Logo
Logo

गाउँपालिका अध्यक्षद्वारा वडाअध्यक्षमाथि हातपात !



भोजपुर । भाेजपुरकाे साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले वडा अध्यक्षमाथि हातपात गरेको आरोप लागेकाे छ । वडा नम्बर–२ कुलुङका वडाअध्यक्ष मानबहादुर खत्रीले पालिका अध्यक्ष राईले आफूमाथि हातपात गरेको ओरोप लगाएका हुन् ।

वडा नं-२ स्थित अस्थायी कोभिड अस्पताल तथा कुलुङ स्वास्थ्य चौकीमा कार्यरत डा. भविन्द्र कार्कीले तलब भत्ता नपाएको विषयमा पालिका अध्यक्ष राई र वडाअध्यक्ष खत्रबीच विवाद भएको हो ।

गाउँपालिका अध्यक्ष महेश राई र वडाअध्यक्ष मानबहादुर खत्री

गत वैशाखदेखि तलब नपाएको भन्दै बुधबार डा. कार्की राजिनामा दिन गाउँपालिकाकाे कार्यालय चाैकीडाँडा पुगेका थिए । उनीसँगै वडाअध्यक्ष खत्री, वडा नं. १ र २ का केही युवाहरु पनि पालिका कार्यालय पुगेका थिए । तर, अध्यक्ष राई भेटिएनन् ।

पालिकामा अध्यक्ष राई र प्रमुख प्रशसकीय अधिकृत चिरनजिवि तिवारी नभेटिएपछि युवाहरु टयाक्टरबाट फर्किए भने वडाअध्यक्ष खत्री मोटरसाइकलमा फर्किए । फर्कने क्रममा ककुवा खोलानिजकै पालिका अध्यक्ष राईले आफूमाथि हातपात गरेको खत्रीको भनाइ छ ।

वडा अध्यक्ष खत्रीले भने, ‘ककुवा खोला नजिकै आइपुगेपछि कुलङबाट चाैकीडाँडा जाँदै गरेका एउटा जिप भेटियो, जिप आएपछि साइड दिन बाइक रोके, बाइक रोकेकै ठाउँमा जिप रोक्यो, बाटो अफ्ठ्योरो भएकाले बाइक कसरी कटाउने भनेर बाटाेतिर हेरिरहेका थिए, एक्कासी छातिमा समात्यो, यसो हेरको त महेश दाइ पो हुनुहुदो रहेछ ।’

अध्यक्ष राईले आफूलाई गालीगलाैज गरेपनि चोट भने नलागेको खत्रीले बताए । उनले भने, ‘गाडीभित्रबाटै ड्याङड्याङ डुङडुङ गर्न थालेपछि हात खुस्काएर भागे । उहाँलाई ड्राइभरले समातेको थियो, उहाँले चाहिँ मलाई छाड यहिँ सिध्याउनु भन्दै गालीगलौज गर्नुभयो ।’

नेकपा एमाले भोजपुरले पनि अध्यक्ष राईमाथि कारबाही गर्न माग गर्दै आएको छ । विज्ञाप्ति जारै गर्दै एमालेले भनेको छ- ‘जनताका समस्या प्रति उत्तरदायी र जवाफदेही बन्नुको सट्टा वडा अध्यक्षलाई हातपात गर्दै हिड्ने कुन असल जनप्रतिनिधिको परिचय हो रु यस्तो व्यवहार गर्ने गाउँपालिका अध्यक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउन समेत माग गर्दछौँ ।’

तलब पाइनँ, पालिका अध्यक्षले थर्कायाे’

डा. कार्कीले भने आफूले गत वैशाखदेखि तलब नपाएको बताएका छन् । गत माघ २ गते आफू साल्पासिलिछो आएको बताउँदै उनले भने, ‘फागुन र चैत्रमा चाहिँ तलब पाएँ, वैशाखयता पाएको छैन ।’ पालिकासँग जम्मा २ लाख ८० हजार लिन बाँकी रहेको डा. कार्कीले बताए ।

आफूले तलब भत्ताबारे कुरा राख्दा अध्यक्ष राईले ‘सरकारी पैसा खान सजिलो छैन, काम गरे गर, जाने भए जाँ’ भन्दै थर्काएको सुनाए । उनले आफूले राजीनामा दिइसकेको र पालिकाबाट स्वीकृत हुन बाँकी रहेको बताए ।

अब पालिकामा काम गर्ने नसक्ने डा. कार्कीको भनाइ । उनले भने, ‘पालिका अध्यक्षजस्तो मान्छे वडाअध्यक्षलाई त हातपात गर्नुहुन्छ भने भोलि हामीलाई गर्दैनन् भन्न सकिँदैन, पालिकाले राजीनामा अस्वीकार गरेपनि पनि अब काम गर्न सकिँदैन ।’

उनले स्वास्थकर्मीहरुले व्यक्तिगत २५/२५ हजार उठाएर स्वास्थ्यचौकीको लागि औषधि किनेर विरामीको उपचार समेत गरेको जानकारी दिए ।

‘घटनालाई राजनितिकरण गर्न खोजियाे

यता गाउँपालिका अध्यक्ष राई भने वडाध्यक्ष खत्रीमाथि कुटपिट नगरको बताएका छन् । उनले डाक्टर कार्की र वडाध्यक्ष खत्रीले विषयलाई अनावश्यक राजनीतिकरण गरेको पनि बताएका छन् । अध्यक्ष राईले भने,‘ हामीबीच खास त्यस्तो ठूलो विवाद भएको होइन, घटनालाई राजनितिकरण गर्न खोजिएको मात्र हो । यो बाहिर आउनुपर्ने विषय होइन् ।’

उनले वडाध्यक्ष खत्रीको टोली दुईवटा ट्याक्टरमा सवार भएर गाउँपालिकाबाट फर्किने क्रममा बाटोमा भेट भएको र आक्रोशित भएर वडाअध्यक्षमाथि ठूलो स्वार गरेकाे स्वीकारे । तर, आफूले कुटपिट गरेको कुरा झुटो भएको उनले दाबी गरे ।

‘तलब दिने कुरामा हामी तयार नै छौँ । तर कति दिने भन्ने कुरामा छलफल भइरहेको छु,’ उनले भने, ‘हाम्रो प्रशासकीय अधिकृत फेरिएकाले खातामा हस्ताक्षर फेर्दैछौँ । डाक्टरलाई कार्यपालिकाबाट पास गरेर तलब दिने गरेका थियौँ। अहिले गाउँपालिकामा अडिटको समय भएकाले कार्यकारी अधिकृत व्यस्त हुनु भएको छ । डाक्टरको मात्रै होइन, यहाँका शिक्षकहरुको पनि तलब गएको छैन।’

उनले वडाध्यक्ष खत्री दुईवटा ट्याक्टरमा अन्य सहयोगीसहित र आफू एक्लै रहेको बेला बाटोमा भेट हुँदा कुटपिट असम्भव रहेको बताए । उनले भने ‘म त मेरो परिवारसहित बाटोमा एक्लै थिएँ, वडाध्यक्ष खत्रीसँग ५०/६० जना मानिस थिए। त्यस्तो अवस्थामा म एक्लैले कसरी कुट्न सक्नु ? ‘

वडाअध्यक्ष खत्रीले शुक्रबार इलाकमा प्रहरी चौकी कुलुङमा उजुरी दिएका छन् । ‘ज्यान मार्न उद्दोगको मुद्दा चलाइ पाउँ भनेर निवेदन दिएको खत्रीले बताए । चौकीमा छलफलको लागि शनिबार झिकाएतापनि कांग्रेको अधिवेशले गर्दा छलफल लागि आइतबार सारिएको छ ।

राई कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् भने खत्री नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्