Logo
Logo

मासिँदै रत्यौली


- दृष्टि न्युज/संवाददाता


सांकेतिक फोटो । यो फोटो समाचारसँग सम्बन्धीत छैन ।

गलेश्वर, २२ वैशाख । धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् ।
प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् ।
बेनी नगरपालिका–२ का ८४ वर्षीय बेदप्रसाद शर्माले भने, ‘केही वर्षअघिसम्म हरेक विवाह, ब्रतबन्ध, चाडपर्व र उत्सवमा भजन, चुट्का, बालन गाउने, संगिनी नाचलगायतका कलाको रमझम हुन्थ्यो । तर आजभोलि धेरैजसो धार्मिक उत्सव तथा समारोहमा मौलिक संस्कृति पस्किनुको साटो आधुनिक गीत, सङ्गीत र नृत्यको प्रस्तुति गरिन्छ । जसले गर्दा नेपाली मौलिकता र जीवन संस्कृति नै लोप हुँदै गएको छ ।’
आधुनिकताका नाममा भित्रिएका पश्चिमा संस्कृतिको प्रभावले हाम्रो देशका मौलिक कला संस्कृति नै छायाँमा पर्ने मात्र होइन, लोप नै हुने स्थितिमा पुगेका स्थानीय वयोवृद्धले बताएका छन् । भजनकीर्तनमा पौराणिक कथाका पात्रको महिमा तथा चरित्रलाई वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ । पहिलेको समयमा मनोरञ्जनका माध्यम बनेका हाम्रो मौलिकतालाई बोकेका यस्ता भजनकीर्तनको रौनकताले मनमा शान्ति र आनन्द मिल्ने पुरानो पुस्ताको अनुभव छ ।
धार्मिक तथा सामाजिक परिवेशसँग जोडिएका यी संस्कृतिप्रति नयाँपुस्ता परिचित नहुँदा लोप हुने अवस्थामा पुगेका खबराका भद्रबहादुर कार्कीले बताए ।
दुलाहाकी आमा र दिदीबहिनीलाई प्रतिकात्मकरूपमा व्यंग्यको पात्र बनाएर महिला पुरुषको भेष बनाई गाइने रत्यौलीको ठाउँमा हिजोआज हिन्दी र नेपाली चलचित्रका गीत गाइन थालेको छ ।
यसरी परम्परागत संस्कृति र जीवनशैलीमाथि बेवास्ता गर्दा आउँदो पुस्ता नेपाली मौलिकता र सांस्कृतिक तथा परम्परागत जीवन पद्धतिसँग बेखबर रहनुपर्ने अवस्था आउने हो कि भन्नेमा सरोकारवाला चिन्तित छन् । रासस

प्रतिक्रिया दिनुहोस्