Logo
Logo

मान्छे बोकेर लाखौँ कमाइ


ज्ञानु घिमिरे


ताप्लेजुङ । मानिस पेट पाल्नलाई अनेक पेसा गर्छन् । पेसा जेसुकै होस्, ‘जीवन खुसी र सुखी भए’ त्यसैमा आत्मसन्तुष्टि मिल्छ । पूर्वको प्रसिद्ध धार्मिक तिर्थस्थल ताप्लेजुङको पाथीभरामा मान्छे बोकेरै लाखौँ कमाउँदै आएकाहरु भन्छन्, ‘हामी खुसी छौँ, मान्छे बोकेर बचत पनि गछौँ ।’

पाथीभरा देवीको दर्शनका लागि देश–विदेशबाट भक्तजन आउने गर्छन् । तर, सोचेजस्तो पाथीभरा पुग्न सहज छैन । पाथीभरा पुग्न ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट काफ्लेपार्टीसम्म मोटरबाटो जान्छ । त्यहाँबाट मन्दिरसम्म पैदल हिँड्नुपर्छ । ४.५ किलोमिटरको पैदलयात्रापछि पाथीभरा मन्दिर पुगिन्छ ।

काफ्लेपाटीबाट करिब १.५ किलोमिटरको यात्रापछि माथिल्लो फेदी पुगिन्छ । माथिल्लो फेदीबाट पैदलयात्रा कठिन हुन्छ । त्यसैले झण्डै ४० प्रतिशत भक्तजनले सहयोगीको सहारा लिने गरेको पाइन्छ । लेकको बाटोमा पाहाडको ढुंगा र ओसिलो क्षेत्र भएकाले यहाँ बालबालिका, वृद्ध तथा कमजोर शारीरिक अवस्थामा भएका मानिसलाई पैदलयात्रा गर्न कठिन हुन्छ ।

सिजन अनुसारका फूल फुल्ने र हरियाली वातावरणले पाथीभराको यात्राले मन प्रफुल्ल हुन्छ । पदयात्राका लागि रमणीय र धार्मिक आस्था बोकेको धरोहर हो, पाथीभरा । यस स्थानमा तिर्थयात्रीको सहयोगका लागि ताप्लेजुङ जिल्ला बाहिरबाट पनि रोजगारीका लागि आउने गरेका छन् । यहाँ मान्छे बोकेर मासिक हजारौँ कमाइ गर्नेहरु प्रसस्तै छन् । त्यसैले पनि यो क्षेत्रमा मान्छे बोक्ने कामका लागि विभिन्न जिल्लाबाट युवाहरु आएका छन् ।

स्थानीय प्रशासनको समन्वयन

स्थानीय प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको संयुक्त बैठकबाट जारी गरिएको भाडाअनुरुप तिर्र्थयात्रीले पाथीभरा मन्दिरसम्मको यात्रामा सहयोग गरिरहेको होटेल व्यवसायी संघका सचिव कुलबहादुर कार्की बताउँछन् ।

तीन हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा जो कोहीलाई पुग्न निकै कठिन हुन्छ । लेक लाग्ने, उकालोमा अक्सिजनको कमी हुने र ठाडो उकालोका कारण हिँड्न कठिन हुने गर्छ । सोही कारण कतिपय भक्तजन मन्दिर नै नपुगी आधा बाटोबाट फर्कने गरेका छन् । यस्तो अवस्थामा सहयोगीको आवश्यता हुने सचिव कार्की बताउँछन् ।

विगत ६ वर्षदेखि हिँड्न नसक्ने भक्तजनहरुलाई बोक्दै आएका दम्पती सञ्जु थापा र दिलकुमार विष्टले यही पेशाबाट घर चलाइरहेका छन् । उनीहरु भन्छन्, ‘काम सानो ठूलो नहुने रहेछ, सुरुमा मान्छे बोक्ने पेशामा के कमाइ होला भन्ने थियोे । तर, अहिले घर खर्च गरेर पनि सिजनमा २ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।’ वर्षको चार महिना खाशै आम्दानी नहुने उनीहरु बताउँछन् ।

त्यस अवस्थमा पसल तथा होटलको सामान बोक्ने गरेका छन् । उनीहरु भन्छन्, ‘फोगट चाहिँ बस्नु पर्दैन ।’ यस्तै, सञ्जु थापा भन्छिन्, ‘पसलमा काम नहुँदा म पनि बालबालिका र महिला बोकेर पसिना पुच्दै उकालो दौडिने गरेको छु । हिँड्न नसकेर दर्शन नगरी फर्किनेहरुलाई बोकेर भएपनि मन्दिर पुग्ने र दर्शन गर्ने उधारो सेवासमेत दिने गरेका छौँ ।’

हिँड्न सक्ने भक्तजनले पनि लौरोको साहारा लिएर लिनुपर्ने हुन्छ । पाथीभरा देवीको भजन तथा विभिन्न भाषाको गीत गाउँदै भक्तजनले उकालो बाटो काट्ने गर्छन् ।

चार वर्ष वैदेशिक रोजगारी गरेर पनि कमाइ नभएपछि निरास भएर घर फर्किएका इलामका देव राई भन्छन्, ‘विदेश गएर केही कमाइ भएन, छोराछोरी पढाउन खान लाउनका पनि समस्या थियोे । तर, यहाँ आएको ५ वर्ष भयो । त्यसपछि मेरो जीवनमा नै परिवर्तन भएको छ ।’ उनले अहिले घर खर्च चलाएर पनि दुई सिजनमा चार लाखभन्दा बढी बचत गर्ने गरेको उनले सुनाए । उनले भने, ‘छोरा काठमाडौंको राम्रो बिद्यालयमा पढ्दैछ । ४८ वर्षको उमेर भयो । ज्यानले सकुञ्जेल यही काम गर्ने सोच छ ।’

आजसम्म पाथीभरा माताको आशीर्वाद पाएर ज्यानले काम गरिरहेको सुनाउँदै उनले भने, ‘यो पेशाले लागेपछि मेरो जीवन नै परिवर्तन भएको छ ।’ नेपालका विभिन्न जिल्ला तथा भारतका थुप्रै स्थानबाट पाथीभरा देवीको दर्शनका लागि आउने आगरेका छन् । पाथीभरामा पुगेपछि आफूले चिताएको पूरा हुन्छ भन्ने जनविश्वास छ । त्यसैले पनि यहाँ टाढा टाढाबाट दर्शन गर्न भक्तजनहरु आउने गरेका छन् ।

कमाइ कति ?

यहाँ तल्लोफेदी अर्थात काफ्लेपाटीबाट प्रतिकिलो २ सय रुपैयाँको दरले ओहोर दोहोरको भाडा निर्धारण गरिएको छ । ६० केजीभन्दा माथीको मान्छेलाई दुई वा तीन जनाको टिमले मन्दिर दर्शन गराएर फर्कने गर्छन् । जसमा लिएको पैसा भाग गरेर सबैले बराबर बाँड्ने गरेका छन् । यहाँ मान्छे बोक्नेहरुको हुल नै लाग्ने गरेको छ । तिर्र्थयात्री सहयोगीले भक्तजनलाई जहाँ कष्ट पर्छ, त्यहीँबाट सेवा दिने गरेका छन् ।

कम तौल भएका महिला, बालबच्चाहरुलाई एकै जनाले बोक्ने गरेका छन् । तर, बढी तौल भएकालाइै बोक्न दुईदेखि चार जनासम्मको समुहले पालैपालो बोक्ने चलन छ । यहाँ मान्छे बोक्नका लागि भक्तजनको रुचिअनुसार ढाकर वा कपडाको नाम्लो व्यवस्था गरिएको छ ।

प्रति मान्छे १० देखि २२ हजारसम्म कमाइ

तल्लोफेदीबाट मन्दिरसम्म पुग्नका लागि करिब ४ घण्टासम्म समय लाग्छ । एक दिनमा यहाँका तिर्थेयात्रीले सिजनमा ६ पटकसम्म दोहोरो यात्रा गर्छन् । भक्तजनको अत्याधिक भीड भएको बेला रातको समयमा पनि काम गर्नुपर्ने अवस्था रहेको यहाँका सहयोगीहरु बताउँछन् । कसैले बिहानदेखि साँझसम्म १० पटकसम्म मान्छे बोकेर ओहोर–दोहोरो गर्ने स्थानीय सुनिता प्याकुरेल सुनाउँछिन् ।

भक्तजनको चाप कहिले ?

सामान्य रुपमा बाह्रै महिना पाथीभरा क्षेत्रमा भक्तजनको आगमन हुने भएपनि वर्षको ८ महिना अत्याधिक चाप हुने गर्छ । स्थानीय इन्द्र लिम्बुका अनुसार असार, साउन, पुस र माग महिनाबाहेक अन्य महिनामा यहाँ भीड हुने गर्छ ।

भक्तजनको आगमनका हिसाबले यहाँ दुई सिजन बाँडिएको छ । फागुन, चैत बैशाख र जेठमा एक सिजन र भदौं, असोज, कात्तिक तथा मंसिरलाई अर्को सिजन मानिन्छ । उक्त सिजनमा राम्रो कमाइ हुने पाथीभरा क्षेत्र विकास माथिल्लो फेदीका स्वास्थ्यकर्मी उमनाथ पौडेल बताउँछन् ।

दसैँ तथा नौरथा, चैते दसैँ र बैशाख महिनामा यहाँ बास बस्ने ठाउँसमेत पाउन मुश्किल हुन्छ । भक्तजनको अत्याधिक घुइँचो हुने यस सिजनमा तिर्थयात्री सहयोगीले समेत नसोचेको कमाइ गर्छन् ।

उक्त सिजनमा भक्तजनले ओढ्ने ओछ्याउने ल्याएर पाटीहरुमा सुत्ने गरेको तल्लोफेदीका स्थानीय रुपेन पौडेल सुनाउँछन् । पौडेल भन्छन्, ‘विशेष गरेर पुरुषहरुको हुल पाटीहरुमा बास बसेको देखिने गरेको छ । जुनसुकै सिजनमा पनि चिसो हुने भएकाले बालबालिका, कमजोर शारीरिक अवस्था भएकाहरु भने पाटीमा बस्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्