Logo
Logo

फ्लाइट एटेन्डेन्टहरुको अर्धनग्न प्रदर्शन



काठमाडौं । इटालियन एयरलाइन्स एलिटालियाका दर्जनौं पूर्व महिला फ्लाइट एटेन्डेन्टहरुले मध्य रोमको सार्वजिनक स्थलमा युनिफर्म फुकालेर विरोध प्रदर्शन गरेका छन् । हाल सञ्चालनमा नरहेको सो कम्पनीका महिलाहरुले शनिबार भित्री वस्त्र मात्रै लगाएर अन्य सबै गरी पोशाक खोलेर विरोध प्रदर्शन गरेका हुन ।

रोमको क्यापिटलाइन हिलस्थित चोकमा लस्करै उभिएका करिब पचास जना फ्लाइट एटेन्डेन्टहरुले आफ्नो काँधमा झुण्ड्याएका कम्पनीको ब्याग बिस्तारै फुटपाथमा राख्दै क्रमशः ओभरकोट, युनिफर्म ज्याकेट र स्कट खोलिसकेपछि आफ्ना हाइहिल जुत्ता पनि फुकालेर भित्री वस्त्र मात्रै बाँकी राखेर विरोध प्रदर्शन गरेका थिए ।

केहिबेर चुपचाप उभिएका प्रदर्शनकारीले एकैसाथ ‘हामी एलिटालिया हौं’ भन्दै चिच्याएका थिए । लामो समयदेखि आर्थिक समस्यासँग जुध्दै आइरहेको तथा दशकौं लामो इतिहास बोकेको एलिटालिया एयरलायन्सको गत १४ अक्टोवर देखि उडान ठप्प छ ।

सो दिनको भोलिपल्टदेखि नयाँ एयरलाइन आइटीएले एलिटालियाकै केही विमानसमेत प्रयोग गरेर उडान सुरु गरेको थियो । आइटिएले एलिटालियाको ब्रान्डसमेत खरिद गरेको भए पनि त्यसका १० हजारमध्ये ३ हजार कर्मचारीलाई मात्र रोजगार दिएको थियो ।

हाल आइटिएका अधिकारीहरूले अहिले काम गर्न नियुक्त गरिएका कर्मचारीहरूलाई चलनचल्तीभन्दा न्युन तलब दिइएको पाइन्छ ।
सिएनएनका अनुसार आइटिएका अधिकारीहरूले जागिर गुमाउनेहरूलाई पाँच वर्षसम्म बोरोजगार सुविधा दिलाउन सरकारलाई दबाव दिँदै आएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्