Logo
Logo

प्रधानमन्त्रीको प्रश्न, ‘राष्ट्रपतिले कसको सरकार भन्ने त ?’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई विवादमा तान्नु खोजिएको बताएका छन् ।

शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिको भनाईलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास हो ।’ उनले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुलाई अन्तर्राष्ट्रिय अभ्यास भएको समेत बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित भएको र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको हो ।’
‘राष्ट्रपतिले कसको सरकार भन्ने त ?’ प्रधानमन्त्रीले सम्पादकहरुसँग प्रश्न गरे, ‘यो सरकारको नीति कार्यक्रमभन्दा खेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ?’
प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तर्राष्ट्रिय अभ्यासको विरोध गर्नु भनेकोे आफैले स्थापना गरेको प्रणालीको उपहास गरेको ठहरिने बताए । प्रधानमन्त्री ओलीले भने, ‘मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तर्राष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्यौँ भनेको वा हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौँ कि आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो ?’ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्