Logo
Logo

सिंघम डिएसपी ढुंगेल किन निलम्बनमा परे ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ बैशाख
नेपाल प्रहरीमा एउटा चर्चित नाम हो कुमोध ढुंगेल । काठमाडौं परिसरमा सादा पोशाकमा काम गर्दादेखि चर्चामा आएका उनी गत साता निलम्बनमा परेका छन् । कुनै बेला सिंघम प्रहरी अधिकृतको रुपमा छवी बनाएका ढुंगेल निलम्बनको विषयले प्रहरीमा धेरैले अनौठो रुपमा लिएका छन् ।


अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुसँग अस्वभाविक रुपमा फोन सम्पर्क देखिएपछि उनी निलम्बनमा परेका हुन् । डकैतीको आरोपमा पक्राउ परेका विक्रम श्रेष्ठसँग उनको सम्पर्क देखिएको विवरण महानगरीय अपराध महाशाखाले मिडियामार्फत सार्वजनिक गरेको थियो ।
त्यसपछि विगतमा पनि उनको अन्य अपराधिक व्यक्तिसँग सम्पर्क देखिएको भन्दै उनलाई कारबाही गर्न दबाब परेको थियो । जेलमा रहेका डनहरु रमेश बाहुन(सुजन पौडेल) र समिरमानसिंह बस्नेतसँग उनको पटक पटक फोन सम्पर्क देखिएको भन्दै त्यसमा छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ ।
समिरमान उनका सानिमाका छोरा हुन् । जसकारण समिरसँगको फोन सम्पर्कलाई कतिपयले सामान्य रुपमा लिने गर्दछन् । जेलमै रहेका डन बाहुनलाई उनले नै भारतबाट पक्राउ गरी नेपाल ल्याएका थिए । तर, आधा घन्टासम्म उनको ढुगेलसँग फोन सम्पर्क देखिएको छ । उनीहरुको अपराधमा ढुंगेलले सहयोग गरेको आशंका कतिपयले गरेका छन् ।
तर, उनले नियमित रुपमै प्रयोग गर्ने नम्बरबाटै फोन सम्पर्क हुने गरेको छ । जेलबाट बस्नेतले फोन गर्दा पनि नाम नै उल्लेख गरेका छन् । जसकारण कतिपयले सूचना संकलनका लागि उनले फोन सम्पर्क राखेको हुनसक्ने बताएका छन् ।
धेरैले ढुंगेललाई ‘रहस्यमय प्रहरी अधिकृत’ रुपमा लिने गर्दछन् । कतिपयले उनलाई सिंघमको रुपमा चिन्दछन् भने कतिपयले उनलाई अपराधिक गिरोहसँग साँठगाँठ रहेको आशंका गर्दछन् ।
इन्सपेक्टरको नम्बर वान पोष्टिङ मानिने तत्कालिन दरबारमार्ग प्रभागका बसे । त्यहाँ हँुदा उनले लाइनको पैसा समेत खाएनन् । रामेछाप जिल्लाको इन्चार्ज हुँदा उनले जिल्लवासीको मन जिते । पुराना घटना पत्ता लगाउनेदेखि गुन्डाहरुको भागाभाग गराए । रामेछापमै हुँदा प्रहरी नेतृत्वले उनलाई चर्चित डन मनोज पुन पक्राउ गर्ने जिम्मा दिएको थियो । जसअनुसार उनको कमाण्डमा गत वर्ष फागुनमा पुन भैरहवामा इन्काउन्टरमा मारिए । काठमाडौं परिसर हुँदा डन दिनेश अधिकारी ‘चरी’ पनि उनकै कमाण्डमा भएको इन्काउन्टरमा मारिएका थिए । जसकारण उनको सिंघको छवी बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हुँदा उनकै राम्रै छवी थियो । त्यसपछि उनको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सरुवा भयो । जहाँ उनी सरुवा हुन चाहेका थिएनन् । उपत्यकामै बस्न चाहेका थिए । त्यही बेला डकैती संलग्न एक समूहसँग उनको सम्पर्क देखिएपछि उनी विवादमा तानिएका हुन् । पटक पटक यस्तो किमिसको विवाद आएपछि निलम्बन गर्नुपर्ने दबाब आएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
कतिपयले भने नियोजित रुपमा उनलाई फसाइएको दाबी गर्छन् । ‘चरी इन्कान्टरको बेला चरीको रुगम कुँवरसँग सम्पर्क देखिएको थियो,’ एक प्रहरी अधिकारी भन्छन्,‘त्यही विषयालाई लिएर ढुंगेलको समूहले कुँवरलाई फसाउन खोजेको थियो, अहिले कुँवरले ढुंगेललाई फसाउन सफल भएका छन् ।’ डिएसपी कुँवर हाल अपराध महाशाखामा कार्यरत छन् ।
जे भएपनि यो घटनामा प्रहरीमा दुई समूहको गुटबन्दी भने प्रष्ट देखिन्छ । यद्यपि डिएसपी ढुंगेलको यसमा धेरै कमजोरी देखिन्छ । आफ्ना कमजोरी सुधार गर्न नसक्दा र खराब व्यक्तिहरुसँग दुरी कायम गर्न नसक्दा उनी हिरो प्रहरी अधिकृतबाट जिरो बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्