Logo
Logo

विश्वभर फेसबुकसहित तीन एप्स डाउन



काठमाडौं । विश्वभर फेसबुक अवरुद्ध भएको छ । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक विश्वभर डाउन भएका हुन् । सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जनाएको छ ।

मार्क जुकरबर्गले स्थापना गरेको फेसबुकमा किन समस्या आयो र कहिलेबाट यसको सेवा सुचारु हुन्छ भन्ने केही खुलाइएको छैन । फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटरमार्फत सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका छन् । ‘माफ गर्नुहोला, केही समस्या देखिएको छ ।

हामीले यसमा काम गरिरहेका छौं,’ प्रवक्ता एन्डी स्टोनले ट्विटरमा लेखेका छन्,‘चाँडै समस्याको समाधान हुनेछ ।’ सर्भिस डाउन हुनेबित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ ।

यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको जनाइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले विश्वभर नै यी तीनवटै एप्सले पूर्ण रूपमा काम गर्न छोडेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्