Logo
Logo

स्रष्टा : पैसामुखी हैन ज्वालामुखी



कोजाग्रत पूर्णिमा, होटेल अकामा, धूम्रबाराही । खेमलाल–हरिकला समाज कल्याण लामिछाने प्रतिष्ठानको आयोजनामा ‘पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार–२०७७ वितरण समारोह’ सम्पन्न भयो । विसं २०६६ देखि दिन थालिएको पुरस्कार र २०६७ देखि दिन थालिएको सम्मान कार्यक्रममा विशिष्ट पाहुना सबै आइसकेका थिए ।

खगेन्द्र सङ्ग्रौला, ध्रुवचन्द्र गौतम, शरच्चन्द्र वस्ती, भागीरथी श्रेष्ठ, राप्रउ पोखरेल, नारायण ढकाल, श्यामल, श्यामभक्त उपाध्याय, चन्द्रप्रसाद भट्टराई, पवन आलोक, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान आदि । केही मिडियाबाट सम्पादकस्तरकै सहभागिता थियो । आयोजक प्रतिष्ठानका अध्यक्ष जीवा ढोकामा उभिएर सम्मानित व्यक्तित्वको बाटो हेरिरहेका थिए ।

साधना सम्मान दिइने व्यक्तित्व करीब चार सय गीत, भजन गाएका, सङ्गीत दिएका भक्तराज आचार्यको आगमन अलि ढिलो भयो । साहित्य पुरस्कार पाउने केशव दाहाल (‘मोक्षभूमि’ उपन्यास) पहिले नै आइसकेका थिए । तोकिएको समय २ बजे घर्किसकेको थियो । अपराह्न २ः२८ मा बल्ल कार्यक्रम शुरु भयो ।

श्याम रिमाल

शब्दलाई तौलेर गाउने गायक

उद्घोषिका सविना देवकोटाले नै पुरस्कारबारे सामान्य जानकारी दिइन् । विसं २०६२ मा स्थापना भएको ‘पद्मश्री पुरस्कार’ पछिल्लो वर्षदेखि मोफसलका उत्कृष्ट कृतिलाई रु तीन लाखको पुरस्कार दिन थालिएको हो । विसं २०६६ देखि भने देशभरिका र डायस्पोराका कृतिलाई उक्त पुरस्कार पनि दिन थालियो ।

“विगतको उदाहरण हेर्दा निष्पक्ष ढङ्गले पुरस्कार दिँदा पुरस्कार मात्र हैन, पुरस्कार पनि पुरस्कृत हुँदोरहेछ”, उनले भनिन् । मञ्चमा सम्मानित र पुरस्कृत व्यक्तित्व दुई जनालाई मात्र बोलाइन् र सोझै सम्मानको कार्यक्रम शुरु भयो, स्वागतको औपचारिकताविना नै । जीवाकी माता बिरामी भएकाले सम्मानित र पुरस्कृतलाई सासू विमलादेवी पोखरेलले ताम्रपत्र र माला लगाइदिइन् ।

अनि जीवाले बोल्न थाले– म गाउँमा छँदा मेरो बिहानी भक्तराजको ‘एक दिन मैले प्रभुलाई सोधेँ, तन, मन, धन हजुुरलाई’ जस्ता गीतबाट शुरु हुने गथ्र्याे । ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘मुटु जलिरहेछ’ जस्ता गीतले युवावस्थामा प्रभाव पार्याे। शब्दलाई तौलीतौली गाउने, ह्रस्वदीर्घको ख्याल गर्ने उहाँ ३० को दशकमा सुगम सङ्गीतमा चर्चित बन्नुभयो । विसं २०४६ मा साङ्घातिक हमलापछि आफ्नो क्षमता गुमाउनुभएका भक्तराजले १६ वर्षमै कालजयी सिर्जना गर्नुभयो ।

‘पद्मश्री साहित्य पुरस्कार–२०७७’ लागि उत्कृष्ट छनोट गरिएको विवेकशील साझा पार्टीमा आबद्ध केशव दाहालको ‘मोक्षभूमि’ उपन्यास भने सात सय वर्ष पुरानो खस सिंजा साम्राज्यका दासको कथा हो । त्यसमा युद्ध अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सङ्घर्ष र मोक्षका विषय छ । शक्ति, सत्ता र जागीरभन्दा साहित्य नै कालजयी हुँदो रहेछ ।

जीवा लामिछानेले आफ्नो सुन्दर देश र समाजका विषयलाई साहित्यमा उतारेर कालजयी कृति दिन युवालाई आह्वान पनि गरे । कृति छनोटमा पारदर्शिताका लागि आगामी वर्ष बुकहोलिक्सका सञ्चालक उपप्राध्यापक राम लोहनीको संयोजकत्वमा आख्यानकार एवं चलचित्रकर्मी नयनराज पाण्डे तथा निबन्धकार, चिन्तक र समालोचक उपप्राध्यापक कुमारी लामा सदस्य रहेको समितिको घोषणा गर्दै उनले अर्काे वर्ष समाज परिवर्तनमा योगदान गर्नेलाई रु तीन लाखकै पद्मश्री समाज सम्मान दिइने जानकारी दिए ।

दाउराका लागि पैसा छैन
त्यसपछि सम्मानित आचार्यका तर्फबाट छोरा सत्यराजले मन्तव्य दिए । झ्याप्पै दाह्री र कपाल पालेका उनले पिताको भनाइ राख्दै ३० को दशकदेखि गीतसङ्गीतमा काम गरेको आफूले २०५० मा जिब्रो काटिएपछि अरु सम्मान पुरस्कार पाए पनि पद्मश्री नै ठूलो सम्मान भएको विचार राखे । “यति ठूलो धनराशि पहिले दिइएको थिएन”, उनले भने, “आभारी छु ।”

त्यसपछि छोरा सत्यराजले आफ्नै भनाइ राख्दै कला, साहित्य दुःखी पेशा भएको र कतिपय मर्दा जलाउन दाउरा नभएको, घरभाडा तिर्न नसकेको, खानपान गर्न कठिन भएको, औषधिमूलो गर्न नपाएको र कपीराइटमा ठगिएको गुनासो गरे । सम्मानका लागि मात्र कलाकार लालायित नभएको जनाउँदै उनले नारायणगोपालले पनि जाँदाआउँदा रु ४०० ट्याक्सी खर्च मात्र हुने भएकाले सम्मान लिन नगएको उदाहरण दिए । “कलाकारको गुनासो पैसामुखी हैन, यो ज्वालामुखी हो”, उनले भने “बरु तिनलाई चुरोट, चिया र सिरक दिए तिनका अनुहारमा तेज र कान्ति बढ्छ ।” उनको भनाइमा समर्थन गर्दै एकछिन त परर्र ताली बज्यो । चार सय ३६ शब्द बोलेर उनले मञ्च छाडे ।

‘माधवी’पछि दोस्रो
साहित्य पुरस्कार प्राप्त विवेकशीलमा आबद्ध दाहालले आफ्नो मन्तव्यका पालामा आफू राजनीतिक अभियानकर्मी भए पनि लेखक हुने बाटामा हिँडेकाले खुशीले गद्गद् भएको जनाउँदै पुरस्कारको गरिमा उँचो बनाउन प्रयत्न गर्ने बताए । उनले संरचना बदल्न आफूले राजनीतिक विषयमा लेख्ने, टिप्पणी गर्ने, विचारहरू राख्ने र मुद्दाहरू उठाउने काम जारी राख्ने पनि जनाए । उनले पनि ‘मोक्षभूमि’मा मुक्ति, स्वतन्त्रता, स्वअस्तित्व, सभ्यताका लागि आगो, ज्योति र झिल्का खोज्न गरिएको सङ्घर्ष तथा स्वाभिमानका लागि गरिएको कथा भएको बताए ।

आगामी वर्षका लागि कृति छनोट समितिका संयोजक लोहनीले यसै वर्ष प्रकाशित पुस्तकको तीन प्रति आगामी वैशाखसम्म प्रतिष्ठान कार्यालयमा पठाउन लेखकहरूलाई आग्रह गरे । पहिले १५, त्यसपछि पाँच कृति छनोट गरी एक वा दुई कृति सिफारिश गरिने प्रक्रियाबारे पनि उनले जानकारी दिए । उनले आचार्यले गाएको ‘सब निदाए प्रभु’ भन्ने भजनको टुक्राले आफूले निकै छोएको बताउँदै ‘मोक्षभूमि’ पहिले आफूले पढ्न मन नगरे पनि पछि खस साम्राज्यको सम्भावित पहिलो कृति भएकाले पढेको र यो ‘माधवी’पछिको लामो औपन्यासिक कृति भएको पनि जिकिर गरे ।

‘नेपाली मानक कथा’
सोही अवसरमा महेश पौड्यालद्वारा अनुदित ‘सेलेक्टेड नेपाली स्टोरिज’(२०२१)को सङ्ग्रौला र गौतमले मञ्चमुनिबाटै एकैसाथ विमोचन गरे । लामिछाने र प्रतिष्ठानले यसअघि अनुदित कृति ‘सेलेक्टेड नेपाली पोएम्स’ (तारानाथ शर्मा १९९९), ‘सेलेक्टेड नेपाली लिरिकल पोएम्स’ (रवीन शर्मा, २००१), ‘सेलेक्टेड नेपाली एस्सेज’ (गोविन्दराज भट्टराई, २००३) र वानीरा गिरीको ‘प्रिजन’(आन हन्किन्स,२००५) उपन्यास पनि प्रकाशनमा ल्याइसकेको छ ।

पच्चीस कथाकारका कथामा सम्पादकद्वय गोविन्द गिरी प्रेरणा र कृष्ण धरावासीका कथा नपर्ने कुरै भएन । गुरुप्रसाद मैनालीको ‘नासो’(द वार्ड), बिपीको ‘शत्रु’(द इनेमी), इन्द्रबहादुर राईको ‘रातभरि हुरी चलिरह्यो’(द स्टोर्म रेज्ड अल नाइट), प्रेमा शाहको ‘पहेँलो गुलाफ’(द एल्लो रोज),लगायत कथा त्यसमा परेका छन् ।

धरावासीेले विभिन्न देशमा जाँदा जिज्ञासुहरूले उनका कथा कहाँ पढ्न पाइन्छ भनी सोधेकाले आफूले पौड्यालबाटै मदन पुरस्कार प्राप्त ‘राधा’ उपन्यास नै अङ्ग्रेजीमा उल्था गराएको जानकारी दिँदै नेपाली साहित्यको भाषान्तरण र अन्तरराष्ट्रियकरणमा जोड दिए । अनुवादक पौड्यालले अनुदित कथा ‘नेपाली मानक कथा’ नै भएको जिकिर गर्दै नेपाली साहित्य छुट्टै हो भन्ने चिनाउन र अन्तरराष्ट्रियकरण गर्न सिद्धान्तकार र समालोचकको भूमिका हुने जनाए ।

हृदयहीन साहित्यकार
विद्वत् प्रवचन दिन निम्त्याइएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल प्राकृतिक विपत्का घटनापछि डाकिएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएकाले ढिलो गरी कार्यक्रममा आइपुगे । कार्यक्रमका बीचबीचमै उठेर बाहिर राखिएको नास्ता भ्याउनेहरू पनि उत्तिकै थिए । उनले ‘साहित्यदेखि सत्तासम्म’ विषयमा प्रवचन दिँदै बङ्गलादेशका तत्कालीन राष्ट्रपति मोहम्मद एर्साद हुसेन कवि भए पनि तानाशाह भएको तथा कान्तिपुरका राजा प्रताप मल्लले आफूलाई कवीन्द्र भनाउन चाहे पनि बलात्कारी र भीम मल्लका हत्यारा बन्न पुगेको बताए ।

“साहित्यकार कोमल हृदयका हुन्छन् भन्ने विश्वास मलाई छैन, ती फरक मान्छे होइनन् र तिनको पनि आफ्नै सत्ता छ”, उनले भने । साहित्यकार सत्तामा कम पुगे पनि सत्ताच्युत भएपछि राम्रै कृति दिएको भनी बिपीको उदाहरण दिएका उनले जर्ज वासिङ्गटन पनि राजनीतिक अवकाशपछि कृति लेखेर राम्रै कमाउने लेखक थिए भन्ने जानकारी दिए ।

प्रतिष्ठानका सदस्य सचिव रवीन्द्र समीर(पद्मश्री साहित्य पुरस्कार–६७ विजेता, ‘अर्जुनदृष्टि’ लघुकथा सङ्ग्रह)ले डाक्टरी पेशा(डा रवीन्द्र पाण्डे)को व्यस्तताबीच आफूले दिएको अल्प सूचनामा दशैँ र कोरोना महामारीमा पनि सहभागी भएकामा सबैलाई धन्यवाद दिए । एक घण्टामा कार्यक्रम सकाउने बानी परेको प्रतिष्ठानले दुई घण्टामा सकाएर महामारीका बेला यसपालि ‘रहस्यमय सुन्दरी कुमारी’ ‘अकामा’ होटेलको गरेको उपयोग ‘शुभ’ नै रह्यो ।

विष्णु अर्थात् ‘जीवनाथ’ले सृष्टिको पालन गरे जस्तै जीवाले पदमपुरदेखि पुश्किनको देशलगायत विश्व घुमेर, केही कमाएर साहित्यकार, कलाकार आदिको सेवा गरेका छन्, आफूले पनि ‘सर्सती संसार’ र ‘देशदेशावर’ कृति दिइसकेका छन् ।

उनले नै कुनै बेला नेतृत्व गरेको गैरआवासीय नेपाली सङ्घ भने नेता चुन्ने बेला अहिले राजनीतिलगायत विवादमा परेको छ । उपेन्द्र महतोले आमाका नाममा सामाजिक संस्था खोलेर सेवा गरेका छन्, जीवा लामिछानेले साहित्य सेवा गरेका छन्, केहीले गोरखामा एकीकृत बस्ती निर्माण गरेका छन् । रु १० अर्बको एनआरएन कोषको सदुपयोग कसरी हुन्छ, त्यो पनि हेर्नु छ ।

२०७८ कात्तिक ६–७
[email protected]

प्रतिक्रिया दिनुहोस्