Logo
Logo

एभरेस्ट प्रिमियर लिग : चितवनको च्याम्पियन शैली



काठमाडौं । कमलसिंह ऐरीको सानदार बलिङ र भीम सार्कीको अर्धशतकमा चितवन टाइगर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलो पटक ईपीएल उपाधि जितेको हो । चितवनले शनिबार फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराएको थियो । आकर्षक ट्रफीसहित विजेता चितवनले ५० लाख रुपैयाँ पुरस्कार जितेको छ । पोखराले उपविजेता हुँदा १५ लाख रुपैयाँ पुरस्कार पाए ।

चितवन टाइगर्स राउन्ड रोबिन लिग र क्वालिफायरमा दुवै पटक पोखरालाई पराजित गर्दै फाइनल पुगेको थियो । दुवै खेल चितवनले समान ९ विकेटले जितेको थियो । शनिबार फाइनलमा पनि चितवनले त्यही प्रभाव कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिएको थियो ।

‘पोखरालाई फाइनल पुग्नुअघि दुई पटक हराइसकेकाले उनीहरूलाई हामीले कमजोरका रूपमा लिएका थिएनौं । फाइनल भनेको नयाँ खेल, नयाँ सिनारियो हो । त्यसैले हामीले सहज लिएका थिएनौं । यसअघि जस्तो खेलेका थियौं त्यस्तै खेल्ने हो भन्ने थियो, आखिरमा त्यस्तै भयो,’ चितवनका प्रशिक्षक श्यामसन जंग थापाले भने ।

चितवनले टस जितेपछि ब्याटिङमा आएको पोखरा राइनोज १७।५ ओभर खेल्दै १ सय ११ रनमै अलआउट भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भीमले ४४ बलमा ६३ रन बनाएपछि चितवन १५.५ ओभरमै लक्ष्य पूरा गर्न सफल भयो । उनले ७ चौका र २ छक्का प्रहार गरे । भीम आउट भएपछि आएका कप्तान सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरेका थिए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्