Logo
Logo

परराष्ट्रले पत्र काटेपछि एनआरएनए विश्व सम्मेलन स्थगित



काठमाडौं । गैरआवासीय नपाली संघ (एनआरएनए)को पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित भएको छ । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १०औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो ।

प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटकसम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरि सो विश्व सम्मेलन स्थगित गरिएको हो । एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहले प्रतिनिधि चयनमा विवाद रहेको दावी गर्दै परराष्ट्रमा उजुरी दिएका थिए । सो उजुरीपछि परराष्ट्रले दुई पटकसम्म एनआरएनएलाई पत्र काटेको थियो ।

पछिल्लो पत्रमा संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगर्ने अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि मन्त्रालयले प्रश्न उठाउँदै नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो । पत्रमा संघको कुनै राष्ट्रिय समितिमा विद्यार्थीहरु सदस्य बनेका छन् भने त्यसको पुनरावलोकन गर्नु भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्