Logo
Logo

उत्तर कोरियाली नेता किम मिसाइल परीक्षणमा सहभागी


- दृष्टि न्युज/संवाददाता


सोल, २२ (एजेन्सी) । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले नेता किम जोङ उनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिबार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ ।
यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेताले आफू गरेको वाचा नतोड्ने पनि ट्रम्पले बताएका छन् ।
गत फेब्रुअरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल भएको थियो । सो शिखर सम्मेलनमा अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने किमको माग रहेको थियो । सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो ।
किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्