Logo
Logo

कर्णाली सुनको टुक्रा हो : मुख्यमन्त्री शाही



डोल्पा । जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समयअघिमात्रै निर्माण सम्पन्न भएको थियो ।

जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइएको दलित आवासीय विद्यालयको समेत उद्घाटन गरे।

गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकाले सदुपयोग गर्न जान्नुपर्ने बताए । कर्णालीका प्रचुर सम्भावनाको सरकारले पहिचाहन गरिरहेको उल्लेख गर्दै उनले आफू नेतृत्वको सरकार कर्णालीको भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको बताए ।

त्यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले नै यहाँका जनताको भविष्य सुनिश्चित गर्नेमा जोड दिए । त्यस्तै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली आनन्द प्राप्ति गर्ने भकारी भएको बताए ।

भवन उद्घाटन कार्यक्रममा सरिक हुन मुख्यमन्त्री शाही, अर्थमन्त्री शर्मा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, पूर्वमन्त्री भण्डारी, प्रदेशसभा सदस्य बद्मीक्वारी बोहोरालगायत अथिति हेलिकोप्टरबाट जगदुल्ला पुगेका थिए ।

स्थानीय सरकार र सङ्घीय सरकारको साझेदारीमा रु साढे चार करोड लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए ।

मुख्यमन्त्री शाही, मन्त्री बुढा र अध्यक्ष रोकायलाई ४० किलोको मालाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर शाही, पूर्वमन्त्री नरबहादुर बुढा, प्रजिअ माधवप्रसाद ढकाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्