Logo
Logo
एमाले विधान महाधिवेशन

एमालेमा उमेर हदम्याद कायमै, ७० नाघेपनि ओली नै अध्यक्ष हुने !



काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्याद कामय राखेको छ । तर, उक्त व्यवस्थाको व्याख्या चाहिँ अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुनेगरी गरिएको छ । यो सँगै १०औं महाधिवेशनबाट पुनः ओली नै अध्यक्ष हुने बाटो खुलेको छ ।

विधान महाधिवेशनमा प्रस्तावित विधानमा एउटा कार्यकारी पदमा दुई पटकभन्दा बढी बस्न नपाउँने र ७० वर्षे उमेर हदम्याद राख्ने उल्लेख गरिएको थियो । विभिन्न समूहमा भएको छलफल र आएको सुझाव पश्चात विधान संशोधन प्रस्ताव पेश गरेका उपमहासचिव विष्णु पौडेलले दुवै प्रस्ताव कायम नै रहने बताए ।

एउटा कार्यकारी पदमा एक व्यक्ति दुईपटक भन्दा बढी बस्न नपाउँने बताउँदै उनले उमेर हदम्यादबारे समेत बोलेका छन् । ७० वर्षे उमेर हदम्यादबारे पौडेलले भने, ‘७० वर्षे उमेर हदम्याद कायम नै छ । ७० वर्ष नपुग्दै कोही कुनै पदमा निर्वाचित भए उसले आफ्नो अगामी कार्यकाल पुरा गर्न पाउँछ, बीचमा ७० वर्ष पुगेमा विश्राम लिनु पदैन् ।’

समूहगत छलफलबाट आएको सुझाव पश्चात हाँस्दै जवाफ दिएका पौडेलले भने, ‘कमरेडहरुले बुझ्नुभयो होला ।’ पौडेलसँगै हलमा उपस्थिति प्रतिनिधि पनि हाँसे । उनको आशय, ७० वर्षे उमेर हदको यो व्याख्या अध्यक्ष ओलीको अनुकल हो भन्ने सबैले बुझेका छन् ।

एमालेभित्र कार्यकारी पदमा दुईपटक मात्र जिम्मेवारी निर्वाह गर्न पाउँने र ७० वर्ष उमेर हदको व्यवस्था राख्नुपर्ने सुझाव आएको थियो । तर ७० वर्षे उमेर हदम्यादको कुरा उठेपनि कार्यकालको बीचमै ७० वर्ष नाघे के गर्ने भन्ने बिषयमा कुनै व्यवस्था थिए । त्यसैले यस बिषयलाई नेताहरुले आफूअनुकुल व्याख्या गर्दै आएका थिए । अब यो बिषय विधानमै उल्लेख भएपछि ओलीलाई अगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुन र पाँच वर्षे कार्यकाल पूरा गर्न कुनै बाधा हुने छैन् ।

अध्यक्ष ओली ६९ वर्षका भइसकेका छन् । २००८ फागुन ११ गते जन्मेका ओली चार महिनापछि ७० वर्षका हुने छन् । तर आगामी मंसिरमा महाधिवेशन गर्ने र, फेरि अध्यक्ष बन्ने उनको योजना छ । ओलीकै योजना, चाहनाअनुसार विधानमा ७० वर्षे व्यवस्था र व्याख्या गरिएको छ । विधानमा गरिएको ७० वर्षे उमेरहदको नयाँ परिभाषाले अब ओली अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भएर पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।

एमाले नेताहरुका अनुसार एमालेको सातौं महाधिवेशनमा उमेर हदबारे बहस सुरु भएको थियो । आठौंमा अधिकतम उमेर हद तोक्ने सहमति जुटेको थियो । तर सहाना प्रधानका लागि मात्र लागू हुने देखिएपछि अन्तिम समयमा फिर्ता लिइएको थियो । यसपटक पनि ओलीलाई पुनः अध्यक्ष बनाउने योजनासहित उमेरहदको थप व्याख्या गरिएको हो ।

एमालेले नवौं महाधिवेशनबाट भने ७० वर्ष उमेर हद तोक्यो । त्यही प्रावधानअनुसार भरतमोहन अधिकारी र सिद्धिलाल सिंह सहितका नेताले सक्रिय राजनीतिबाट बिदा लिए । तर २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउँदा ७० वर्षे उमेर हद हटाइएको थियो ।

२३ फागुन २०७७ को सर्वोच्चको फैसलापछि पुनस्र्थापित एमालेले फेरि ७० वर्षे उमेर हद ब्युँताएको छ । ७० वर्ष मात्र भन्दा फेरि अध्यक्ष हुन लागेका ओलीमाथि प्रश्न उठ्ने भएकाले उनलाई अनुकूल हुनेगरी नै विधानमा परिभाषा गरिएको छ ।

यी सामग्री पनि अध्ययन गरौं–

प्रतिक्रिया दिनुहोस्