Logo
Logo

भारतीय बजारबाट अवैध सामान भित्रिँदै, प्रशासन मूकदर्शक



धनगढी । चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिने गरेको गुनासो बढ्दै गएको छ ।

कैलाली र कञ्चनपुर जिल्लासंग जोडिएका भारतीय बजार वनगाउँ, तिकुनियाँ, पलिया, सुडा, सत्ति, टनकपुर, बनवासाबाट नुन, तेल, चिनी, लुगाकपडा, जुत्ता, फ्रिज, चाडपर्व अनुसार आवश्यक पर्ने खाद्य सामग्री लगायतका अन्य किराना सामान अवैध रुपमा भित्रिने गरेका गुनासाहरु बढ्दै गएका हुन् ।

सीमानाकासँग जोडिएका दुई जिल्लाका स्थानीय व्यापारीहरुले मजदुरमार्फत ज्यालामा भारतीय बजारबाट राजश्व छलीका सामानहरु ल्याएर बेच्ने गरेका कारण होलसेल व्यापारीहरु मारमा पर्दै गएको र राजश्वमा पनि गिरावट आएको धनगढीका प्रकास किराना पसलका सञ्चालक प्रकाश चौधरीले गुनासो गरे ।

उनले भने, ‘पसल दर्ता नगरेका स्थानीय खुद्रा व्यापारीले नाकासंग जोडिएका भारतीय बजारबाट अवैध सामान ल्याएर बेच्ने गरेका कारण सरकारलाई राजश्व तिर्ने ठूला व्यापारीहरु मारमा पर्दै गएका छन् । जसले गर्दा ठूला व्यापारीहरुले तिर्ने राजश्वमा पनि गिरावट हुँदै गएको छ भने भन्सार छली गरेर अवैध सामान भित्र्याएर व्यवसाय गर्ने व्यापारीहरुबाट पनि राजश्व छली हुँदै गएको छ । जसको असर नेपाली अर्थतन्त्रमा पर्ने गरेको छ ।’

मंगलबारबाट हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पनि सुरु भएको छ । तिहार सुरु भएसंगै कैलाली र कञ्चपुरसंग जोडिएका भारतीय बजारमा नेपाली ग्राहकको घुइँचो लागेको छ । नेपाली बजारभन्दा भारतीय बजारमा केही सस्तोमा सामान पाइने भन्दै स्थानीय साना व्यापारी र उपभोक्ता पुग्ने गरेका छन् ।

चाडपर्व सुरु भएसँगै खुद्रा व्यापारीहरु नजिकै रहेको भारतीय बजारमा जाने गरेका हुन् । गौरीफन्टा नाका हुँदै उनीहरू भारतीय बजारमा खाद्यान्न, दाल, चिनीदेखि लुगाकपडा र तिहारमा चाहिने सामानहरु किन्न पुग्ने गरेका छन् ।

नाम नबताउने सर्तमा धनगढीका एक जना खुद्रा व्यापारीको लागि भारतीय बजारबाट समान ओसार्ने काम गर्दै आएका युवाले भने, ‘तिहारमा चाहिने सामग्री चिनी, मिठाई र मालाहरु किन्न भारतीय बजार वनगाउँ पुग्ने गरेको छु । म मजदुर हुँ, साहुजीले जे भन्यो त्यही गर्छु । साहुजीले भनेपछि म सामान किन्न वनगाउँ आएको हुँ । मैले दैनिक ४ देखि ६ पटक भारतीय बजार वनगाउँमा ओहोर दोहर गर्छु । यति काम गरेवापत मैले दैनिक १ हजार रुपैयाँ ज्याला पाउँछु । आज पाँच दिन भयो मैले काम गर्न लागेको ।’

उनले तिहारका लागि चाहिने सामान मात्रै होइन जाडो मौसमका लागि आवश्यक पर्ने न्यानो लुगाहरु पनि ल्याउने गरेको बताए । उनले भने, ‘चाडपर्वहरु आएपछि मैले हरेक वर्ष यहि काम गर्छु । र, घर खर्च चलाउँछु ।’

उनी त एक उदाहरणका पात्र मात्रै हुन्, उनीजस्ता सयौं मजदुरहरु भारतीय बजारबाट नेपालमा सामानहरु भित्र्याउने गर्दछन् । ती मजदुरहरुबाट दैनिक लाखौंको भन्सार छलीका अवैध सामानहरु भित्रिने गरेको छ ।

मजदुरमात्र होइननन्, नाका क्षेत्र नजिकका स्थानीयबासी पनि किनमेल गर्न भारतीय बजार पुग्ने गर्दछन । त्यस्तै, तिहारका लागि आवश्यक पर्ने सामान वनगाउँ बजारबाट किनेको बताउँदै भीमबस्तीकी गौरीदेवि साउँदले भने, ‘नेपालको बजारभन्दा भारतीय बजारमा सामान सस्तो पाइने भएकाले उतै जान्छौँ । चिनी, दाल, कपडा धनगढी बजारको भन्दा सस्तो पाइन्छ ।’

चाडपर्वका बेला नाका नजिकका बासिन्दाहरु पनि भारतीय बजार वनगाउँ पुग्ने गरेका छन् । कोरोना संक्रमणका बेला बन्द भएका भारतीय बजार खुलेपछि फेरि नेपालीहरू उतै जान थालेका हुन् ।

धनगढीकी कलावती सार्कीले पनि दशैंमा बच्चाहरूका लागि तथा घरपरिवारको लागि लुगा किन्न वनगाउँ बजार गएको बताइन्। उनले भनिन्, ‘धनगढी बजार भन्दा भारतका बजारमा १ हजारदेखि दुई हजार सस्तो मूल्यमा सामान किन्न पाइन्छ ।’

उनले नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो कपडा किन्न पाइने भएपछि साथीहरूसँग वनगाउँ बजार पुगेको बताए । उनले भने, ‘धनगढीमै सस्तोमा सामान पाइने भएको भए दुःख गरेर भारतीय बजारसम्म पुग्नु पर्ने थिएन ।’

दशैं, तिहार, छठ तथा विवाहका सामान किन्न धेरै नेपालीहरू भारतीय बजार पुग्ने गरेका छन् । कोरोनाको जोखिम कायमै भएका बेला उनीहरू जोखिम मोलेरै भारतीय बजार पुग्ने गरेका थिए ।

भारतीय बजारमा कैलाली र कञ्चनपुरबाट मात्रै नभएर सस्तो सामान पाउने भन्दै सुदूरपश्चिमका विभिन्न जिल्लाहरुबाट नेपालीहरू भारतीय बजार जाने गरेका छन् ।

भारतबाट आउने सामानमा गुणस्तरीय नहुने भन्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले खाद्यान्न तथा अन्य सामानको गुणस्तर हेरेर प्रयोग गर्न आग्रह गरेका छन् ।

धनगढी बजार छोडेर भारतीय बजार जाँदा नेपाली बजारमा पनि असर परेको बताउँदै उनले भने, ‘यसका लागि भन्सार कार्यालय कैलालीले पनि कडाइ कडाई गर्नुपर्ने देखिन्छ ।’

भारतीय बजारमा नेपाली उपभोक्ता जाने गरेमा यसले नेपालको अर्थतन्त्रलाई पनि असर पर्ने उनले बताए । भन्सारबाट यसरी भित्रिने सामानमा प्रशासनको ध्यान जानुपर्ने उनको भनाइ छ ।

स्थानीय प्रशासन, प्रहरी प्रशासन र सरोकारवाला निकाय मुखदर्शक बनेका कारण पनि भन्सार छलीका गतिविधिहरु बढ्दै गएका छन् । भन्सार छलीका गतिविधि बढ्नाले पनि नेपालको अर्थतन्त्रमा असर पर्दै गएको बताइन्छ । पछिल्लो समय सीमानाका बजारबाट नेपालीहरु घरायसी सामानका साथै विलासिताका सामग्री किन्न समेत भारतीय बजारमा निर्भर पर्ने गरेका छन् ।

नेपाली उपभोक्ताहरु खासगरी कपडा, जुत्ता चप्पल, खाद्यान्न, टेलिभिजन, फ्रिज आदि किन्न भारतीय बजार जाने गरेको छन् । सीमापारी पाइने सामान नेपाली बजारमा दोब्बर महंगो हुने भएकाले आफूहरु भारतीय बजार जान बाध्य भएको उपभोक्ताको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख किरण थापाले सीमानाकामा कडाई गर्न प्रहरी प्रशासन र सीमा शुरक्षा बललाई निर्देशन दिएको बताए ।

उनले चाडपर्वको समयमा हुने अवैध गतिविधि र राजश्व चुहावटलाई रोक्न भन्सार कार्यालय र राजश्व चुहावट पनयन्त्रणलाई पनि निर्देशन दिएको बताए । उनले भने, ‘ अनुगमनको क्रममा जो कसैले पनि अवैध काम गरेको पाइएमा कारवाही गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्