Logo
Logo

नारायणकाजी र मातृकाको गुटबन्दीले माओवादी अस्तव्यस्त



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक, सांगठनिक निर्णय विपरितका काम गर्ने जोसुकैलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन् ।

माओवादी केन्द्र प्रदेश २ का पदाधिकारी र केन्द्रीय सदस्यहरुको काठमाडौंमा चलेको दुई दिनसम्मको विशेष बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र गुटबन्दी गर्ने र पार्टी निर्णय विपरितका काममा संलग्न जोसुकै नेता कार्यकर्तालाई पार्टीले कारवाही गर्ने स्पष्ट पारेका छन् ।

‘पार्टीको राजनीतिक, सांगठनिक निर्णयका विपरित काममा लाग्ने जो सुकैलाई पार्टीले कारवाही गर्नबाट पछाडि हट्दैन्, तपाईंहरु स्पष्ट हुनुहोला’ बैठकमा सहभागी एक नेताले प्रचण्डको भनाई उद्धृत गर्दै भने– ‘गुटबन्दी गर्नेलाई पार्टीले अब सिधै कारवाही गर्छ, चाहे जोसुकै होस्, पार्टीको विधि र पद्धतिअनुसार पठाइएको सर्कुलरअनुरूप संगठन निर्माण गर्नुस्, जथाभावी गुटबन्दी गर्ने र पार्टीलाई कमजोर बनाउनेलाई कारबाही हुन्छ ।’

आइतबार र शनिबार दुई दिनसम्म चलेको विशेष छलफलमा पूरा समय सहभागि अध्यक्ष प्रचण्डले पदाधिकारी र केन्द्रीय सदस्यहरुबाट संगठन निर्माण, आन्तरिक समस्या, पार्टीको अवस्था लगायतका बिषयमा कुरा सनेपछि यस्तो कडा अभिव्यक्ति दिएका हुन् ।

अध्यक्ष प्रचण्डले प्रदेश २ मा नेताहरुले कामभन्दा बढी गुटबन्दी गरेको उल्लेख गर्दै उनले आउँने दिनमा ति सबै काम त्याग्न वा कारवाही भोग्न तयार हुनुपर्ने कडा निर्देशन दिए । पार्टीभित्र धेरै गुटबन्दी भएको बताउँदै उनले भने– ‘गुटबन्दीले धेरै बदनाम पनि भयो, ज–जसले गुटबन्दी गरिरहेका छन्, आजैको मितिबाट त्यसलाई त्याग गरी पार्टीलाई विधि र पद्धतिबाट सञ्चालन गर्नुस् ।’

प्रदेश कमिटीले गरेको निर्णय र निर्देशन अनुसार प्रदेशमा पार्टी संगठन अगाडि बढ्ने भएकाले कुनै पनि नेता प्रदेशमा जाँदा प्रदेश कमिटीलाई जानकारी गराएर मात्र जान समेत उनले निर्देशन दिए ।

विगतका दिन सम्झदै उनले आफूखुशी संगठन निर्माण, सदस्यता वितरण, पार्टी प्रवेश, उद्घाटन वा गुटगत बैठक गरेको पाइएमा पार्टीलाई कारवाही गर्नबाट पछाडि नहट्ने अध्यष प्रचण्डको भनाइ थियो ।

बैठकमा गुटको चर्चा
बैठकमा सहभागी नेताहरुले गुटगत गतिविधिका कारण प्रदेश २ मा पार्टी कमजोर भएको गुनासो गरेका छन् । पार्टीको महाधिवेशन अघि हुने पालिका, जिल्ला, प्रदेश अधिवेशनबारे छलफल गर्न प्रदेश २ का इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहले छलफल गर्न बैठक राखेका थिए ।

छफलफमा अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव सहितका शीर्ष नेताका साथै प्रदेश २ का पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी थिए । सहभागि नेताहरुले प्रदेश २ मा गुटबन्दी भएको गुनासो गरेका छन् ।

प्रदेश २ मा नारायणकाजी श्रेष्ठ र मातृका यादवले नै गुटबन्दी गरेको आरोप उनीहरुकै अगाडि लागेको छ । विगतमा प्रभु साहले माओवादीमा गुटबन्दी गर्दै आएको तर अहिले श्रेष्ठ र यादवको गुटमा लाग्नेहरुले मात्रै अवसर पाइरहेको गुनासो नेताहरुले गरेका छन् । विगतका दिनमा साह र यादवको दुई समूह प्रदेश २ मा सक्रिय थियो ।

श्रेष्ठले एकता केन्द्र पृष्ठभूमि भएका नेतालाई अगाडि बढाउँन चाहन्छन् । यस्तै यादवले विगतमा माओवादी विभाजन गर्दा आफूलाई साथ दिनेलाई अगाडि बढाउन तथा अवसर दिनुपर्ने वकालत गर्छन् । बैठकमा सहभागी एक नेताका अनुसार यी दुई गुुटमा नहुने नेताहरु अवसरबाट वञ्चित हुनुपरेको गुनासो प्रचण्डको अगाडि गरेका छन् ।

माओवादी केन्द्रीय सदस्य रामकुमार शर्माले प्रदेश २ मा श्रेष्ठ र यादवको गुटले मात्र अवसर पाउने र यी दुई गुटमा नहुनेले जिम्मेवारी नै पाउँन समस्या रहेको गुनासो गरे । प्रदेश २ मा गुटविहीन पार्टी बनाउँन आफूले अध्यक्ष प्रचण्डसँग माग गरेको बताए । एक महिना अघि शर्माले अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेरै प्रदेश २ को वस्तुस्थितिबारे जानकारी गराउँदै गुटगत गतिविधि अन्त्य गर्न माग गरेका थिए । दुई गुटमा नलाग्ने नेतालाई जिम्मेवारी पाउन समस्या रहेको बताउँदै उनले पार्टीले ठोस जिम्मेवारी दिनुपर्ने मागसमेत राखेका छन् ।

छलफलमा श्रेष्ठ र यादव पक्षधर नेताहरुले एकअर्कामाथि गुटबन्दी गरेको आरोप लगाएका छन् । छलफलमा सहभागी एक नेताका अनुसार श्रेष्ठ पक्षधर नेताहरु गिरिराजमणि पोखरेल, विश्वनाथ साहले नेता यादवले पार्टीमा गुटबन्दी गरेको आरोप लगाए । विगतमा यादवले माओवादी विभाजन गर्दा साथ दिनेलाई मात्रै उनले अवसर दिनुपर्ने गरी लाग्ने गरेको आरोप पोखरेल र साहले लगाएका छन् ।

‘पार्टी संकटमा पर्दा छोडेर हिडँने र छुट्टै दल गठन गरेका मातृका कमरेडले अहिले आएर पार्टीमा भाग मात्रै खोज्ने गरेका छन् । त्यसकारण संकटमा पार्टीलाई जोगाउने अवसर वा जिम्मेवारी पाउनुपर्छ’ श्रेष्ठ पक्षधर नेताहरुले बैठकमा भने ।

यस्तै, यादव पक्षधर नेताहरु भरत साह, जगत यादव लगायतकाले पार्टीमा श्रेष्ठले पूर्व एकता केन्द्र पक्षधर नेतालाई मात्रै संरक्षण गर्ने, जिम्मेवारी तथा अवसर दिने काम भएको आरोप लगाएका छन् ।

‘पार्टीमा पूर्व एकता केन्द्र वालाहरुले मात्रै अवसर पाइरहेका छन् । हामीसँग सौताको व्यवहार भइरहेको छ । यसबारेमा अध्यक्ष कमरेड प्रचण्डले ध्यानुपर्ने आवश्यक छ’ यादव पक्षधर नेताहरुले भने ।

बैठकमा नेता श्रेष्ठले पूर्व एकता केन्द्रलाई मात्रै संरक्षण हुने गरेको आरोप सही नभएको भन्दै खण्डन गरेका छन् । पूर्व एकता केन्द्रकै नाममा भागबन्डा, जिम्मेवारी, संरक्षण वा यस्तै कुनै गलत गतिविधि नभएको बताउँदै उनले पार्टीले सबैलाई समान व्यवहार गरिरहेको बताए । पार्टीभित्र यादवले गुटबन्दी गरिरहेको बिषय लुकाएर पनि लुक्ने अवस्था नभएको बताउँदै श्रेष्ठले माओवादीमा अब पूर्व एकता केन्द्र नै नरहेको स्पष्टीकरण दिएका थिए ।

तर, बैठकमा नेता यादवले आफूहरुसँग यस्तै व्यवहार भइराख्यो भने समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका छन् । पूर्व एकता केन्द्रले मात्रै सबै जिम्मेवारी र अवसर पाउँने हो भने बाँकी माओवादी नेताहरुले अब समानान्तर कमिटी गठन गरेर अगाडि बढ्न सक्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्