Logo
Logo

उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा



काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् । २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका छन् ।

उनले भनेका छन्, ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बा​ध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको बताएका छन् ।

उनले भने, ‘कसलाई नभनी राजीनामा दिए शेरबहादुर देउवाले राजीनामा स्वीकृत गर्नुहुन्न । मैले मिडियामा भनेपछि उहाँलाई स्वीकृत गर्न बाध्यता हुन्छ ।’

मन्त्री हमालको सचिवालयका अनुसार राजीनामाका लागि उनी प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्