मन्डीबजारमा मदन-आश्रितको व्यापार « Drishti News – Nepalese News Portal
Logo

मन्डीबजारमा मदन-आश्रितको व्यापार


लक्ष्मण देवकोटा


जनताको बहुदलीय जनवादको बँचेखुचेको ढुकढुकीलाई दुई पटकसम्म संसद् विघटन गरेर समाप्त पार्ने खड्गप्रसाद ओली नेतृत्वको एमाले गुटलाई फेरि जननेता मदन भण्डारीको बेस्सरी याद आउन थालेको रहेछ । मदन भण्डारीको मात्र कहाँ हो र, सँगसँगै आफ्नो गुटबाहेक बाँकीको अस्तित्व अस्वीकार गर्ने उनैलाई अर्का कुशल संगठक जीवराज आश्रितको पनि याद आइरहेको छ ।

नेकपा एमालेको वडा तहसम्म विभाजन गरेर पार्टीलाई तहसनहस पार्ने ओली गुटलाई कमरेड मदन र जनताको बहुदलीय जनवाद ‘गजब’ प्रचारको सामग्री भएको छ । कुनै बेला जबजको सैद्धान्तिक सन्दर्भमा प्रश्न गरेर दलाल पूँजीवादको चर्को विरोध गर्ने र ओली प्रवृत्तिविरुद्ध आगो ओकल्ने घनश्याम भुसालहरुसमेत घुमिफिरी रूमजाटार पुगेपछि कम्युनिष्ट आन्दोलनमा नयाँ शिराबाट बहसको आरम्भ शुरुवात गर्नुपर्ने भएको छ ।

ओली सत्तारोहणको उत्थान र पतनले एउटा कुरा भने छर्लङ्ग पार्यो, कम्युनिष्ट जागरणको खेती गर्नेहरुमध्ये अधिकांशले मौका पाए पैसा कमाए आफूलाई केन्द्रमा राखेर गर्नु नगर्नु गरे । त्यो प्रवृत्तिले आफू शक्तिशाली भइरहनुपर्ने, आफूले संविधान, नियम कानून मिचे पनि हुने, अयोग्यलाई योग्य भनिदिए पनि हुने तर, अरुले भने पूर्णत कानून, संविधान पालन गरेको हुनुपर्ने । रक्तक्रान्तिको बलिबेदीमा जनताका छोराहरुलाई चढाएर आफूले भने राज्यको कोषको पैसा खर्च गरेर भए पनि बाँचिरहनुपर्ने गजबको सोच र चिन्तनले नेपाली कम्युनिष्ट भनिएकाहरुको असली अनुहार उदांगो पारिदियो ।

अर्काथरि विद्रोही भनिएका अवसरवादीहरुको झुण्ड जो स्वार्थका निम्ति इमानजमान सव त्वंशरणम गरेर केवल आफ्नो राजनीति जोगाउने फगत व्यक्तिगत मनोकांक्षाका निम्ति ओलीको पैतालामुनि निहुरिन तैयार भए, यो चरम धोकेबाज प्रवृत्तिको ओलीराजमा उदाए ।

गतिशील विचारलाई धर्मग्रन्थ बनाउनेहरुले मदन भण्डारीको अपमान गरिरहेका छन् । कम्युनिष्ट आन्दोलनका नाममा यिनीहरु बाँचिरहे ‘जबज’ चपाएर निल्नेछन् । त्यसैले अर्को पार्टी खोलेर गएका माधवकुमार नेपालहरुको काँधमा फेरि पनि जबज जोगाउँदै मदनले देखेका सपना पूरा गर्नुपर्ने जिम्मेवारी आइलागेको छ ।

यी दुवै चरित्र नेपाली कम्युनिष्ट आन्दोलनका नाममा देखिएको वास्तविक चित्र र चरित्र हो । देखाउनका निम्ति मदन–आश्रित छँदैछन्, भन्नका निम्ति जबज छँदैछ, यी अहंकारी जसले मदन भण्डारीको मूल मर्मलाई नै चपाएर निलिसके, अर्काथरि अवसरवादीहरु जो आफू बाँचिरहन बिचैमा धोकेबाज निस्किए, यिनीहरु दुवैका कारण न जबजको प्राण रहने भयो, न कम्युनिष्ट आन्दोलन जोगिने भयो !

सोभियत संघको विघटनपश्चात नेपालजस्तो गरिब मुलुक, उत्पीडनमा परेकाहरुको आवाज दबाइएको परिवेशमा शोषितपीडितहरुको राज्यमा शान्तिपूर्ण तरिकाले विजयप्राप्त गरी समाजवादी व्यवस्थाका खातिर जबर्जस्त कार्यक्रमको सपना जबजले देखेको थियो । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाजस्ता जनताका सरोकारका मुद्दामा सीमित पहुँचवाला वर्गको होइन, सबैको हैसियत पुग्ने सपना मदन भण्डारीले देखेका थिए । यसको वैशिष्टयता भनेकै सार्वभौम संसद्को माध्यमबाट शासन गर्नु थियो ।

चुनाव त छिमेकी मुलुक भारतका नेपालसँग नाका जोडिएको उत्तर प्रदेश, बिहारमा पनि भइरहेको छ । विकासका नारा र ब्यालेटबाट कस्ता–कस्ता अनुहारहरु शासक वर्गमा रूपान्तरण भइरहेका छन् भन्ने कुरा त हाम्रै आँखाले देखिएकै छ । तीन वर्षको अवधिको ओलीराजले साम, दाम, दण्ड, भेदको पूर्णत उपयोग गर्दै मदन र आश्रितको नाममा फेरि आँसूको व्यापार गर्ने निश्चित छ ! विडम्बना त, आफूलाई सत्य, निष्ठाको सिपाही ठान्ने एमालेको कार्यकर्ताले उभिएर एउटा प्रश्न गर्ने ल्याकात किन राख्दैन, ‘कमरेड ओली संसदीय सर्वोच्चतालाई जबजको मूल प्राण मान्ने विचारको अनुयायी ठान्ने तपाईंले किन आफूले संसद् विघटन गर्नु गलत थियो भनेर स्वीकार्नु हुन्न ?’

घनश्याम र योगेशहरुलाई कोर्रा लगाउँदै ओलीले अझ हजार फेर संसद् विघटन सही थियो भन्नेछन् । सामुदायिक वन, विद्यालय, बाटोको उपभोक्ता समितिदेखि राज्यका माथिल्ला तहसम्म सबैतिर भय र धम्कीको वातावरण बनाएर पनि गलत कर्मलाई अनुमोदन गर्ने सक्दो प्रयास हुनेछ ।

इतिहासले फेरी सत्य भन्नेछ, मदन भण्डारीले कल्पना गरेको कम्युनिष्ट पार्टीको बाटो यस्तो हुँदै होइन । संसदीय सर्वोच्चतालाई अस्वीकार गर्ने जनताको बहुदलीय जनवादी हुनै सक्दैन !

यो गतिशील विचारलाई धर्मग्रन्थ बनाउनेहरुले मदन भण्डारीको अपमान गरिरहेका छन् । कम्युनिष्ट आन्दोलनका नाममा यिनीहरु बाँचिरहेसम्म जबज चपाएर निल्नेछन् । त्यसैले अर्को पार्टी खोलेर गएका माधवकुमार नेपालहरुको काँधमा फेरि पनि जबज जोगाउँदै मदन भण्डारीले देखेका सपना पूरा गर्नुपर्ने जिम्मेवारी आइलागेको छ । एकीकृत समाजवादी पार्टीले जबजको माध्यमबाट सिंगो मुलुकलाई समाजवादको यात्रामा लैजानुपर्ने छ । अनि मात्र मदन भण्डारीको सपना पूरा हुनेछ ।

जननेता मदन भण्डारीले अत्यन्तै विश्वास गर्ने र आफू जीवित हुँदासम्म पार्टीको महत्वपूर्ण जिम्मेवारी सुम्पने माधव नेपालले मदन भण्डारीसँग बिताएका ती क्षणहरु सम्झँदै जबजको खोले ओढेर घ्यू खाने कमरेडहरुलाई सडकमा ल्याएर पछार्नैपर्छ । कम्युनिष्ट पार्टीभित्र फलामे अनुशासन कायम गर्दै विधि, पद्धतिसम्मत ढंगले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्नैपर्छ । त्यसका लागि माधव नेपालको पछाडि लाखौं एमाले कार्यकर्ता तयार छन् ।

विदेशी शक्तिको आडमा नेपालको कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न पार्ने केपी ओली प्रवृत्तिलाई जनताले आगामी चुनावमा देखाइदिनेछन् । आजका जनता, नेता, कार्यकर्ता ०१७ सालका होइनन्, ०७८ सालका हुन् भन्ने कुरा ओली गुटले हेक्का राख्नैपर्छ । नेकपा एमालेलाई छिन्नभिन्न पारेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र स्वाभिमान कमजोर पार्ने ओली गुटलाई परास्त गर्नैपर्छ । त्यसका लागि जनता जागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्