Logo
Logo

आगामी प्रदेश सभाको निर्वाचनपछि बागमतीमा उज्यालो पार्टीको सरकार बन्छ : कुलमान घिसिङ


252
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन् । बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सीमित नरही सङ्घीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताए ।

The current image has no alternative text. The file name is: kulman-ghising-1.jpg

मङ्गलवार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै बागमतीमा सरकार गठन गरेपछि सङ्घीय सरकारको नेतृत्वसमेत उज्यालो नेपालले गर्ने दाबी गरेका हुन् । उनले उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने प्रमुख लक्ष्य रहेको बताए । अध्यक्ष घिसिङले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको पनि स्पष्ट पारे । आफू तामाङ समुदायमा जन्मिए पनि आफ्नो राजनीतिक दृष्टिकोण जातीय आधारमा नभई समग्र देशको विकास, सुशासन र आर्थिक रूपान्तरणमा केन्द्रित रहेको उनले बताए ।  देशको आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’लाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष घिसिङले मध्यमार्गी राजनीतिक बाटोबाट उज्यालो नेपाल अघि बढ्ने उद्घोष गरे । 

उनले भने, ‘उज्यालो नेपाल कुनै जाति वा वर्ग विशेषको पार्टी होइन । यो विभेदको अन्त्य, सुशासन र समग्र देशको विकासका लागि स्थापित राजनीतिक शक्ति हो । हामी कुनै वाद–प्रतिवादमा अल्झिनेभन्दा मध्यमार्गी बाटोबाट अघि बढ्दै आर्थिक रूपान्तरणलाई प्राथमिकता दिन्छौँ । हाम्रो आर्थिक रूपान्तरणको मुख्य आधार हरित क्रान्ति हो । बागमती प्रदेशबाट सुरु गर्दै देशका सबै क्षेत्रमा सुशासन, विकास र आर्थिक समृद्धिको एजेन्डा लिएर अघि बढ्ने हाम्रो लक्ष्य हो। प्रदेशदेखि सङ्घसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्दै देशलाई आर्थिक रूपमा रूपान्तरण गर्ने हाम्रो सङ्कल्प छ ।’

अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिब ६ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे । जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यसअनुसार अघि बढ्न नसकेको उनको धारणा रहेको छ । यद्यपि सरकारलाई अहिल्यै नै पूर्ण रूपमा असफल भइसकेको निष्कर्षमा पुग्ने अवस्था नरहेको उनले बताए । सरकारले सुशासनका क्षेत्रमा केही काम गर्न खोजेको देखिए पनि त्यसलाई प्रभावकारी रूपमा संस्थागत गर्न नसकेको उनको टिप्पणी थियो । सरकारमा सहभागी युवा वर्गमा केही गर्ने इच्छाशक्ति र उत्साह भए पनि अनुभव, विज्ञता र आवश्यक क्षमताको कमी देखिएको घिसिङले बताए । 

उनले भने, ‘सरकार गठन भएको ६ महिना भइसकेको छ । यो अवधिमा सरकारले केही क्षेत्रमा काम गर्न खोजेको देखिए पनि जनताले अपेक्षा गरेको गति र परिणाम देखिन सकेको छैन । विशेषगरी रणनीतिक विकास निर्माण र सुशासनका क्षेत्रमा सरकारले स्पष्ट र प्रभावकारी सन्देश दिन सकेको देखिँदैन । केही सकारात्मक प्रयास भए पनि तिनलाई संस्थागत गर्न अझै चुनौती देखिन्छ । म सरकारलाई असफल भयो भन्दिनँ । तर जनताले जुन आशा र विश्वासका साथ सरकार गठन भएको थियो, त्यसअनुसारको परिणाम दिन अब थप गति, स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक छ । युवा नेतृत्वमा उत्साह र केही गरौँ भन्ने इच्छाशक्ति देखिन्छ, तर त्यसलाई अनुभव, विज्ञता र कार्यान्वयन क्षमतासँग जोडेर परिणाममुखी बनाउन आवश्यक छ ।’

अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपा नेतृत्व जिम्मेवार रहेको बताए । उनले रास्वपा सँग एकीकरण गर्ने निर्णय नै उज्यालो नेपालका लागि गलत निर्णय भएको निष्कर्षमा पुगेको बताए । एकीकरण प्रक्रियामा अघि बढेपछि आफूहरूले त्यसपछाडि ठूलो षड्यन्त्र रहेको बुझेको उनको दाबी छ । एकीकरण प्रक्रिया टुट्नुको कारणबारे रास्वपा नेतृत्वले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट औपचारिक रूपमा स्पष्ट धारणा सार्वजनिक नगरेको उनले बताए । एकीकरणका क्रममा उज्यालो नेपालले ठूलो पद वा राजनीतिक भागबन्डाको माग गरेको भन्ने प्रचारसमेत गलत रहेको उहाँको दाबी थियो । सुरुमा सहमति जनाएर पछि एकतर्फी रूपमा सहमति भङ्ग गर्नु राजनीतिक रूपमा गलत भएको भन्दै अध्यक्ष घिसिङले त्यसलाई ‘राजनीतिक अपराध’को संज्ञा दिए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग उज्यालो नेपाल पार्टीको एकीकरण प्रक्रियामा हामी अघि बढेका थियौँ । तर सहमति भएको १२ दिनपछि उक्त सहमति एकतर्फी रूपमा भङ्ग गरियो । त्यसपछि उज्यालो नेपालले पद वा अन्य ठुला माग राखेर एकीकरणबाट पछि हटेको भन्ने भाष्य निर्माण गरियो । तर हाम्रो बुझाइमा वास्तविकता त्यस्तो थिएन । एकीकरणसम्बन्धी सहमति गरेर त्यसलाई कार्यान्वयन नगरी एकतर्फी रूपमा भङ्ग गर्नु राजनीतिक रूपमा गम्भीर विषय हो । त्यसैले हामीले यसलाई राजनीतिक इमानदारी र सहमतिको संस्कृतिसँग जोडिएको विषयका रूपमा लिएका छौँ ।’

अध्यक्ष घिसिङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेको जानकारी दिए । उनले स्थानीय तहदेखि प्रदेश र सङ्घसम्म पार्टीको उपस्थिति बलियो बनाउँदै देशको नेतृत्व गर्ने लक्ष्यका साथ उज्यालो नेपाल अघि बढिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्