रातो बाकसभित्रको कथा « Drishti News – Nepalese News Portal
Logo

रातो बाकसभित्रको कथा


दृष्टि संवाददाता


गगनमा पङ्ख फुकाउँदै उडेका चराहरु फत्र्याक्क भुइँमा खस्ने गर्मी । त्यही गर्मीमा दिनभरी मरिमरी काम गर्दा पसिनाले नित्रुक्क भिजेको थकित शरीर । आज पनि सदाझैँ बेलुकीको बासस्थानसम्म आइपुगियो ।

पसिनाले हस्स गन्हाउने जिउ र लुगाफाटो धोई पखाली गरियो । भोकले लखतरान परेको पेटले आहार मागिरहेको छ । एउटा प्लास्टिकको पोको फुकाउँदै छिट्टै खाना खाने तयारी गरियो । तल्लो होटलवालाले ल्याइदिएको ‘चिल्सा’ र घुन लागेर कालै देखिने भातका सिता अनि कुरुम–कुरुम गर्ने काँचै आलुका चोक्टा !

यसो एक गाँस मुखमा हाल्न खोज्यो कि वाक्क आउने । दिनभर काम गरेर दुई छाक निल्नु छ, त्यसैमा पनि यत्रो कस्ट ? मन चुकभन्दा पनि अमिलो भयो । दिनभरी गाउँ डुलेर घर फर्किदा मध्यरातसम्म भात तरकारी चुलोमाथि तताउँदै टुकी बालेर छोरो पर्खने आमा सम्झिएँ । अनि, तिनै आमाले ‘बाबु तरकारीमा नुन लागेको छ ? लौ छोरा अझै खानुपर्छ’ भन्दै खाना पस्किएको पल सम्झिएँ ।

उफ ! झनै ग्वाँ–ग्वाँ डाको छोडेरै रुन मन लाग्यो । के गर्नु ? अब घर नफिर्दासम्म यहाँको छाड्न नसकिने र उताको पाउन नसकिने भन्दै मनशान्त गर्नुको अर्को बाटो भेटिएन ।

दिनभरीको गर्मी र थकानले चुसिएर मुरलीझैँ भएको जिउ । चिसो एसी चल्ने एउटा बन्द कोठाको खाटमा लगेर फाल्यो । कहिले बोल्दाबोल्दै भुसुक्कै निदाइँदो रहेछ । कहिले रातभरी नै आँखा नलाग्ने । आज पनि एवं रुपले सबै काम भ्याएर भर्खरै खाटमा पल्टिएँ । यसो साथीहरुतिर आँखा दौडाएको त सबै निदाइसकेछन् । दिनभरीको गर्मी अनि बन्द कोठाको चिसो हावाले बाधा पुर्याएर होला प्रायः साथी डर लाग्दो घुरिरहेका थिए । पापी मन त हो । अझ आज सुतेर भोलि बिहान उठिन्छ वा नाइँ ? भन्ने पनि लाग्ने !

मेरै आँखा अघि बेलुकी सँगै सुतेको साथी बिहान कहिल्यै नब्युँझिने गरेर अस्ताएको पनि मैले नेपालबाट यहाँ आउनासाथ देखेभोगेको थिए । आज पनि त्यो क्रम जारी छ । कोठामा म जस्तै जिन्दगीको कुनै टुंगो नभएका १८ जना नेपाली साथीहरु गहिरो निद्रामा छन् । थाहा छैन, बिहान हाम्रो भेट हुन्छ या हुदैन ? खैर, माथिका भावुक भोगाइहरुलाई त्यहीँ थाँती राखौँ । अब अलिकति यथार्थको गहिराईमा जाउँ ।

अखबार पल्टायो– आज मलेसियामा तमिलद्वारा यति नेपाली काटिए । रेडियो खोल्यो, अरबमा यति जना नेपाली सुतेको ठाउँमै मृत भेटिए । अनि, सामाजिक संजाल हेर्यो, कोरियामा नेपालीमाथि गोलि प्रहार ! हो, जता हेर्यो यस्तै बेदना र कारुणिक घटनाका समाचार बग्रेल्ती भेटिन्छन् । यो दुनियाँमा सायदै त्यो मुलुक भेटिएला, जहाँ इमान्दार नेपालीको रगत नपोखिएको होस् । त्यो विश्व युद्धमा होस् वा जम्मुकास्मिरमा । इराक, अफगानिस्तान, अरब, मलेसिया अथवा अमेरिकामै किन नहोस् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक भित्रिने कयौँ राता बाकसहरु त्यसका ज्वलन्त उदाहरण हुन् ।

अलिकति भएको घरखेत बन्धकी राखेर श्रीमतीका गलाको तिलहरी र मुन्द्रा बेचेर मुग्लान छिरेका म जस्तै कयौँ युवा बेकसुर प्रदेशमा रेटिएर रातो बाकसमा डल्लो पर्दै दैनिक त्रिभुवन विमानस्थलबाट स्वदेश भित्रिन्छन् । हामी त त्यहीँ एउटा बाकस र २–४ जना आफन्तको बिलौनामात्र देख्छौँ । तर, विमानस्थलमा दैनिक गुडिरहेका रातो बाकससँगै कति निर्दोष चेलिहरुको सिउँदो पुछिएको छ । भर्खरै तोते बोलीले बाबा भन्न सिक्दै गरेका कति अबोध मुनाहरुलाई टुहुरो बनाएको छ । बाउ परदेश छिर्दाको थामिनसक्नु ऋणको भारी बोकाएको छ । अस्ताउनै लागेको घाम जस्ता ती बुढा आमा बुबाहरु बाँचेर पनि कयौँपटक यस्तै पीडाले मरेका छन् । दुर्भाग्य यति हुँदाहुँदै पनि विदेसिनेको संख्या दिनानुदिन बढेको छ । ज्यानको बाजी लगाएर रगत पसिनासँग साटेको पैसामा मस्ती भने सधैँ सत्ताको डाडुपन्यू छोप्नेहरुले लाज नमानी गरिरहेका छन् ।

यिनै रातो बाकसमा डल्लो परेर आएका युवाको रेमिटान्सले चलेको देशका शोषकहरु सत्ता पल्टाउन र बनाउनकै लागि रुद्राक्ष जपिरहेका छन् । लाखौँ युवा मरुभूमिमा विलाप गर्दै मारिँदा पनि निदाउने जालीहरु रातो बाकस काठमाडौं झरेपछि बेला–बेला गोहीका आँसु झारेर गाइजात्रा देखाउँछन् । र, भन्छन्– ‘यो देश युवाको हो । अनि, म नै युवाको नायक हुँ ।’ तारे होटल छिरेर बिर्यानी र ह्विस्कीको स्वादमा राष्ट्रियता खोक्ने काला मान्छेहरुलाई के थाहा रातो बाकसको सकस र पीडा ।

पासपोर्टको फाराम भरेको मितिदेखि दलाल र म्यानपावरलाई पोस्नुपर्छ । जेनतेन विदेश पुगियो भने विभिन्न शीर्षकमा महिनौँको पारिश्रमिक कम्पनीलाई दान गर्नुपर्छ । यता, तिनै युवाले विदेशबाट रेमिट्यान्स पठाएर देश चलाउनुपर्यो । अनि, उनै गरीबलाई विमानस्थलकै कर्मचारीले धन आर्जनको कारखाना बनाएर भन्सारको नाममा धनसार भर्नुपर्यो ? अरे वाह ! क्या काइदा छ देशमा । यसरी निर्धा युवालाई दुहुनो गाइझैँ हरेक निकायमा लुट्ने परिपाटीको कहिले अन्त्य हुने ? अनि, त्यो रातो बाकस भित्रको कथा कसले सुन्ने ?

प्रतिक्रिया दिनुहोस्