Logo
Logo

कांग्रेस अवैधानिक पार्टी भइसक्यो, १४औं महाधिवेशन अझै अनिश्चित



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस अवैधानिक पार्टी भएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार तोकिएको समयसीमा भित्र महाधिवेशन गर्न नसकेर कांग्रेस अवैधानिक पार्टी भएको हो ।

ऐनको दफा १६ मा संघीय र प्रदेश तहका समितिसम्बन्धी व्यवस्था छ । जुन व्यवस्थाअनुसार पाँच वर्षमा कम्तीमा एक पटक केन्द्रीय समिति र प्रदेश तहमा रहने प्रदेश समितिको निर्वाचन गर्नुपर्ने हुन्छ ।

तोकिएकै समयभित्रमा महाधिवेशन गर्न नसकेको कांग्रेसलाई निर्वाचन आयोगले दफा ५४ अनुसार ५० हजार जरिवाना गर्न सक्छ ।

विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसक्ने भएमा विधानमा व्यवस्था भए बमोजिम आयोगलाई जानकारी गराई त्यस्तो अवधि पूरा भएको मितिले ६ महिनाभित्र पदाधिकारीको निर्वाचन गर्नु पर्नेछ ।

कांग्रेसको १३औं महाधिवेशन काठमाडौंमा २०७२ फागुन २० देखी २४ गते सम्पन्न भएको थियो । राजनीतिक दलसम्बन्धीको ऐनअनुसार थपिएको ६ महिनामा पनि कांग्रेसले महाधिवेशन गर्न सकेको छैन । गत साउनमै कांग्रेसले वैधानिकता गुमाईसकेको छ ।

‘दलको संघीय तहमा रहने केन्द्रीय समिति तथा प्रदेश तहमा रहने प्रदेश समितिमा प्रत्येक पदाधिकारीको निर्वाचन दलको विधानमा व्यवस्था भए बमोजिम प्रत्येक पाँच वर्षमा कम्तीमा एक पटक गर्नु पर्नेछ’ राजनीतिक दलसम्बन्धी ऐनको दफा १६ मा उल्लेख गरिएको छ ।

२०७२ फागुन २०–२४ मा १३औं महाधिवेशन गरेको कांग्रेसले १४औं महाधिवेशन ६ महिना थपेर भए पनि गत साउनमा सक्नुपथ्र्यो । तर पटक–पटक गरी महाधिवेशन सार्दै आएको कांग्रेसले आउँदो मंसिरमा तोकिएको मिति समेत सार्ने आन्तरिक सहमति गरिसकेको छ । तर, सार्वजनिक भने गरेको छैन ।

पटकपटक गरी पाँचपटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी गरेको छ । तर, कहिले महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसभित्र औपचारिक छलफल भने सुरु हुन सकेको छैन । कांग्रेसले यसअघि गत साउनमा ९ देखि १३ मंसिरसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो ।

यसैबीच, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा केही दिन महाधिवेशनको मिति सार्दैमा केही नबिग्रने बताएका छन् । यसको अर्थ कांग्रेसले केही दिनमै महाधिवेशनको मिति सार्ने निर्णय सार्वजनिक गर्नेछ ।

कांग्रेस उच्च स्रोतका अनुसार अब मंसिरका लागि तय महाधिवेशन माघमा गर्ने कि वैशाखमा भन्ने विषयमा सभापति देउवा निकट नेताहरूले आन्तरिक छलफल चलाएका छन् । उनीहरूले स्थानीय तहको निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने विषयलाई पनि अघि सार्ने भएका छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन ३१ वैशाख २०७४ मा भएको थियो । प्रदेश २ मा भने सबैभन्दा पछि २ असोज २०७४ मा स्थानीय तहको निर्वाचन भएको थियो । संविधानअनुसार पाँच वर्षभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्छ । नसकिएको अवस्थामा ६ महिना थप्न सकिन्छ ।

महाधिवेशन अझैं लम्ब्याउँदै जाने विषयमा कांग्रेस भित्रको संस्थापनइतर समूह भने तयार देखिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन समूहलाई दबाब दिँदै आइरहेका छन् ।

निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मितिसमेत अब प्रभावित हुनेछ । कांग्रेसले प्रदेश तहको अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तय गरेको छ ।

यस्तै, १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुन सकेको छैन । रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको छैन ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रदेश र केन्द्रको पूर्वनिर्धारित मितिसमेत अब सार्नुपर्ने अवस्था आइसकेको र निर्धारित मितिमा महाधिवेशन गर्न नभ्याइने बताए ।

यादवले १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु नभएकाले प्रदेश अधिवेशन र मंसिरका लागि तोकिएको महाधिवेशन सर्ने निश्चित भएको जनाएका हुन् ।

‘६४ जिल्लामा मात्र वडा अधिवेशन भएको छ । १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुन सकेन । तीन जिल्लाका क्रियाशील सदस्यको नामावली अझै निर्वाचन समितिलाई आएको छैन । यस्तो अवस्थामा महाधिवेशन तोकिएको मितिमा हुँदैन, यो सम्भव छैन ।,’ यादवले भने ।

पछिल्लोपटक निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन भदौ १८, गाउँ/नगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज ५ मा हुने उल्लेख थियो ।

यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने उल्लेख छ । यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ ।
निर्वाचन समितिले १३ हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ । २१ हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने भनिए पनि कार्यतालिका मिचेर भए पनि १३ जिल्लामा जिल्ला अधिवेशन भएको थियो ।

यसैगरी, वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा अधिवेशनको मिति अनिश्चित छ । प्रदेश २ का ८ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन गर्न अझै बाँकी छ ।

वैधानिकता गुमिसक्यो : रामचन्द्र पौडेल


कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको विधान र देशको संविधानअनुसार महाधिवेशन गर्न नसक्दा कांग्रेसको वर्तमान केन्द्रीय समितिले वैधानिकता गुमाइसकेको बताएका छन् ।

पौडेलले पार्टी विधान र मुलुकको संविधानअनुसार पार्टीको हालको केन्द्रीय कार्यसमितिले वैधानिकता गुमाइसकेको र कांग्रेस पार्टी निर्वाचन आयोगको निगाहामा बाँचेको बताएका हुन् ।

‘पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल चार वर्ष तोकिएको छ । असाधारण अवस्थामा एक वर्ष थप गर्न पाइन्छ । अहिले त्यो समय नाघेर संविधानले दिएको समय पनि नाघिसक्यो । केन्द्रीय समितिले वैधानिकता गुमाइसक्यो । कांग्रेस निर्वाचन आयोगको निगाहामा बाँचेको छ’, पौडेलले भने ।

संविधानले राजनीतिक दलले पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था निर्धारित गरेको तर पार्टीको विधान मात्रै नभएर संविधानले तोकेको समयमा पनि महाधिवेशन हुन नसक्नु दुःखद भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्