Logo
Logo

एमालेका तेस्रो धारको पीडा : ‘हामीलाई दास र गुलामजस्तो व्यवहार गर्न थालियो’



काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

तर, गत असार २७ गते पार्टी एकताका लागि भएको १० बुँदे सहमति कार्यान्वय नभएपछि बैठकमा चर्काचर्की हुने भएको छ । बैठकको एजेण्डासमेत १० बुँदे सहमति नबनेको र हिजो एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सो सहमति ‘अर्थहीन’ भएको टिप्पणी गरेपछि पार्टीभित्रको विवाद थप चर्किने भएको छ ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने देशैभरीको वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, पार्टीको १०औँ महाधिवेशन, हालै भएको अविरल बर्षाका कारण भएको जनधनको क्षतिसहित समसामयिक बिषयका बारेमा छलफल हुने एजेण्डा रहेको तामाङले बताए ।

तेस्रो धारका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन् । पार्टी अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्दा पार्टीभित्र तिव्र विवाद चर्किदै गएको छ । एमालेभित्र विवाद चर्किएको बेला तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका स्थायी कमिटीका १० सदस्य सोही सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता ओलीले गरेपछि एमालेमै फर्किएका थिए । तर, पछिल्लो समय ओलीले १० बुँदे कार्यान्वयन नगर्ने स्पष्ट गरिसकेपछि थप विवाद चर्किने संकेत देखिन्छ ।

यस्तै, हालै सम्पन्न विधान महाधिवेशनमा ७० बर्षे उमेर हदम्यादको बारेमा गरिएको व्याख्याको बारेमा समेत विवाद कायम रहेको छ । तेस्रो धारका नेताहरुले सो व्याख्याप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

आज बस्ने बैठकमा यि बिषयको बारेमा खुलेर छलफल हुने तेस्रोधारका एक स्थायी कमिटी सदस्यले बताए । अध्यक्ष ओलीले पार्टीभित्र सामुहिक छलफलको पद्धति मिचेर व्यक्तिवादी निर्णय लाद्न खोजेको र आफूहरुलाई ‘दास, गुलाम’जस्तो व्यवहार गर्न थालेको आरोप तेस्रोधारका नेताहरुले लगाइरहेका छन् ।

१० बुँदे सहमति कार्यान्वयनको बिषयमा अध्यक्ष ओली, तेस्रोधारका नेतासहित शीर्ष नेताहरुका बीचमा पटक पटक छलफल भएको छ । तर, अध्यक्ष ओलीसहित उनी पक्षीय नेताले सो सहमति कार्यान्वयन नगर्ने भनिसकेका छन् । सहमति कार्यान्वयन नहुँदा तेस्रो धारका नेताहरु जिम्मेवारीविहिन भएका छन् । सार्वजनिक कार्यक्रममा समेत ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने उदघोष गर्दै आएका छन् ।

बुधबार एक कार्यक्रममा ओलीले पुनः १० बुँदे सहमति कार्यान्वयन नहुने उद्घोष गरेपछि तेस्रो धारका नेताहरु आक्रोशित भएका छन् । आक्रोशित तेस्रोधारका नेताहरुले बैठकमै आफ्ना कुरा राख्ने तयारी भएको छ ।

अध्यक्ष ओलीले बुधबारको एक कार्यक्रममा कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ् नगर्न’ चेतावनी दिएका थिए ।

‘हामीले आन्तरिक अनेकता होइन, एकतामा जोड दिनुपर्छ । हिजो कता के भयो ? यो १० बुँदे । केके जाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन । १० बुँदे १० बुँदे, १० बुँदे, १० बुँदे …। यो पनि धेरै रेटिरहन आवश्यक छैन । मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क ! अब कति बजाउने १० बुँदे ट्याङट्याङ …? माधव आउँछन् कि भनेर १० बुँदे गरेको । अब के १० बुँदे, १० बुँदे ?’ ओलीले भने ।

ओले अगाडि थपेका थिए, ‘हाम्रो पार्टी, हामीले बनाएको पार्टी अलिअलि साथीहरूले बाटो बिराउनुभएको होला । फर्केर आउने काम गर्ने सिद्धियो त ! हामीले भनेका छौं । माधव नेपालको कुरा बेग्लै हो । माधव नेपालसँग झुक्किएर गएका बाटो बिराएकालाई पनि फर्क भनिरहेका छौं हामी ! कुनै भेदभाव गर्दैनौं, आऊ । योग्यताअनुसार कमिटीमा बस्ने, जिम्मेवारी लिने, जहाँ राख्न मिल्छ राख्ने । कुनै आग्रह छैन, तर माधव नेपाललाई नो इन्ट्री !’

१० बुँदे सहमति कार्यान्वयन गर्ने गराउने अध्यक्ष ओलीले पटक पटक यस्तो अभिव्यक्ति दिएपछि सो सहमति गर्ने संयोजकमध्ये एक उपाध्यक्ष भीम रावलले सार्वजनिक रुपमा आपति जनाएका छन् ।

रावलले ओलीको उक्त भनाईप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयनको विकल्प नभएको चेतावनी दिएका छन् ।

रावलले संस्थागत भइसकेको विषयमा ओलीले विवाद उत्पन्न गर्न खोजेको जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा बुधबार साँझ लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन, पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो । यसको धून संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

तर, अध्यक्ष ओलीले आफ्नो मन्तव्यमा १० बुँदेको औचित्य सकिएको आशय मात्रै व्यक्त गरेनन् । उनले पार्टीभित्र अझै ‘माधव प्रवृत्ति’ कायमै रहेको भन्दै तेस्रो धारका नेताहरुलाई माधव प्रवृत्ति त्याग्न चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्