Logo
Logo

न्याय माग्दै इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी


हिक्मत बम


धनगढी । इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी गरिएको छ । मृत अवस्थामा फेला परेकी स्वास्थ्यकर्मीको न्याय माग्दै स्थानीयले बुधबार इलाका प्रशासन कार्यालयमा तालाबन्दी गरेको हो ।

असार २ गते परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामी मृत अवस्थामा फेला परेकी थिइन् । मृत फेला परेकाे तीन महिना पुग्न लाग्दा पनि परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन नभएपछि संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी गरेको हो ।

अस्मिताका हत्यारालाई छिटो सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई यथाशिघ्र राहतको व्यवस्था गर्नुपर्ने र जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि अस्मिता स्मृति आधारभूत स्वास्थ्य केन्द्र राख्नुपर्ने माग आफूहरुको रहेको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले बताए । उनले भने, ‘हत्यारा पत्ता नलागेसम्म ताला खोल्ने छैनौं ।’

असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो ।

अस्मिताको न्याय माग्दै संघर्ष समितिले पटक–पटक आन्दोलन गर्दै आएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएपनि अहिले सम्म हत्यारा पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्