आयाराम गयारामहरु जनतासामु टिक्ने छैनन् « Drishti News – Nepalese News Portal
Logo

आयाराम गयारामहरु जनतासामु टिक्ने छैनन्


लक्ष्मण देवकोटा


आफैले घाँटी निमोठेर दुई–दुई पटक भिरबाट गुल्ट्याइदिएको घाइते सार्वभौम संसदमा प्रतिगमनकारीहरुको रौद्र रुप देखिन थालेको छ । जसलाई संसदको माया नै छैन, जो संसद वधको पक्षमा जनमत सिर्जना गर्न देश दौडाहा गर्छ, त्यही मान्छे जो अर्को कोठामा घण्टौंदेखि कुरिरहेका स्थायी कमिटीका सदस्यहरुलाई मान्छे नै नगनेर चुपचाप काजु खाएर तमासा मच्चाइरहन्छ, माधव नेपाललाई कुनै पनि हालतमा पार्टीबाट निकाल्नु नै जसको अभिष्ट हुन्छ, पार्टीभित्र कुनै पनि हालतमा आफ्नो गुटको वर्चश्व स्थापित गराउन हिँड्छ, उसलाई यो देशको सार्वभौमसत्ता, लोकतन्त्र, संविधान र संसदुसँग के सरोकार के माया ?

महेश बस्नेत र गोकुल बाँस्कोटाहरुलाई संसदीय सर्वोच्चताको असाध्यै पीर परेको छ, यसबखत । सहजै बुझ्न सकिने कुरो के हो भने, एमसीसीको अक्कर परेको बेला जसरी पनि सत्ता गठबन्धन तोड्ने चक्र फ्याँकिरहेको छ, एमाले । स्थानीय निकायदेखि केन्द्रसम्म एमालेको हरेक धाक, धम्की र राजनीति नै सिध्याउने दादागिरीलाई नाघेर खाट्टी एमालेजनहरु विद्रोहको झण्डा किन उचालिरहेका छन् ? कम्युनिष्ट आन्दोलनलाई मर्न नदिन किन माधव नेपाल पक्षमा लामबद्ध भएका छन् ?

संसदीय सर्वोच्चता संसदीय अभ्यासलाई स्वीकार्ने जोसुकैको निम्ति पनि एउटा आदर्शको विषय हो । यही विषयलाई त मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रमुख विषयको रुपमा उठान गर्नुभएको थियो । जनताको मतबाट निर्वाचित भएर संसदमा आइसकेपछि संसदको विधि, पद्धतिलाई स्वीकार्नु, पार्टीभित्र पनि पार्टीमा आफूले महाधिवेशनबाट पास गरेको विधानको मातहतमा रही पद्धतिसम्मत ढंगले स्वीकार्नु संसद् मान्ने दलको निम्ति न्यूनतम कुरा हो ।

जो भाग्छ, त्यो भगौडा हो । भगौडाहरु अवसरवादका प्रतीक हुन् । आयाराम गयारामहरु सबै पार्टीमा छन् । जनताले नचिन्दासम्म ती लोकप्रिय हुन्, चिनेपछि उनीहरुको पनि आयु सकिन्छ । जसरी एमालेका आयाराम गयारामहरुको सकियो ।

हिजो टनकपुर सन्धीलाई गिरिजाप्रसाद कोइरालाले ‘सन्धी होइन सम्झौता हो’ भन्दा के भएको थियो संसदमा ? संसदको अगाडि झूट बोल्न पाइन्न भनेर अडान यही पार्टीले लिएको थियो । आज जनताबाट निर्वाचित भएर आएका सांसदहरुको निश्कासन बिना बैठक बस्नै नसकिने तर्क राखेर वितण्डा मच्चाइराखेको देखिन्छ । पार्टीका निम्ति कामै नलाग्नेहरु हुन् भने यति धेरै चिन्ता र चासो केका लागि कमरेडहरु ? समाजवादी दल खोलेका सांसदहरु पनि जनताको मतबाटै निर्वाचित भएका हुन्, त्यसैले संसदीय विधि र पद्धति अनुसार उनीहरुलाई संसदमा बस्ने हक छ । त्यो हक सुरक्षित छ ।

रह्यो सभामुखको कुरो । हिजो आफू प्रधानमन्त्री हुनको निम्ति पार्टीको तल्लो कमिटीसँग कुनै विचारविमर्श गर्न जरुरी नठानी रातारात प्रचण्डसँग पार्टी एकता गर्दा सबै ठीक । अग्नि सापकोटा पनि ठीक । पुष्पकमल पनि क्रान्तिकारी । अझ एकै जेटका दुई चालक । जब ओलीको संसद विघटनविरुद्ध सभामुख उभिए, उनी कामै नलाग्ने, नाकाम । सार्वजनिक रुपमै सभामुखको मानमर्दन गर्दै हिँड्न स्वयम् प्रतिपक्ष दलका नेता ओलीदेखि पार्टीका सबै नेता, कार्यकर्तालाई कुनै असजिलो भएन ।

एमालेकै सांसदले ‘माइकले सभामुखको टाउको फोर्ने योजना थियो’ भन्नु कुन चाहिँ संसदीय मान्यता र न्यूनतम आदर्शको कुरा हो ? ओली गुटमा उभिनेवित्तिकै बाहुबलीहरुले जे गरे पनि चल्ने हो ? के उनीहरुले यो मुलुकको विधि विधान मान्नु नपर्ने हो ? जसले संसदका न्यूनतम आदर्श र मान्यताको पालना गरेको छैन, उसैलाई संसदीय मर्यादा चाहिनु कुनचाहिँ नौटंकी हो ?

ओली गुटले मुलुकमा भ्रष्टाचार संस्थागत गरेर आफ्ना गुटका बाहेक अरुलाई पार्टीमा टिक्न नदिने वातावरण बनाएको धेरै भैसक्यो । ओलीभक्तहरुले नाराबाजी गरेर संसदको वेल नाघ्न खोज्दा खल्तीमा हात हालेर गफ चुटेर बस्ने यी दश भाइको भविष्य पनि कुन कुनामा गएर ठोक्किने हो ? यसै धरमर छ ।

ओली स्वयम् आफूले गरेका संसदीय गल्तीहरु स्वीकार्न तयार छैनन्, असहमतहरुलाई पार्टीमा ठाउँ दिन तयार छैनन् । उनको पेलान सहेर राजनीतिक भविष्यका डरले लुत्रुक्क पर्न जानेहरुको पनि भविष्य धेरै लामो हुनेछैन नै । बरु आगामी महाधिवेशनमा पार्टीमा उनीविरुद्ध आवाज उठाउने अरु नेताहरुको पनि ‘कलमी’ हुनेछ ।

तिनीहरुलाई पनि माधव नेपाल बनाउने प्रयास हुनेछ । पार्टी भित्र हुर्काइएको यो अराजनीतिक चरित्रका कारण असल कार्यकर्ता बाहिरिँदै–बाहिरिँदै गएर पार्टी ठेकेदार, बिचौलिया र दलालहरुको हुनेछ । अहिले पार्टीभित्र हुर्किएको गुटवाद र अवसरवादको अन्तिम परिणति त्यही हुनेछ । समय लाग्ला तर हुने त्यही नै हो ।

यो ध्रुवसत्य देखेर बसिरहेको समाजवादी समूहको लागि आगामी बाटो सहज त किन हुन्थ्यो र ? चुनौती भोग्न तयार भएर रणसंग्राममा आएपछि भाग्ने छुट कसैलाई हुँदैन । जो भाग्छ, त्यो भगौडा हो । भगौडाहरु अवसरवादका प्रतीक हुन् । आयाराम गयारामहरु सबै पार्टीमा छन् । जनताले नचिन्दासम्म ती लोकप्रिय हुन्, चिनेपछि उनीहरुको पनि आयु सकिन्छ ।

एकीकृत समाजवादीहरुकै सक्रियतामा स्थापित भएको संसदीय सर्वोच्चतालाई जोगाउनु र एमालेले छोडेको वर्ग संघर्षको मुद्दालाई उठान गर्न नसके पुनःगठनको कुनै औचित्य रहँदैन । समाजमा चरमरुपमा देखापरेको अवसरवादलाई न्यून गर्नका निम्ति पार्टीको दृष्टिकोणमै स्पष्टता हुन जरुरी छ ।

जनसरोकारसँग जोडिएका मुद्दाहरुमा पार्टीको दृष्टिकोण र नेतृत्व तहमा बसेर हुनसक्ने काममा सक्रियता देखाउन सके जनताको विश्वास जाग्नेछ । रेल र पानी जहाजको हावा गफ गरेर आफ्ना गुटका मानिस भर्ति गर्ने पद्धति छोडेर भोकै भौँतारिएका मानिसलाई बिहान–बेलुकी खाना खुवाउने कार्यक्रम बरु जायज हुनसक्दछ । पार्टीको मार्गदर्शक सिद्धान्त र कार्यनीति सही हुन्छ भने जनताले एकदिन अवश्य बुझ्नेछन् र क्रान्तिको नयाँ झण्डालाई बोक्नेछन् । त्यो आत्मविश्वास विद्रोह गर्ने विद्रोहीहरुमा हुन जरुरी छ ।

संसारमा विद्रोह कहाँ सहज छ र ? दश हजार हतियारधारी सैन्य शक्ति भएका गोन्जालोको त यो हविगत भयो । अहिले उनको ‘साइनिङ पाथ’ मृतप्राय छ । त्यसको पुनःगठनको तत्काल कुनै सम्भावना देखिँदैन । गोन्जालो आफू शिखरको नेता त भए तर उनले अरु जन्माउन सकेनन् । संसदीय पद्धतिलाई क्रान्तिकारी तरिकाले उपयोग गर्ने र भुइँमान्छे, मजदुर, किसान र भूमिहीनहरुको मुद्दामा जवर्जस्त उभिने हो भने मुलुकको ठूलो संख्या समाजवादीको झण्डामुनि गोलबन्द हुनेछ ।

शिक्षा र स्वास्थ्यमा सबैको पहुँच हुनको निम्ति दलाल र माफियाहरुबाट खोसेर राज्यमातहत ल्याउन सके अझ उपयुक्त हुनेछ । जनताको अभिमत जित्न फेरि जनताकै खेत खलिहानमा रक्तरञ्जित झण्डा बोकेर जान समयले माग गरेको छ । क्रान्तिको पुनः आरम्भको मोर्चामा उभिन सक्नेहरुलाई इतिहासले पनि साथ दिनेछ । संसदीय अभ्यासमा कुटिल चाल र बदमासी मात्र होइन, इमान्दारीको पनि जित हुन्छ भन्ने जनताहरुलाई विश्वास दिलाउन सके जनताको मन जित्न सकिन्छ ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्