Logo
Logo

रिहा भएलगत्तै ह्वावेइकी उच्च अधिकारी चीन फिर्ता



काठमाडौं । क्यानडामा पक्राउ परेकी चिनियाँ टेलिकम कम्पनी हुवावेकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौतालगत्तै चीन फर्किएकी छन् ।

ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन् । ठगीको आरोपमा पक्राउ परेकी ह्वावेइका संस्थापककी छोरी वान्जूलाई क्यानडामै नजरबन्दमा राखिएको थियो । वान्जू पक्राउ सँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो ।

सम्झौतापछि शुक्रबार अमेरिकाको विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उनी रिहा भएकी हुन् । वान्जूको पक्राउको बदलामा चीनले क्यानडेली नागरिकहरूलाई पक्राउ गरेको थियो ।

चीनले त्यसलाई अस्वीकार गर्दै आएपनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोले चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्कँदै गरेको बताएका छन् । वान्जू पक्राउ परेलगत्तै उनीहरूलाई जासुसीको आरोपमा चीनले पक्राउ गरेको थियो ।

‘यो समय मेरो जीवनमा निकै विध्वंसात्मक रह्यो यसले मेरो जीवनमा निकै उथल पुथल ल्याएको छ’ क्यानडामा थुनामुक्त भएपछि उनले सम्वाददाताहरूसँग भनिन्, ‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । विश्वभरका मानिसहरूबाट प्राप्त शुभेच्छाहरूलाई म कहिल्यै बिर्सने छैन ।’

एएफपी समाचार संस्थाका अनुसारलगत्तै वान्जू एयर चाइनाको विमानमार्फत सेन्जेन सहर फर्किएकी थिइन् । वान्जूलाई छुटाउन अमेरिका र चीनबीच भएको सम्झौताको विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन् । दुई देशका कूटनीतिज्ञबीचको समझदारीबाट त्यसको टुङ्गो लगाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्