Logo
Logo

निम्छरो सरकार, निम्छरो प्रतिपक्ष


- दृष्टि न्युज/संवाददाता


निम्छरो शब्दको अर्थ धन, बुद्धि, विद्या आदि सबै कुरावाट नाजुक स्थितिको भन्ने रहेछ । यसको अर्को अर्थ कमजोर, दुब्लो पातलो, निर्बलियो भन्ने पनि रहेछ । प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बृहत नेपाली शब्दकोषमा निम्छरो शब्दको अर्थ यही दिइएकोछ ।

प्रधानमन्त्रीले यो शब्दको प्रयोग वैशाख २४ गते संसदमा प्रयोग गरेपछि चर्चामा रहेकोछ ।

प्रधानमन्त्री केपि ओलीले भनेका थिए,“आक्रोश, कुण्ठा र निम्छरा अभिब्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्दछु ।”

सांसदहरुका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यसरी सांसदहरुका प्रश्नलाई आक्रोश कुण्ठा र निम्छरा अभिब्यक्ति भनेपछि संसदमा प्रतिपक्षी सांसदहरुले उठेर विरोध गरे । यदि प्रतिपक्षमा एमाले वा माओवादी रहेकोभए कुर्सी हानाहान वा तोडफोड भैसकेको हुने थियो ।

 

प्रतिपक्षी नेपाली कांगे्रस लगायतका दलहरु निम्छरो नै रहेछन् । अर्थात कमजोर, दुब्लो पातलो, निर्वलियो भन्ने अर्थमा निम्छरो । जनताको पक्ष लिएर जनता र देशले भोगेका समस्याहरुका वारेमा प्रतिपक्षले संसदमा सरकारलाइ तह लगाउन सक्नु पर्दथ्यो । तर प्रतिपक्षले त्यसो गरेन । गर्न सकेन । एमालेले महिनौं सम्म संसद नै चल्न अवरोध खडा गरेको इतिहास पुरानो भैसकेको छैन । तर निम्छरो वर्तमान प्रतिपक्षले त्यसो गर्ने हिम्मत गरेन ।

संसदमा संख्या नपुगेकोले जनताको पक्षमा आवाज उठाउन र सरकारलाई जनताको पक्षमा काम गर्न वाध्य पार्न नसकेको हो भने सडक संघर्षमा प्रतिपक्षी दलहरु ओर्लनु पर्दथ्यो । एमालेले सडक संघर्ष गरेको इतिहास पनि पुरानो भएको छैन । तसर्थ सडकमा पनि वर्तमान प्रतिपक्ष निम्छरो देखिएकोछ ।

प्रधानमन्त्रीले प्रतिपक्षलाइ निम्छरो भनेको ठिक रहेछ । तर निम्छरो प्रतिपक्ष भएको वेला वर्तमान दुई तिहाइवाला सरकारले पनि जनताको पक्षमा राम्रो काम गर्न सकेन । जनअपेक्षा र चुनावी घोषणापत्र अनुसार सरकारले काम गरेन । तसर्थ ओली सरकार पनि निम्छरो देखियो ।

कम्युनिष्ट सरकार भनिएकोछ, तर आज कै समाचारपत्रहरुमा चिया मजदुरहरु सरकारले तोकि दिएको न्युनतम ज्याला नपाएर सडकमा सुतेर आन्दोलन गरिरहेको समाचार प्रकाशित भएकोछ । वालुवाटार जग्गा काण्ड, वाइडवडि काण्ड, ३३ किलो सुन काण्ड, लगायत अनेकांै काण्डहरुका अपराधिहरुलाई कारवाही गर्न ओली सरकारले सकेको छैन । आयोगहरु वनाएर सरकार यस्ता काण्डहरुलाई पर धकेल्ने र ढाकछोप गर्ने काममा लागेकोछ ।

सरकार र प्रतिपक्ष जनता र देशको लागि मात्रै निम्छरो देखिएको हो । तर आफ्नो व्यक्तिगत स्वार्थका लागि सरकार र प्रतिपक्षका ठुला नेताहरु तानाशाह समान वलियो देखिएका छन् । अनेकौं काण्डहरुमा सरकार र प्रतिपक्षका ठुला नेताहरु मिलिभगत गरेर देश र जनता लुटिरहेकाछन् । वाइडवडि काण्ड र वालुवाटार जग्गा काण्डमा धेरै प्रधानमन्त्रीहरु मुछिनुले यो स्पष्ट गरेकोछ ।

नेपालमा दलाल पूँजीपति वर्ग र नोकरशाही पूँजीपति वर्ग शक्तिशाली देखिएकोछ । पुष्पलाल देखि मदन भण्डारी सम्मले तीन खाले वर्ग आन्तरिक शत्रु भएको वताएका थिए—सामन्त वर्ग, दलाल पूँजीपति वर्ग र नोकरशाही पूँजीपति वर्ग । सामन्त वर्ग कमजोर भएको छ, उनीहरुको पनि वर्ग परिवर्तन भएर दलाल तथा नोकरशाही पूँजीपति वर्गमा उत्थान भएकोछ । सत्ताधारी नेकपा र प्रतिपक्ष कांगे्रसका ठुला नेताहरुको पनि वर्ग परिवर्तन भएको छ ।

जनता असंगठित र नेतृत्व तथा नीति विहिन भएकोले कमजोर भएको छ । तर जनता उठेपछि राणा तन्त्र र शाह तन्त्र जस्तै यस्तो निम्छरो नवराजाहरुको तन्त्रपनि धराशायी हुनेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्