Logo
Logo

सरकारसँग गरेको सहमति तोड्ने विप्लवको चेतावनी



पोखरा । सरकारले आफूहरुसँग गरेको तीनबुँदे सहमति पालना नगरे त्यसलाई तोड्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चेतावनी दिएका छन् ।

आफ्नो पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै महासचिव चन्द्रले सरकारले पालना नगर्ने हो भने आफूहरु पनि तोड्न तयार रहेको चेतावनी दिएका हुन् । जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले अर्को शर्त थोपर्न खोजे वा घुमाउरो पारामा घेरा हाल्न खोजे प्रतिरोधका रुपमा सहमति तोड्न आफूहरु पनि तयार रहेको उनको भनाइ रहेको छ ।

पोखरामा बुधबारदेखि सुरु भएको अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु तीनबुँदेमा इमान्दार रहेको भए पनि सरकार इमानदार रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाए । सम्मेलनलाई सम्बोधन गर्दै चन्दले भने– ‘सहमति गर्ने लागू नगर्ने के हो यो ? के तपाईंहरु हामीलाई अर्को कुनै दबाबमा राख्न चाहनुहुन्छ ? अप्ठेरोमा पार्नपर्छ भन्ने ठान्नुहुन्छ ? हामीले तीनबुँदे गरेका छौं । त्यसमा इमान्दार छौं । शान्तिपूर्ण मान्न तयार छौं । तर, अर्को कुनै शर्त थोपरिन्छ भने, जेलका साथीहरुलाई छुटाउनका लागि कुनै घुमाउरो तरिकाले घेरा हाल्न खोजिन्छ भने घेरा तोडिदिन्छौं ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच फागुन २१ गते विप्लव नेतृत्वको पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्नेलगायत सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्