Logo
Logo

कर्णालीमा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुने



काठमाडौं । कर्णाली प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र)को तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीले कात्तिक १० गते भित्रमा राजीनामा दिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन् । गत बैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । एमालेले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सरकार जोगाउनका लागि आन्तरिक सहमतिअनुसार उनले सत्ता हस्तानान्तरण गर्नुपर्ने हुन्छ ।

आन्तरिक सहमति के भएको थियो ?

कर्णाली प्रदेशमा माओवादी केन्द्रका नेता शाही मुख्यमन्त्री छन् । एमाले समेतको समर्थनमा सरकार निर्माण भएको थियो । पछि दुई पार्टीबीच एकीकरण भयो । एमाले र माओवादी केन्द्रबीच विवाद चर्किएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपरेको थियो ।

एमालले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाहीलाई गत बैशाख ३ गते कांग्रेसले समर्थन गरेर सरकार जोगाइदियो । विश्वासको मत लिने बेलामा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मतदान गरेपछि उनीहरु कारबाहीमा परेका थिए ।

त्यही समयमा माओवादी केन्द्र र कांग्रेसबीच एक गोप्य सहमति भएको थियो । सो सहमतिअनुसार कातिक १० गतेअघि मुख्यमन्त्री शाहीले कांग्रेसलाई सत्ता हस्तानान्तरण गर्नुपर्ने हुन्छ । दुई दलका बीच भएको सहमति दुवै दलका नेता स्वीकार गर्छन् ।

कांग्रेसका सचेतक हिमबहादुर शाहीले आफूहरुका बीचमा कात्तिक १० पछि कांग्रेसले मुख्यमन्त्री पाउने सहमति भएको बताए । विश्वासको मत दिनुभन्दा अघि दुई दलका बीचमा भएको सहमतिअनुसार अब कांग्रेसले मुख्यमन्त्री पाउने उनले बताए ।

माओवादी केन्द्रका प्र्रमुख सचेतक ठम्मरबहादुर विष्ट आफूहरु बीचमा सहमति भएको स्वीकार गर्छन् । तर, अहिलेको अवस्था बदलिएकाले केन्द्रीय स्तरमा गठबन्धनका बीचमा हुने सहमति नै कार्यान्वयन हुने उनले बताए ।

‘आफूहरुका बीचमा कात्तिक १० पछि सरकार छोड्ने र विश्वासको मत दिने कांग्रेसलाई सहयोग गर्ने सहमति सही हो । तर, अहिलेको अवस्था बदलिएको छ । त्यतिबेला हामी आन्दोलनमा थियौँ । अहिले त पाँच दलीय गठबन्धन बनेकाले केन्द्रमा हुने सहमति नै यहाँ पनि कार्यान्वयन हुन्छ’ विष्टले भने ।

अहिलेको सहमतिअनुसार सातमध्ये ठूला दलले दुई–दुई प्रदेशमा मुख्यमन्त्री पाउने र साना दलले एक प्रदेशमा मुख्यमन्त्री पाउनेछन् । प्रदेश २ मा जसपाको सरकार छ । कांग्रेसको गण्डकीमा मात्रै सरकार छ । एकीकृत समाजवादीले प्रदेश १ र वागमती सरकारमा मुख्यमन्त्री पाउने शीर्ष नेताहरुबीच सहमति भएको छ ।

माओवादी केन्द्रको अहिले कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा सरकार छ । कांग्रेसको एकमात्र प्रदेशमा सरकार भएकाले उसले पुर्व सहमतिअनुसार कर्णालीमा सरकार बनाउन सक्ने विष्टले बताए । तर, वागमती, सदुरपश्चिम प्रदेशमा कांग्रेसले सरकार बनाउन माग गरेकाले कर्णालीको हकमा पूर्व सहमति लागू नहुन सक्ने विष्टको भनाइ छ ।

तर, कांग्रेसले कुनै एक प्रदेशमा सरकार बनाउन सक्ने शीर्ष नेताहरुबीच छलफल जारी छ । अब कांग्रेसले कुन प्रदेश लिने र कुन प्रदेशमा कसले छोड्ने भन्ने बिषय शीर्ष नेताहरुबीच हुुने सहमति कर्णाली प्रदेशका नेताले कुरेर बसेका छन् ।

कर्णाली प्रदेशको अंक गणित यस्तो छ :

कर्णाली प्रदेशमा माओवादी केन्द्रको १२ जना सांसद छन् । यस्तै, कांग्रेसको ६, एकीकृत समाजवादीको ३, एमालेको १२ र राप्रपाको १ जना सांसद रहेका छन् ।

४० जना सांसद रहेको कर्णाली प्रदेशमा एमालेका ४ जना र माओवादी केन्द्रका एक जना कारबाहीमा परेकाले अहिले ३४ जनामात्रै सांसद रहेका छन् ।

पाँच दलीय गठबन्धनभित्र २१ जना सांसद रहेका छन् । सरकार बनाउन १८ जना सांसद भए पुग्छ । यस आधारमा कर्णालीमा सरकार परिवर्तन भएपनि पाँच दलीय गठबन्धनकै सरकार बनाउन समस्या छैन् ।

प्रतिक्रिया दिनुहोस्