Logo
Logo

एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी बाँडफाँट (विवरणसहित)

३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटव्युरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी




काठमाडौं । नेकपा एकीकृत समाजवादीले सात जना उपाध्यक्ष चयन गरेको छ । ५ असोजदेखि ७ असोजसम्म बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सात जनालाई उपाध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल, तेस्रो मर्यादाक्रमको नेतामा मकुन्द न्यौपानेलाई राखिएको छ । यस्तै, बैठकले उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राईलाई बनाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले महासचिवमा डा. बेदुराम भुषाल, उपमहासचिव त्रयमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. बिजय पौडेल रहेका छन् । सचिवमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् ।

यस्तै, बैठकले ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटव्युरो कमिटी गठन गर्ने निर्णय गरेको प्रवक्ता एवं नवनियुक्त सचिव खतिवडाले बताए । केन्द्रीय कमिटीको सदस्य (पुर्ण र वैकल्पिक गरी) ३०१ सदस्यीय पुर्याइएको छ ।

प्रदेश र जिल्लाको इन्चार्जसमेत बैठकले तोकेको छ । बैठकले केन्द्रीय कमिटीबाहेक सबै तहको कमिटीमा दुई जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ । यस्तै, सम्पूर्ण तहको कमिटीमा एक तिहाइको संख्यामा महिला तथा युवा सहभागिता हुने निर्णय बैठकले गरेको छ ।

पार्टीको ‘तात्कालिक कार्ययोजना–२०७८’

बैठकले पार्टीको तात्कालिक कार्ययोजना–२०७८ पारित गरेको छ । प्रवक्ता खतिवडाका अनुसार नेपाली कम्युनिष्ट आन्दोलनमा हावी भएको दक्षिणपन्थी अवसरवाद र विसर्जनवादी प्रवृत्तिको भण्डाफोर गर्ने, पार्टीका नीति, सिद्धान्त र कार्यक्रमहरुको प्रचार प्रसार गर्ने कार्ययोजना रहेको छ ।

यसैगरी कम्युनिष्ट आन्दोलनका राम्रा र उपलब्धीमूलक विधि तथा परम्पराहरुको पुनर्जागरण गर्ने, तीन महिनाभित्र देशका सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य रहेको एकीकृत समाजवादीको छ । तीन महिनाभित्र विभिन्न तहका कमिटीहरुको गठन, पुनर्गठन, विस्तार, रुपान्तरण, सदस्यता वितरण तथा भेला, बैठक एवं छलफलहरुको आयोजना गरिने निर्णय भएको उनले बताए ।

केन्द्रीय परिषद्

बैठकले केन्द्रीय परिषद्मा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुनेगरी जम्मा ७०१ सदस्यीय हुने निर्णय गरेको छ ।

आयोग, विभागहरु तथा सल्लाहकार

पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने निर्णय बैठकले गरेको छ । ती आयोगहरु बढीमा ३५ सदस्यीय गठन गरिने छ । पार्टीमा गठन हुने विभिन्न विषयगत विभागहरु बढीमा २५ सदस्यीय हुनेछन् । केन्द्रीय सल्लाहकार कमिटी १५१ सदस्यीय गठन गरिनेछ भने ज्येष्ठ कम्युनिष्ट मञ्च १५१ सदस्यीय गठन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्