नेपालको साँस्कृतिक निधि हुन् । त्यही परिधिमा रहेर बैसको रमाइला पक्षलाई गजलको रुपमा सिर्जना गरेको हुनुपर्छ ।

नेपालमा हिन्दू वर्णाश्रम व्यवस्थाले समुदाय किनारकृत भएका छन् । कथित उपल्लो र तत्लो जातको दरारविरुद्ध गजल स्तम्भ खडा गरिएको छ । गजलकारले देखेको समाजको संवेदना ढलिरहेको तीतो यथार्थ उजागर गरेको पाइन्छ । शासक निरङ्कुश हुन्छ । न्याय माग्दा आँप झारे झै शासकले सपुतलाई मार्ने गरेको गजलको शेरले भनेको छ ।

गजलको शीर्षक हुन्छ कि हुदैन ? आ–आफ्नै तर्क छन् । सुब्बाजी शीर्षक राखेर गजल पस्कन्छन् । ६१ वटा गजल अटेको ‘सम्झनाको आँघी’मा घटीमा ४ शेर, बढीमा ८ शेरहरु पढ्न सकिन्छ । पहिचानजनिक विम्ब गजलमा पोखाएका छन् । मेन्छ्यायेम् कोम्मा, या?लाङ, अम्लारी, हाक्पारे, मेखिम, लाःनाम्, माङ्हुप, साप्मुन्धुम, सुम्हात्लुङ, सेक्मुरी जस्ता शब्द गजलमा फेला पर्छ । लिम्बु मातृभाषाको सुघन्ध पाइएकाले मातृभाषा नबुझ्नेलाई शब्दार्थ गजलको पुछरमा लेखेर सरलकृत गर्न खोजेका छन् ।

गिरिराज बास्कोटाजीको फोटो गातामा सुसजित छ । निम्बल पब्लिकेशन प्रकाशक रहेको सङ्ग्रहको मूल्य रु.१९९/- (संस्थागत रु.२९९/-) तोकिएको छ । मनबहादुर लिम्बु/स्व.पृथमाया लिम्बु साहित्यिक पुरस्कार अक्षयकोष स्थापनार्थ पुस्तकबाट प्राप्त रकम प्रयोग गरिने रहेछ । ७० पृष्ठे सङ्ग्रहको विट्यौनीमा विभिन्न व्यक्तिहरुको भनाइलाई स्थान दिइएको छ ।

संक्षेपमा लेख्नुपर्दा, संङ्ग्रहमा प्रेम विछोड, सामाजिक परिवेषको परिदृष्य, उत्पीडित राष्ट्रियताहरुको सीमान्तकृत आवाजलाई गजलमा उनेका छन् । एकाध अशुद्ध भेटिन्छ । एकै किसिमको भावनालाई बेग्लाबेग्लै गजलमा पढ्न सकिन्छ । उस्ताउस्तै रदिफ दोहोरिएको हुँदा किन रदिफ दोहोर्याएको होला ? जस्तो भाव पाठक वृन्दलाई पर्न सक्छ । खैर, गजलहरु रसिक नै छन् । सुब्बाजीले झुठा आश्वासन दिने प्रेमीलाई इङ्गित गर्दै लेखेको गजलबाट विट मार्छुः

जून दिन्छु भन्नेहरु, घाम दिन्छु भन्नेहरु
कहाँ गए, तिम्रै खाट्टी, नाम दिन्छु भन्नेहरु ।

[email protected]

प्रतिक्रिया दिनुहोस्