काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो । एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको पदाधिकारी बैठकमा सदस्यता टुंगो लाग्न बाँकी रहेका जिल्लाको विवाद तत्काल टुंगो लगाउने र दसैंअघि सबै जिल्लाको वडा र पालिका तहको अधिवेशन गर्ने समझदारी बनेको छ । संस्थापन पक्षले हिमाली २१ जिल्लाका सबै तहको अधिवेशन दसैंअघि नै सम्पन्न गर्ने र अन्य जिल्लामा तिहारपछि मात्र अधिवेशन गर्ने प्रस्ताव राखेको छ ।
तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ ।
हिमाली जिल्लाका तल्लो तहका सबै अधिवेशन दसैंअघि नै सक्ने निर्णय भएको जानकारी दिँदै सहमहामन्त्री प्रकाशशरण महतले अन्य जिल्लाको अधिवेशन भने दसैंपछि मात्र हुने बताए ।
बाँकी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैंपछाडि मात्र हुँदा त्योभन्दा माथिको कार्यतालिका पनि प्रभावित हुनसक्ने बताउँदै महतले भने, ‘प्रदेश अधिवेशन त अब तिहारको पछाडि पुग्ने नै भयो। केन्द्रीय महाधिवेशन माघरफागुन होइन, कति समय आवश्यक पर्छ, हेरेर सर्न सक्छ।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।











