
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले एक सुत्केरीका श्रीमानले ग्यास नपाएर खोलामा हाम फालेको घटना स्मरण गर्दै यस्तो आरोप लगाएकी हुन् ।
‘एक सुत्केरीका श्रीमानले ग्यास नपाएर खोलामा हाम फालेको घटना ताजै छ । यो सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको छ,’ उनले भनिन्, ‘यो कृत्रिम अभावले ज्यालामा रोजगारी गर्ने ६५ प्रतिशतभन्दा बढी जनतालाई आक्रान्त बनाएको छ ।’
साथै, जनता महँगो मूल्यमा ग्यास किन्न बाध्य भएकोप्रति उनले आपत्ति जनाइन् । ‘अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ । तर गरिखाने वर्ग, मजदुर, विद्यार्थी, अपांग भएका व्यक्ति तथा समग्र निम्न वर्गका लागि खाना पकाउने ग्यासको अभावका कारण आक्रान्त छ,’ सांसद अर्यालले भनिन्, ‘एउटा मात्रै ग्यास सिलिन्डर हुने र त्यही दिन ग्यास साटेर ल्याउने परिवारको संख्या कति छ ? त्यसको तथ्यांक सरकारसँग छ ?’
‘महँगो मूल्यमा ग्यास किन्न बाध्य जनता छन् । निम्न वर्गका लागि विद्युतीय चुल्होको सुविधा छैन । काम छाडेर ग्यास खोज्न जाने कि काम गर्न जाने ?’ उनले प्रश्न उठाइन् ।















