Logo
Logo

भारतले जयनगर–जनकपुर रेलमार्ग नेपाललाई हस्तान्तरण गर्‍यो



काठमाडौँ । भारतले जयनगर–जनकपुर रेलमार्ग नेपाललाई हस्तान्तरण गरेको छ । भारतले नेपालतर्फको खण्डलाई न्यारो गेजबाट ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट गरेपछि नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको हो ।

भारतले सन् २०१४ बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार गर्न थालेको थियो । शुक्रबार आयोजित कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवलाई रेलमार्ग हस्तान्तरण गरे ।

२०७५ सालमा नै जनकुपर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम सकिएको थियो । सरकारले ३४ किलोमिटरको उक्त रेलमार्ग २०७५ सालमा नै सञ्चालनमा आउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक कारण देखाउँदै अझैसम्म सञ्चालनमा भने आउन सकेको छैन । नेपालसँग रेल सञ्चालन गर्नका लागि अहिलेसम्म कानुन नै छैन । यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भइसकेको छ ।

कुर्था–जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३८० करोड खर्च भएको भारतले बताएको छ । भारतले कुर्थादेखि बिजलपुरासम्म २०० करोड खर्चेर बाँकी खण्डको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्