Logo
Logo

राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’


- दृष्टि न्युज/संवाददाता


दुल्लु, १६ वैशाख । सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् ।
सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा डिला संग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले समुदायको व्यथा सुनाउन थालेका छन् ।
‘बर्खा लाग्न थाल्यो, बस्तीमा खाद्यान्न संकटको पीडा त्यतिकै छ, सरकारले दिने महीनाको दुई हजार रुपैयाँले महीनाभरी प्राण धान्न मुस्किल हुन्छ’, उनले भने, ‘सरकार हामीलाई पाल र खाद्यान्न देऊ ।’ ‘बर्खा लाग्नेबेला भइसक्यो, अब त हामीलाई पाल चाहिन्छ, उनले भने । मुखिया शाहीले प्रतिनीधिसभा सदस्य डा संग्रौलामार्फत सरकारसँग बर्खामा पाल र आवश्यक खाद्यान्न व्यवस्थापन गरिदिन माग गरे ।
काठबाट कलात्मक सामग्री निर्माण गरेर त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका राउटे समुदायका अवस्था नियाल्दै प्रतिनीधिसभा सदस्य डा संग्रौलाले भने, ‘मुलुक नयाँ युगमा प्रवेश गरिसकेको छ, पुर्नजागरणको युगमा प्रवेश गरेको छ तर राउटे समुदायको अवस्था हेर्दा अहिले पनि ढुंगे युगमा छन् ।’ लोपोन्मुख जातिको रुपमा रहेका राउटेलाई संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले उनीहरुलाई परिवर्तन गराउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।
‘नयाँ बस्ती बसालेर शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्छ, उनले भने, ‘यो समुदायलाई यही ढुंगे युगमा छोड्नु हुँदैन् ।’ सांसद डा संग्रौलाले राउटे समुदायलाई कसरी रुपान्तरण गर्ने भन्ने विषयमा ठोस् कदम चाल्न सरकारलाई आग्र्रह गरे ।

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर मात्र नहुने बताउँदै डा संग्रौलाले उनीहरुलार्ई सामाजिकीकरण गर्नका लागि शिक्षामा जोड दिनुपर्ने बताए । राउटे बस्तीमा हाल ४६ घरपरिवार छन् । जम्मा एक सय ४६ जनाको संख्यामा रहेको राउटेले यसअघि जंगलमा बाँदर र गुनाको शिकार गरेर छाक टार्ने गरेका थिए । तर, पछिल्लो समय जंगली जनावर नै पाउन छाडेपछि समस्या भएको उनीहरू बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्