Logo
Logo

पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप



काठमाडौं । अमेरिकी सरकारको एउटा प्यानलले फाइजर/बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने माग गरेको छ । त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए)का विज्ञहरूले मंगलबार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको छ ।

सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो ।
अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो । अनुमति लिन बाँकी हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् ।

अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले थप अनुमति दिनुपर्छ । बीबीसीका अनुसार ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने ठानिएको छ जसको अर्थ खोप लगाउन त्यसकै भोलिपल्टबाट सुरु हुनसक्छ ।

एफडिएका विज्ञहरूको टोलीले खोप लगाउनुको फाइदा त्यसले निम्त्याउनसक्ने अन्य स्वास्थ्य खतराभन्दा बढी हुने भन्दै त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए ।

कति बालबालिकालाई फाइदा
५ देखि ११ वर्ष उमेरका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनेछ । अमेरिकाको आधिकारिक तथ्याङ्क अनुसार महामारी सुरु भएयता कोभिडका कारण ५ देखि ११ वर्ष उमेरका १६० बालबालिकाको ज्यान गएको छ ।

देशभरि अहिलेसम्म कोरोनाभाइरसका कारण ७४०,००० को मृत्यु भएको तथ्याङ्क छ । लाखौँ मानिसहरू संक्रमित भएका छन् र हजारौँलाई अस्पतालमा भर्ना हुनुपरेको थियो। तीमध्ये ५,००० भन्दा बढी बिरामीमा जलन हुने एउटा दुर्लभ समस्या देखिएको थियो ।

जसका कारण अमेरिकामा ४६ बालबालिकाको मृत्यु भएको थियो । यसैबीच यूकेले भने १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई खोप दिन भर्खरै सुरु गरेको छ ।

त्यहाँका प्रमुख मेडिकल अधिकारीले उक्त उमेर समूहका बालबालिकालाई एक मात्रा खोप दिन सुझाएका छन ्। तर यसको मापदण्ड अन्य देशमा फरक फरकछ । बीबीसी

प्रतिक्रिया दिनुहोस्