Logo
Logo

नेकपा एसको महासचिवमा बेदुराम र सचिवमा झाँक्री



काठमाडौं । नेकपा एकीकृत समाजवादीले महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाँक्रीलाई चयन गर्ने भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको स्थायी कमिटीको बैठकले भुसाललाई महासचिव चयन गर्ने सहमति भएको हो । एकीकृत समाजवादीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । आज बस्ने बैठकले केन्द्रीय कमिटि घोषणा गर्ने तयारी गरेको छ ।

पहिलो केन्द्रीय कमिटीको जारी बैठकमा स्थायी कमिटीले तय गरेको प्रस्ताव पेस हुने प्रचार विभाग प्रमुख जगन्नााथ खतिवडाले जानकारी दिए । उनका अनुसार नेकपा एकीकृत समाजवादीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७/७ जना हुनेछन् । त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको छ । सात सचिवमध्ये एक झाँक्री पनि हुनेछिन् ।

महासचिवमा राजेन्द्र पाण्डे, विजय पौडेल, प्रकाश ज्वालालगायतका नेताहरूले दाबी गरेका थिए । भुसाल एमालेमा रहँदा माधव नेपाल निकट भएर काम गरेका थिए । पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिँदै आएका भुसाल पछिल्लो विवादमा झन् बढी नेपाल निकट बनेका थिए । राष्ट्रियसभा सदस्यसमेत रहेका भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्