Logo
Logo

भारतमा आज ७१ स्थानका लागि मतदान हुँदै, चुनावी प्रचारमा बलिउड सेलिब्रेटी


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, १६ बैशाख (एएनआई) । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको आज मतदान भइरहेको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि मतदान भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटर मार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् । उनले युवावर्गले मतदानमा भाग लिएर मुलुकको भाग्य बदल्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।
निर्वाचन आयोगका अनुसार, बिहारमा पाँच, जम्मु काश्मिरमा एक, झारखण्डमा तीन, मध्यप्रदेश र उडिसामा ६–६, महाराष्ट्रमा १७, राजस्थान र उत्तर प्रदेशमा १२–१२ तथा पश्चिम बंगालमा आठ स्थानमा चुनाव हुँदैछ । त्यस्तै, उडिसामा ४२ स्थानको विधान सभाका लागि पनि मतदान हुँदैछ ।
यस चुनावमा बिहारको बेगुसराय निर्वाचन क्षेत्र निकै चर्चामा छ । यहाँ भारतीय कम्युनिष्ट पार्टीका तर्फबाट युवानेता एवं प्रखर वक्ता कन्हैया कुमार र भारतीय केन्द्रीय मन्त्री गिरिराज सिंह तथा आरजेडीका तनवीर हस्सनबीच प्रतिस्पर्धा हुँदैछ । सुप्रसिद्ध बलिउड कलाकारहरु जाभेद अख्तर, शबाना आज्मी, स्वारा भास्कर र प्रकाश राज समेत कन्हैयाका पक्षमा चुनावी प्रचारमा बेगुसरायमा छन् । जम्मु काश्मिरको अनन्तनाग लोकसभाका लागि चुनाव जारी छ । यहाँ ४३३ वटा मतदान केन्द्र राखिएका र करिब ती लाख ४४ हजारले मतदान गर्ने विश्वास गरिएको छ ।
मतदानका क्रममा सामान्य हिंसाका घटना भएको सञ्चार माध्यमहरुले जनाएका छन् । तर समग्रमा चुनाव शान्तिपूर्ण रुपमा भइरहेको प्रहरी प्रशासनले जनाएको छ ।
यसअघि अप्रिल २३ मा भएको तेस्रो चरणको चुनावमा १४ राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ११६ स्थानका लागि मतदान भएको थियो । तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता रहेका थिए । यस्तै गत अप्रिल १८ मा भएको दोस्रो चरणको निर्वाचनमा ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ९५ स्थानका लागि मतदान भएको थियो ।
यसैगरी, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९.४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्