Logo
Logo

सभामुख महराले हेरे लिम्बू फिल्म ‘केःसाङ्ला’ (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ बैशाख । सभामुख कृष्णबहादुर महराले शनिबार राजधानीको कमलपोखरीस्थित बिग सिनेमामा लिम्बू भाषाको फिल्म ‘केःसाङ्ला’ हेरे । हल क्षमताभन्दा झण्डै डबल दर्शकबीच फिल्म आधा हेरेपछि बाहिरिएका उनले भाषा नबुझेर पनि रामाइलो लागेको प्रतिक्रिया दिए ।


लिम्बू संस्कृतिमूलक ‘केःसाङ्ला’को च्यारिटी शोमा प्रमुख अतिथिका रुपमा विग सिनेमा पुगेका सभामुख महराले भने, ‘लिम्बू समुदायको कला र संस्कृति बोकेको फिल्म भएर पनि कसैको सहयोगार्थ च्यारिटी शो गर्नु आफैमा सह्रानीय कार्य हो ।’ उनले भाषिक तथा जातीय फिल्महरुले नेपालको वास्तविक संस्कृति उजागर गर्ने पनि बताए ।
लोकेन साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङ्ला’ झापास्थित कमल गाउँपालिकाका मृगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको सहयोगार्थ विशेष च्यारिटी गरिएको हो । च्यारिटी शोबाट संकलित रकममध्ये खर्च कटाएर शनिबार नै मृगौलापीडित निर्मललाई १ लाख ६४ हजार २०५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।


यसअघि हङकङ र मोरङमा प्रिमियर गरिएको यो फिल्म राजधानीमा पहिलोपटक च्यारिटी शो गरिएको हो । मृगौलापीडित लागि च्यारिटी शो भएकाले दर्शकको भीड लागेको थियो ।
फिल्मका निर्देशक लिम्बूले मनोरञ्जनसँगै सामाजिक काममा सक्रियता बढाउन च्यारिटी शो गरिएको बताए । उनले भने, ‘मृगौला रोगीको सहयोगका लागि आज सबैको साथ जुटेको छ ।’ चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल आदिवासी सांसद एलपी साँवा लिम्बू, जनजाति महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पा, निर्देशक नविन सुब्बालगायत पनि फिल्म हेरेका थिए ।


फिल्ममा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । फिपरानी तुम्बाहाम्फे, विष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाम्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ । यो फिल्म चाँडै हुन गइरहेको ‘आदिवासी फिल्म फेस्टिवल–२०७६’मा समेत छनोट परेको निर्देशक लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्