Logo
Logo
टिप्पणी

ओलीको दम्भ र घमण्डले एमाले सडकमा



काठमाडौं । केपी शर्मा ओली सत्ता उन्मादमा सम्हालिन नसक्दा नेकपा एमाले एकछत्र राजबाट सबै गुमाएर सडकमा पुगेको छ ।

२०७४ को आम निर्वाचन हुँदै शक्तिशाली बनेको एमालेले प्रदेश र संघीय सरकार आफ्नै नेतृत्वमा बनाएको थियो । तर, ओलीका कारण शक्ति सन्तुलन बिग्रदै जाँदा एमाले जताततै सत्ताच्युत भएर सडकमा पुगेको हो ।

एमाले अध्यक्ष ओली संघीय सरकारको नेतृत्व आफैले गरिरहेका थिए । चारवटा प्रदेशमा उनका ‘एसम्यानहरु’ मुख्यमन्त्री थिए । तर अहिले ओलीसँग न संघीय सरकार छ न प्रदेश सरकार नै बाँकी रह्यो । झण्डै दुईतिहाई बहुमतसहित संघीय सरकारको नेतृत्व गरेका ओली अहिले नै सत्ताच्युत भइसके ।

एमाले नेतृत्वमा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकार थियो । एमाले सचिवसमेत रहेका भीम आचार्यले आजै प्रदेश १ को मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आचार्य मुख्यमन्त्री बन्नुभन्दा अघि ओलीका एसम्यान शेरधन राई प्रदेश १ को मुख्यमन्त्री थिए । एमाले विभाजन हुने समयमा राईलाई राजीनामा गराएर आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो ।

बागमती प्रदेशमा एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री थिइन् । गत साता उनले पनि राजीनामा दिइसकेका छन् । एमालेले बहुमत गुमाएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । शाक्य मुख्यमन्त्री हुनुभन्दा अघि ओलीका एसम्यान डोरमणी पौडेल बागमती प्रदेशको मुख्यमन्त्री थिए । एमाले विभाजन हुने बेलामा पौडेललाई राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो ।

यस्तै, गण्डकीमा एमाले सचिवसमेत रहेका ओलीका अर्का एसम्यान पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री थिए । ओलीको दम्भ र घमण्डले गण्डकीमा समेत एमालेको सरकार बाँकी रहेन ।

यसैगरी एमाले स्थायी कमिटी सदस्य एवं ओलीका अर्का एसम्यान शंकर पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए । लुम्बिनी प्रदेशमा समेत एमालेले प्रदेश सरकार गुमाइसकेको छ ।

एमाले अध्यक्ष ओली झण्डै दुईतिहाई बहुमतसहित संघीय सरकारको नेतृत्व गरिरहेका थिए । तर, ओलीकै कारण एमाले–माओवादी एकतापछि बनेको नेकपा अदालतले खारेज गरेपछि ओली सत्ताबाट बाहिरिए ।
सत्ताबाट अहिले एमाले सडकसम्म पुग्नुमा एमाले अध्यक्ष ओलीको दम्भ र घमण्ड नै प्रमुख कारण रहेको तेस्रो धारका एक नेता बताउँछन् ।

‘नेकपा हुँदा संघीय सरकारका साथै सातमध्ये ६ वटा प्रदेश सरकार नेकपाको थियो । नेकपाको अध्यक्षको नाताले संघीय सरकारदेखि प्रदेश सरकारसम्म ओलीको हालीमुहाली राम्रै थियो । चार वटा प्रदेशमा ओलीका एसम्यान नै मुख्यमन्त्री थिए । दुई वटा प्रदेशमा एसम्यान मुख्यमन्त्री नभए पनि ओलीको निर्देशन लागुहुन्थ्यो । ओलीको दम्भ र घमण्डले अहिले उनीमात्र नभई एमाले नै सडकमा पुग्यो ।’

ओलीले संघीय र प्रदेश सरकार मात्रै गुमाएको छैन् । ओली सरकारले नियुक्त गरेका विभिन्न देशका राजदुत फिर्ता भइसकेका छन् । त्यसैगरी संवैधानिक नियुक्तिहरु समेत शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिसकेको छ । यसरी लामो संघर्षबाट एकछत्र राज गर्ने अवस्थामा पुगेको एमाले सबै गुमाएर पुनः सडकमै पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्