Logo
Logo
एमालेको १०औँ महाधिवेशन

ओलीको विकल्प ओली नै, छैनन् प्रतिस्पर्धी !




काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेमा १०औँ महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशन अघि एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ । केही ठाउँमा बाँकी रहेका अधिवेशन कात्तिक मसान्तभित्र सक्नुपर्ने निर्देशन एमालेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न भएको बताए । कतिपय ठाउँमा सर्वसम्मत त कतिपय ठाउँमा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ ।

फाइल फोटो

१०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको एमालेले अब क्रमशः जिल्ला र प्रदेशको अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारीमा छ । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ ।

आज बस्ने स्थायी कमिटी बैठकले वडा र पालिकास्तरको अधिवेशनको समीक्षाका साथै महाधिवेशन प्रतिनिधि चयनको मापदण्डबारे छलफल हुने तामाङले बताए । भोलि केन्द्रीय कमिटी बैठक बस्दैछ । स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्नका लागि केन्द्रीय कमिटी बैठक बस्नेछ । अन्तिम र एक अर्को केन्द्रीय कमिटी बैठक महाधिवेशनको पूर्वसन्ध्यामा बस्नेछ ।

ओलीको विकल्प ओली

१०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । एमालेले ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौँ महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट विदा लिनुपर्ने थियो ।

तर, प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै अगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भए बीचमै सक्रिय राजनीतिबाट विदा नभई पूरा कार्यकाल जिम्मेवारी बहन गर्न पाउनेगरी गरिएको व्याख्या विशेषतः ओलीकै लागि हो ।

यद्यपि, अध्यक्ष ओलीले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा अझै गरेका छैनन् । तर, उनी निकट नेताहरुले आगामी महाधिवेशनमा ‘ओलीको विकल्प ओली’ नै भएको बताउँने गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य एवं ओली निकट नेता शंकर पोखरेलले आगामी महाधिवेशनबाट अध्यक्षमा ओली र आगामी निर्वाचनबाट प्रधानमन्त्रीमा ओली नै हुने बताउँछन् । सार्वजनिक कार्यक्रममा समेत उनी निकट नेताहरुले एमालेमा ओलीको विकल्प नभएको ठोकुवा गर्दै आएका छन् ।

८औँ र नवौँ महाधिवेशनबाट दुईपटक महासचिव निर्वाचित ईश्वर पोखरेलले समेत आगामी महाधिवेशनबाट ओली नै अध्यक्ष हुने संकेत गरेका छन् । आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका महासचिव पोखरेलले यदि, ओली पुनः अध्यक्षको उम्मेदवार भए आफू उम्मेदवार नहुने बताउँदै आएका छन् ।

हालै सम्पन्न वडा र पालिकास्तरको अधिवेशनबाट निर्वाचित अधिकांश ओली निकटका नेताहरुमात्रै छन् । एकाधबाहेक सबै ठाउँमा ओली निकट भनेर चिनिएका नेताहरुमात्रै निर्वाचित भएका छन् ।

‘वडा र पालिकास्तरको अधिवेशनमा ओली निकटका नेता भनेर चिनिएका मात्रै निर्वाचित भएका छन् । अब जिल्ला, प्रदेश तथा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पनि सोही अनुसारको नेता चुनिनेछन् । ओलीलाई टक्कर दिने नेताहरु एमालेमा छँदैछैनन्, भएकाहरुको हैसियत नै पुग्दैन्’ ओली निकट एक नेताले भने ।

ओली सर्वसम्मत नहुने, घनश्यामले प्रतिस्पर्धा गर्ने

एमालेको तल्लो कमिटी अधिवेशनको परिणामअनुसार आगामी महाधिवेशनबाट ओली सर्वसम्मत अध्यक्ष हुनसक्छन् । उनलाई पराजित गर्न सक्ने अन्य नेतासँग हैसियत पुग्दैन् । तर, उपमहासचिव घनश्याम भुसाल भने सर्वसम्मत कोही पनि अध्यक्ष हुन नसक्ने बताउँछन् ।

एमालेभित्रका तेस्रो धार अर्थात तेस्रो समूहबाट आगामी महाधिवेशनमा अध्यक्षमा भुसालले उम्मेदवारी दिँदैछन् । विभिन्न चाडपर्वको अवसरमा पत्रकारसँग केही दिनअघि कुरा गर्दै भुसालले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।

‘पार्टीको विधानअनुसार पदाधिकारी भएकाले अध्यक्षमा उम्मेदवारी दिन पाउँछन् । अहिलेको पदाधिकारी मध्येबाट अध्यक्षमा अर्को उम्मेदवारी हुन्छ । अध्यक्षका लागि हरेक दृष्टिकोणले म पनि योग्य छु’ उपमहासचिव भुसालले भने ।

तेस्रो धारमा रहेका तीन नेता उपाध्यक्ष छन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल अहिले एमालेको उपाध्यक्ष हुन् । ओलीबाहेक अर्को समूहबाट यी तीनमध्ये एक जनाले अध्यक्षमा उम्मेदवारी दिनुपर्ने हो । तर, तीनै जनामध्ये कसैले पनि उम्मेदवारी नदिने एमाले स्रोतले जनाएको छ । अहिलेको उपमहासचिव भुसालले केही दिनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दैछन् ।

‘तल्लो तहको अधिवेशनको परिणाम हेर्दा आगामी अधिवेशनबाट ओली निकटका नै प्रतिनिधि बढी आउने निश्चितजस्तो देखिन्छ । तर, सर्वसम्मत अध्यक्ष हुन सक्दैनन्, हाम्रो समूहबाट घनश्याम कमरेडले अध्यक्षमा उम्मेदवारी दिनुहुन्छ’ तेस्रो धारका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्