Logo
Logo

प्रकृति र धर्मको फ्युजन लब्रेकुटी


ज्ञानु घिमिरे


पाँचथर । मेची राजमार्ग झापाबाट सुरु हुन्छ । झापाको चारआलीबाट १०७ किलोमिटर उकालो लागेपछि पाँचथरको कान्छी दोकान पुगिन्छ । त्यहाँबाट ३ किलोमिटर अगाडि बढेपछि लब्रेकुटी पुगिन्छ । जुन ठाउँ १६औं राष्ट्रिय विभूती ‘महागुरु फाल्गुनन्द’को तपोभूमि हो ।

लब्रेकुटीलाई किरात धर्मावलम्बीहरुले आस्थाको केन्द्र मान्छन् । लब्रेकुटीको महत्व त्यतिमा सीमित हुँदैन । समाज सुधारको अभियानका क्रममा फाल्गुनन्द १९७८ सालमा लब्रेकुटी पुगेका थिए । त्यो समय लिम्बू समुदायमा व्यस्त विकृति थियो ।

विकृति अन्त्यका लागि फाल्गुनन्दले १९८८ बैसाख २४ गते पाँचथरको चोकमागुस्थित लब्रेकुटीमा तत्कालीन दश लिम्बुवानका प्रतिनिधि बोलाएर विकृति, विसंगति हटाउँदै समाज सुधार गर्न ७ बुँदे सत्य धर्म मुचुल्का गराएका थिए । जसलाई किरात समाज सुधारको पहिलो खुड्किलो मानिन्छ । आज लिम्बू सामुदायमा ‘सत्यधर्म मुचुल्का’ महत्वपूर्ण ‘गाइडलाइन’ बनेको छ ।

किरात समाजमा प्रचलित तुम्याहाङ प्रणालीको आधारमा सत्यधर्म मुचुल्का निर्माण गरिएको थियो । तुम्याहाङहरु भेला भएर समाजका कानूनहरु निर्माण गर्ने प्रचलन तुम्याहाङ प्रणाली हो । ७ बुँदे उक्त मुचुल्काले समाजलाई समानता, अहिंसा, मानवता र प्रकृतिपूजाको दिशामा मार्ग निर्दिष्ट गरेको छ ।

लब्रेकुटीको पछिल्लो आयाम

महागुरु फल्गुनन्दले लब्रेकुटीमा झण्डै दुई दशक बिताएका थिए । उनले गाढेको त्रिसुल अझै भेटिन्छ । लाब्रेकुटि दर्शन तथा भ्रमणमा पुग्नेहरु मनोकांक्षा पूरा हुने मान्यताका साथ त्यहाँ रहेको देवस्थल सात फन्को मारेर फर्कन्छन् । लाब्रेकुटी भ्रमणका क्रममा मनोकामना पूरा हुने र महागुरुको दर्शन गर्न पाएको आभास हुने भत्तजन रत्नबहादुर थेबे बताउँछन् ।

लब्रेकुटीलाई राष्ट्रि विभूती महागुरु फाल्गुनन्दको खुल्ला संग्रहालयको रुपमा समेत ब्याख्या गरिन्छ । फाल्गुनन्दले प्रयोग गरेको खाट, उनको कपाल, उनैले प्रयोग गरेको चिम्टा, उनले टेकेको त्रिशुल, उनले रोपेका १०८ प्रकारका वृक्ष दर्शन गर्ने पाइने लब्रेकुटी माङ्हिम संरक्षण समितिका सचिव सुवास तुम्बापो बताउँछन् । माहागुरुको सम्झनामा २५ वर्षदेखि यहाँ अखण्ड माहादिपसमेत बलिरहेको छ ।

प्रकृति र धर्मको फ्युजन

लब्रेकुटी प्रकृति र धार्मिक आस्थाको समिश्रण पनि हो । यहाँ पुग्नेले किरात धर्मबारे अध्ययन गर्न त पाउने नै भए । उच्च भू–भाग भएकाले दृश्यावलोकनका लागि उपयुक्त ठाउँ हो ।

तेह्रथुम, ताप्लेजुङ, इलाम र झापाका केही भूभाग अवलोकन गर्न पाइन्छ । यहाँबाट सगरमाथा र फक्ताङलु (कञ्चनजङ्घा) हिमाल मज्जाले हेर्ने सकिन्छ । यहाँ ७ प्रजातिका लालिगुरास, ८ प्रजातिका जरिबुट्टि र १३ प्रकारका सल्लासमेत पाइन्छन् ।

स्वदेशी विदेशी पर्यटक

लाब्रेकुटीमा भारतलो सिक्किम, दार्जिलिङ, मिरिक तथा नेपालका विभिन्न स्थानबाट भक्तजन आएर सेवा गर्ने गरेका छ्न । यहाँ किरात धर्मावलम्बी मात्र नभएर अन्य धर्मावलम्बीसमेत उल्लेख्य संख्यामा आउने गरेका छन् । यहाँ आउने भक्तजनलाई निःशुल्क भोजन र आवासको व्यवस्था गरिएको छ । यस क्षेत्रको विकासका लागि स्थानीय सरकारले पहल थालेको छ ।

प्रतिक्रिया दिनुहोस्