Logo
Logo

माधवलाई धोका दिएवापत पाएको ‘बक्सिस’ गुमाउँदै



तस्बिर साभारः अनलाइनखबर

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । शाक्य नेकपा (एमाले)बाट गत भदौ २ गते मुख्यमन्त्री भएका हुन् । एमाले विभाजन भएका कारण अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो ।

पार्टी विभाजनको क्रममा तत्कालीन वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई धोका दिएर अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएपछि शाक्यले ‘बक्सिस’ स्वरुप पाएको मुख्यमन्त्री गुम्ने पक्का भएको छ ।

एमाले एक हुँदा लामो समय तत्कालीन वरिष्ठ नेता नेपाललाई साथ दिँदै आएका शाक्य पार्टी विभाजनको अन्तिम समयमा नेपाललाई धोका दिएर ओली समूहमा समाहित भएका थिए । तर एमाले विभाजनपछि वागमती प्रदेश सरकार नै अल्पमतमा पर्यो । त्यसपछि शाक्यको पद धरापमा परेको हो ।

वागमती प्रदेशसभाको बैठक आज ३ बजे बस्दैछ । मुख्यमन्त्री शाक्यका तर्फबाट विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । गत शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद सचिवालयका सचिव कृष्णहरि खड्कामार्फत दर्ता गराएका थिए ।

सचिव खडकाका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकले गर्ने निर्णयका आधारमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रिया अगाडि बढ्नेछ । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

गत भदौ २७ गते एमाले विभाजन तथा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको विवरण सहितको पत्र संसद् सचिवालयमा दर्ता भएपछि मुख्यमन्त्री शाक्य आधिकारिक रुपमा अल्पमतमा परेकी थिइन् ।

जसो गर्दा सरकार नजोगिने
वागमती प्रदेशकी मुख्यमन्त्री शाक्य संसदमा अल्पमतमा परेकी छन् । उनी आवद्ध एमाले विभाजन भएपछि उनी अल्पमतमा परेकी हुन् । त्यसकारण उनले संसदबाट विश्वासको मत पाउँने अवस्था देखिदैन् ।

वागतमी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ वटा दल रहेका छन् । वागमती प्रदेशसभामा एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका १ सांसद रहेका छन् ।

विभाजन हुनुअघि एमाले सांसदको संख्या ५६ रहेको थियो । तर एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि एमालेको सांसद संख्या ४३ जनामा खुम्चिएको हो । साना दलले यस अघि नै तटस्थ बस्ने बताइसकेका कारण शाक्यलाई आफ्नो सरकार बचाउँन समस्या छ । साना दलहरु विवेकशील साझा, नेमकिपा र राप्रपा तटस्थ बस्दा शाक्यलाई थप १२ मत आवश्यक पर्ने देखिन्छ । तटस्थ बस्ने साना दलसँग ७ जना सांसद रहेका छन् ।

वागमती प्रदेशमा जम्मा १०९ जना सांसद रहेका छन् । सरकार बनाउँनका लागि ५५ सांसद आवश्यक पर्छ । तर एमालेसँग ४३ जना सांसद मात्रै छन् । पाँच दलीय गठबन्धनको सांसद संख्या ५९ रहेको छ । त्यसैले वागमती प्रदेशमा पाँच दलीय गठबन्धनकै सरकार बन्ने निश्चित छ ।

वागमती प्रदेशमा माओवादी केन्द्र, नेपाली काँग्रेस, एकीकृत समाजवादी र जसपाको संयुक्त सरकार बन्ने निश्चित छ । गठबन्धन सरकारको नेतृत्व एकीकृत समाजवादी वागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले गर्ने सहमती भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्