Logo
Logo

आईजीपीद्वारा इलाका प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन



सोलुखुम्बु । इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी सङ्गठनबाट सम्पादित कार्य कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताए ।

देश तथा विदेशका नागरिकको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराध रोक्नको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य महत्वपूर्ण रहने भन्दै सचेत रहनु पर्नेमा उनले जोड दिए ।

सोही कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले भौतिक सुविधाले प्रहरी कर्मचारीको थप मनोवल बढ्ने र कार्यक्षेत्रसमेतमा यसले अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

भवनको उद्घाटन पश्चात पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गरिएको छ । प्रहरी महानिरीक्षक क्षेत्रीले उनीसहित प्रहरी कार्यमा सहयोग गर्ने अन्य व्यक्तिलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कारसमेत प्रदान गरे।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा कुल रु दुई करोड चार लाख ४७ हजार ८५५ को लागतमा एकःएक तले तीन भवन निर्माण गरिएको हो ।

कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवाललगायतका व्यक्तिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यही कात्तिक १० गते महानिरीक्षक क्षेत्रीले इलाका प्रहरी कार्यालय लुक्लाको भवन उद्घाटन गरेका थिए । शनिबार खुम्जुङ प्रहरी चौकीको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्