Logo
Logo

बजेट विधेयक प्रमाणीकरण, खर्च गर्ने बाटो खुल्यो



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बजेट विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्का दुवै सदनको बैठकबाट आज पारित बजेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए । राष्ट्रपतिबाट बजेट प्रमाणीकरण भएसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्ने बाटो खुलेको छ ।

संविधानको धारा ११३ को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम राष्ट्रपति भण्डारीले बजेट प्रमाणीकरण गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । उक्त बजेटको आकार १४ अर्ब ७४ करोड रुपैयाँले घटाउँदै वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए ।

वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक ल्याउन नसक्दा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति निम्तिएको थियो । अब भने त्यो समयमा हल भएको छ ।

प्रतिक्रिया दिनुहोस्