नक्कली पेँडा पसलेको पहिचान भइसक्यो « Drishti News – Nepalese News Portal
Logo

नक्कली पेँडा पसलेको पहिचान भइसक्यो


लक्ष्मण देवकोटा


अरस्तुले त्यसै भनेका होइनन्, सबैभन्दा राम्रो शासन गर्न सक्ने दक्षता भएकाले मात्र शासक हुने हैसियत राख्दछ । भर्खरै सातौँ संविधान दिवस धुमधामसँग मनाइयो । शासकहरुले शासितहरुका अघिल्तिर तोप पड्काएर संविधान दिवसको जयजयगान गरे ।

कोरोनाको कहरमा घरभित्र गुजुल्टिएका सर्वसाधारण भुइँमान्छेहरु खुट्टा तान्दै चिया पसलसम्म आइपुग्न नभ्याइसकेकाले होला, भुइँमान्छेहरुले खासै यो दिवसप्रतिको चासो, चिन्ता लिएकोजस्तो देखिएन । जनता जनार्दनलाई राम्ररी थाहा छ कि नेपालका औसत शासकहरुसँग सत्तामा नपुग्दासम्म जनताको निकै चासो रहन्छ । उनीहरुले देश दुनियाँ बदल्ने कुरा गर्दछन् । जब सत्तामा पुग्छन्, उनीहरुको बोली, लय र जीवन पूरै फेरिन्छ । देश बदल्न गएकाहरु आफैँ बदलिएका छन् गणतान्त्रिक नेपालमा ।

जनता पनि लगभग अभ्यस्त नै भइसकेका हुन् कि जस्ता देखिन्छन् । एकथरि छन्, जो नेताका फेर समातेर जसोजसो बोल्दा आफू अनुकूल हुन्छ, उसै बोलिदिन तयार हुन्छन् । पार्टीभित्र पनि आफ्नो नेता र आफ्ना दाइहरुको आज्ञाबमोजिम तिनका धारणा बन्छन् । अर्काथरि भुइँमान्छेहरु जो मतदानका बेला एक साँझको रमाइलो, एक हजारको नोट या भविष्यको सपनाका कारण निर्णय गर्न पुग्दछन् ।

मलाई यी दुवैथरि उस्तै लाग्दछन् । एउटा असक्षमले अर्को कमजोरमाथि शासन गरेको जस्तो ! जो सत्य र निष्ठामा बाँच्ने प्रयत्न गर्दछन्, उनीहरुलाई त जमिनदेखि पार्टी, गाउँदेखि शहर, घरभित्रदेखि घर बाहिर जताततै समस्या नै समस्या छन् । उनीहरु एक्ल्याइएका हुन्छन्, खाने खानेहरु मिलेर सकेसम्म पर्गेल्ने प्रयास गरेका हुन्छन् । तिनको जिन्दगी सधैँ विद्रोहमै बाँचेको हुन्छ ।

संविधान जतिसुकै राम्रो लेखे पनि के गर्नु ? पालनकर्ताले नै पालन गर्दैन भने ? ‘जसको लाठी उसको भैँसी’ भएको छ हामीकहाँ विधिविधान । पद्धति र नियमनका कुरा । नेपाली काँग्रेसको निर्वाचन पद्धति लोकतान्त्रिक छ तर गुटबन्दीले त्यहाँभित्रका इमान्दार र सोझा कार्यकर्तालाई बस्नखान दिएको छैन । नेकपा एमालेभित्रको भुर्तालो त जगत्ले देखेकै छ । सत्तापक्ष र प्रतिपक्ष दुवैको एउटा विशेषता के छ भने, उनीहरु दलभित्र आफ्नो गुटलाई बलियो बनाउन जुनसुकै तिकडम गर्न पनि बाँकी राख्दैनन् ।

पार्टीलाई जसरी पनि आफ्नो कब्जाबाट बाहिर जान नदिने रणनीतिमा छन् देउवा र ओली । फरक कित्तामा भए पनि मूल आदर्श भनेको साम, दाम, दण्ड, भेद सबैको प्रयोग गर्नु नै हो र जसरी भए पनि आफूले जित्नु नै हो । सत्ता प्राप्तिको निम्ति जस्तोसुकै शक्ति, जस्तोसुकै स्वार्थ समूहसँग पनि मिल्ने यी दुवैको रणनीति हो ।

जनताले संविधानको सातौँ वर्षउत्सवको दिपावली मनाइरहँदा यस बीचमा गणतन्त्रको लागि लड्ने दलहरुका गतिविधि र उनीहरुले गरेको क्रियाकलापलाई हेरियो भने काँशी जान हिँडेका नेताहरु कूति पुगिसकेको जस्तो देखिएको छ । धेरै टाढा जानै पर्दैन, घुस नखाने इमान्दार प्रहरीहरु संविधान दिवसमा सम्मानित भएको खबर पढ्न अभिषप्त छन् जनता ।

कर्मचारीहरु मालपोत कार्यालयमा घुस नदिनू भन्ने साइनबोर्ड टाँगेर बसेका देखिन्छन् । न उच्च शिक्षा, न पैतृक सम्पत्ति, न केही रोजगारको प्रबन्ध, नेताको चाकरीमा युवा करोडौं मूल्यका गाडी चढेर चौबीसै घण्टा तैनाथ देखिन्छन् । गाउँगाउँमा पुगेको सिंहदरबारले बालुवा, गिट्टी र चुनढुंगाका नाममा नाङ्गै बनाएका हाम्रा डाँडाकाँडाहरु हेरेरै बुझ्न सकिन्छ, यो मुलुकमा गणतन्त्रको फाइदा कसले लुटिरहेको छ भन्ने कुरा ? गाउँगाउँसम्म आफ्ना कार्यकर्तालाई ढुकुटी लुट्न खुलेआम छुट दिएर केन्द्रमा सक्दो लामो हात गर्ने कामको अगुवाइ नेताहरुले नै गरे । किन यतिकासम्म कोही भ्रष्ट नेता अख्तियारबाट दण्डित भएन ? किनभने, आफ्नो पाप पखाल्न अख्तियारमा ‘कारिन्दा’ भर्ति गरिएको छ ।

पार्टीहरु स्वयं अलोकतान्त्रिक भए र उनीहरुले अरुलाई लोकतन्त्रको शासन पढाउन थाले । चुनाव जित्नका लागि जसरी पनि जित्न सक्ने दलालहरु पार्टीमा माथि पुग्दै जाने प्रवृत्ति हाबी भयो । वार्ता र बहसमा लोकतन्त्रको मुटु हो भनेर भाषणचाहिँ गर्ने तर, व्यवहारमा आफू कसरी माथि पर्न सकिन्छ भन्ने दाऊ हेरेर बस्ने अभ्यासमा लागे नेताहरु ।

जनताहरु पनि आफू के गर्दा सुरक्षित भइन्छ, कुन पार्टीमा जाँदा आफूलाई पायक पर्ने ठाउँमा सरुवा मिल्छ ? के गरेमा ठेक्कापट्टा आफ्नो हातमा आउँछ त्यस्तो दाऊ हेर्न थाले । समाजका अगुवाहरु नै दलालीमा लागेपछि समाजमा कस्ता मानिसहरुले शासन गर्दछन् ? यी दिनहरुमा ह्वाङ्गै देखियो । काँग्रेसीहरु त पहिल्यैदेखि चिनिएकै थिए, उनीहरुलाई पनि एककदम पछाडि पारेर बहुदलीय जनवादका हिमायतीहरु राज्य दोहनमा लागेको पनि यही आँखाले टुलुटुलु हेर्न विवश छ ।

अख्तियार खल्तीमा, राज्यको ढुकुटीको साँचो आफ्नै खल्तीमा, संवैधानिक निकायका मुख्यहरु आफ्नै खल्तीका हुँदै थिए, सम्मानित राष्ट्रपतिजस्तो संस्थालाई समेत बदनाम गरेर हुर्मत लिने काम कम्युनिष्टहरुले गरे । आफू मिल्न नसक्ने तर संसद्लाई असमयमै विघटन गरेर गाईजात्रा देखाउन थालियो । व्यवस्थालाई पंगु बनाएर जसले यो मुलुकलाई अस्थिरताको खाल्डोमा जाक्यो, उही यतिखेर देशलाई स्थिरता दिन चुनावको नारा लगाइरहेको छ ।

निर्वाचन कसका लागि ? केका लागि ? के हाम्रो जस्तो विपन्न र दलाली व्यवस्थाबाट ग्रस्त जमिनका जनताहरुलाई सही निर्णय लिनसक्ने वातावरण छ ? राजनीतिकरूपमा खुला हुनै नसकेका र व्यवस्थाका भाटहरुबाट दबाइएर राखिएका यी जनतालाई स्वतन्त्ररूपमा निर्णय गर्न सक्ने वातावरण तयार नहुँदासम्म कसरी स्वच्छ परिणाम निस्कन्छ ।

प्रलोभन, दबाब र हरेक हथकण्डाहरुको कारण संसदीय व्यवस्थालाई केवल आफू र आफ्नाहरुलाई मोटाउन हाल्ने विधिको रूपमा विस्तार गर्न खोजिएको छ । चाहे मधेशका मसिहा भन्नोस् या धर्मभिरुको आवरणमा देखिने धर्मरक्षकहरु हुन् या गुटगत राजनीतिको आडमा आफूलाई दुःखी गरिबका मुक्तिदाता ठान्नेहरु नै किन नहोऊन्, यिनीहरुको भित्री आशय आफू र केवल आफ्नो गुट राजनीतिको शीर्षाशनमा पुग्नुबाहेक केही पनि छैन ।

त्यसो त रामवरण यादवले ठिकै भनेका हुन्, प्रतिपक्ष नै अनुपस्थित यो संविधान दिवस सन्की शासकहरुले संविधान मिचेर, संविधानका छिद्रहरुमा छिरेर, गर्नु÷नगर्नु सबै गरेर पनि नसकेर बाँचेको हुनाले यो संविधानलाई स्थायित्व हुन नदिनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मतियार हुन तयार देशको सर्वोच्च संस्थाका प्रमुखको ठूलो हात छ ।

देउवाका आफ्ना कमजोरीहरु छन्, नभएका होइनन् तर बहुमतको शासनमा संविधानकै हुर्मत लिने कुकर्म भएकाले मुलुक यो अवस्थामा आइपुगेको हो भन्ने पनि बिर्सनु हुँदैन । आफैँले बध गरेको संसद्भित्र गएर तिनै वधकर्ताहरुले कस्तो संसदीय मर्यादा खोजेका होलान् ? यहीँनेर प्रश्न उब्जन्छ कि हामीहरुले असक्षमहरुलाई नै सक्षम ठान्ने गल्ती त गरेका रहेनछौँ ? पुनः एकपटक सचेत नागरिकहरुले सोच्नुपर्ने भएको छ ।

संभवत सबैभन्दा धेरै मतदाता भएका नेपालका कम्युनिष्ट भनिएकाहरुले यो कुराको जवाफ दिनुपर्छ कि कागजमा लेखिएका कुराहरुलाई व्यवहारत उतार्ने कुरामा किन उनीहरु असक्षम भइरहेका छन् ? किन समृद्ध नेपालको नारालाई बीच बाटोमै छोडेर गुटको राजनीतिमा नेतृत्व अलमलिएर असहमत विचारहरुको कत्लेआम गर्न अझै पनि एमाले गुट उद्दत छ ।

विद्रोही पक्षलाई धारेहात लगाउन त सजिलो छ तर त्यो अवस्थाको सिर्जना गर्न असहमत आवाजहरु नसुन्ने अलोकतान्त्रिक पद्धति पनि उत्तिकै जिम्मेवार छ । पार्टी त मिलाएर लैजान नसक्नेले के संविधानको रक्षा गर्न सक्ला ? बरमझियाको नक्कली पेँडा पसलेको पहिचान भइसकेको छ । अब सक्कली पेँडा सबैले चिन्नुपर्दछ । दलालै दलालको गन्जागोजलमा यो काम सजिलो भने पक्कै छैन ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्