Logo
Logo

एमाललाई ध्वस्त पार्न खोजिएको थियो : ओली



बुटवल । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट बचेको बताएका छन् । बुटबलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीलाई देशभरीका कार्यकर्ताले जोगाएको बताएका हुन् ।

‘यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो,’ उनले भने, ‘देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनु भएको छ ।’

एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुने ओलीले दावी गरे । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्व बिना नहुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले भत्काउन मात्रै जानेको बनाउन नजानेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हाँस्यास्पद भएको टिप्पणी गरे ।

‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ घण्टाघर’ ओलीको भनाइ छ ।

उनले भूकम्पका बेला नेकपा एमालेले २७ हजार घर, १३ हजार स्कुल र चौकीहरू बनाएको भन्दै अब एमाले परोपकारी संस्थाका रुपमा हाजिर भइरहेको र अझै भइरहेको अझ भइरहने दावी गरे ।

उनले एमालेलाई फुटाएर माधव नेपाल विरोधी पक्षको पछिपछि कुदेको आरोप पनि लगाए । उनले भने, ‘मलाई साथीहरूले माधव कामरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कामरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कामरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कामरेड भन्छन् ? माधव नेपाल कामरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् ।’

ओलीले नेपाली कांग्रेसले भारतले नाकाबन्दी गरेको बेलामा चुइँक्क बोल्न नसकेको आरोप लगाए । उनले भने ‘नाकाबन्द भयो भने लुसुक्क सुत्छ। बोल्न सक्दैन। नाकाबन्दी भन्न सक्दैन। तर, हाम्रो बाटो छेक्न पाउँदैन भन्न सक्दैनन्। अनुकूल अवस्था आयो भने नेपाली कांग्रेस कहाँ पुग्यो देख्नुभएको छ नि।’

प्रतिक्रिया दिनुहोस्